पूर्व छापामारको हस्तकला व्यवसाय
पूर्व माओवादी लडाकू निराआका अनेक हन्डर पार गर्दै सीप सिकेर हस्तकला व्यवसायमा आफू मात्र उद्यमी बनेकी छैनन्, अरू महिलालाई पनि तालीम दिएर स्वरोजगार बनाइरहेकी छन्।
निराआका घर्ती मगर पढाइमा सानैदेखि तेज थिइन्। तर विद्यालय शिक्षा पूरा गर्न सकिनन्। कारण थियो, १० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्व। त्यसमा पनि उनी माओवादी विद्रोहको उद्गम थलो रोल्पाकै परिवर्तन गाउँपालिका डाँडागाउँकी थिइन्।
युद्धको रापतापले रोल्पाली समाजलाई असाध्यै गाँजेको थियो। उनी पढाइमा केन्द्रित हुनुपर्ने वेला त्यहाँको शैक्षिक वातावरण अस्तव्यस्त बन्याेथियो। विद्यार्थीलाई पनि पढाइभन्दा राजनीतिमा बढी चासो लाग्न थालेको थियो। निराआका पनि अपवाद बन्न सकिनन्। एकातिर प्रहरी प्रशासनबाट दैनिक भोग्नुपर्ने हैरानी, अर्कातिर माओवादीको निरन्तर दबाब, छरछिमेकका सबै युद्धमा लागेको देखेर उनी पनि पढाइ छोडेर सशस्त्र विद्रोहमा लागिन्।
शुरूआती दिनमा सांस्कृतिक मोर्चामा काम गरिन्। पछि छापामार नै बनेर अछाम, कालिकोट, पाल्पा, गुल्मी लगायत जिल्लामा रहेका प्रहरी चौकी, सेनाको ब्यारेक र सरकारी कार्यालय कब्जा गर्ने आक्रमणमा सहभागी भइन्।
‘नयाँ सत्ता’ का लागि लड्दा १० वर्ष बितेको उनलाई पत्तो भएन। २०६३ मंसीर ५ गतेको शान्ति सम्झौतासँगै माओवादीले युद्ध बिसाएर शान्तिपूर्ण राजनीतिको बाटो समात्यो। नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)को प्रत्यक्ष निगरानीमा रहेका निराआका जस्ता झन्डै २० हजार माओवादी सेना बन्द शिविरमा सीमित भए भने नेता–कार्यकर्ता राजनीतिमा फर्किए। उनलाई विद्यालय फर्कन ढिला भइसकेको थियो। सँगै पढेका साथीहरू पढाइ पूरा गरेर जागीर वा स्वरोजगारमा लागिसकेका थिए।
अनमिनले प्रमाणीकरण गर्दा माओवादी सेनाको प्लाटून कमान्डर रहेकी निराआका ६ महीना शिविरमा बसेपछि कम्पनी सहायक कमान्डर भएकी थिइन्। प्रमाणीकरणपछि उनी नेपाली सेनामा समायोजन हुने विकल्प थियो। तर, पारिवारिक समस्याले उनलाई रोक्यो।
युद्धकालमै रुकुम घेत्माका कृपालाल पुनसँग उनको विवाह भयो। शिविरमा रहेकै वेला छोरी अल्फालाई जन्म दिइन्। म्याग्दी आक्रमणमा गएको वेला उनका श्रीमान् कृपालालको खुट्टा र छातीमा गोली लागेको थियो भने दायाँ हात भाँच्चिएको थियो। घाइते अवस्थाका श्रीमान्लाई घरमा एक्लै छाडेर नेपाली सेनामा जान उनको मन मानेन। उनी समायोजनको बाटो त्यागेर अन्तिम समयमा स्वैच्छिक अवकाश रोज्दै घर फर्किइन्।
अवकाशपछि दुवै जना रुकुमस्थित श्रीमान्को पुर्ख्यौली घर त फर्किए तर गाउँमा बसेर तुरुन्तै केही गर्न सक्ने अवस्था थिएन। त्यससँगै उनीहरूका लागि गाउँ समाज नै फेरिएको महसूस भयो। समाजमा भिज्न निराआकालाई सामाजिक काममा जोडिन मन लाग्यो। गाउँकै सुगुरखाली सामुदायिक वन उपभोक्ता समूहको सदस्य भएर काम गर्न थालिन्। वन संरक्षण र वनमा आधारित उद्योग सञ्चालन गर्ने योजना बनाउन गाउँदेखि जिल्ला सदरमुकाम मुसिकोटसम्म पुगिन्, जसले उनलाई वनको बृहत् सञ्जालसँग जोड्यो।
उनीहरूले गाउँमा घुलमिल हुन प्रयास गरे पनि माओवादी विद्रोहीको पृष्ठभूमि भएकाले असहज महसूस भइरह्यो। केही गर्ने सोच सहित उनीहरू मुसिकोट गए।
सिकाइको भोक
निराआकाको कमजोर आर्थिक अवस्था देखेर सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन उपभोक्ता महासंघ, रुकुमसँग समन्वय गरेर २०७३ सालमा धागो प्रशोधन तालीममा सहभागी गरायो। ४५ दिन चलेको तालीमपछि उनी धागो प्रशोधन गर्न सक्ने भइन्। यसपछि उनमा यही व्यवसायमा केही गर्ने भोक जागेको थियो। तर, त्यति सिकेर मात्र उनी सन्तुष्ट भइनन्, ऊनीको बर्को, झोला, राडीपाखी र कपडा बुन्न पनि सिकिन्।
तालीमबाट दक्ष भएपछि उनले रुकुमपश्चिमको मुसिकोट नगरपालिका-५, सेरीगाउँमा मा ऊनी धागो तथा राडीपाखी उद्योग खोलिन्।
“सामुदायिक वनको सहयोगमा एउटा तालीम लिएपछि एकपछि अर्को तालीमका अवसर आए। तालीमले उद्योग खोल्ने अवस्थासम्म पुर्याएर मेरो जिन्दगी नै बदल्यो,” सेरीगाउँमा तान बुनिरहेकी निराआकाले भनिन्।
उद्योगमा उनी ढाकाको सल, झोला, टोपीे र तानमा राडीपाखी बुन्छिन्। साथै, हस्तकलाको काम सिक्न चाहने महिलालाई विभिन्न जिल्लामा पुगेर तालीम दिने र सहयोग गर्ने गर्छिन्।
उसो त माओवादी सेनाबाट स्वैच्छिक अवकाश लिएर घर फर्के लगत्तै उनले सीटीइभीटीले सञ्चालन गरेको घर बनाउने सिकर्मी, डकर्मी तालीम पनि लिएकी थिइन्। तर, त्यो तालीम काम लागेन। सिकर्मी–डकर्मीको काम गर्ने उनको चाहना भए पनि समाजले स्वीकार गरेन। उनले सम्झिइन्, “मैले गारो लगाउने, काठको काम गर्न खोज्दा पुरुषले गर्ने काम गर्न लागेको भनेर खिसीटिउरी गरे।”
त्यसपछि ढाकाको झोला, कपडा र राडीपाखी बुन्ने काम गर्न सकिने निष्कर्षका साथ सिक्न थालेकी हुन्। “शुरूमै ढाकाको कपडा, राडीपाखी बुन्ने काम गर्न त सम्भव नहोला भन्ने मेरो बुझाइ थियो। काम गर्दै जाँदा सजिलो भयो,” उनी भन्छिन्।
उनी सहित सात महिला मिलेर जनसेवा महिला सहकारी संस्था स्थापना गरी उद्योग सञ्चालन गरेका छन्। संस्थाको आर्थिक र प्रशासनिक पाटो, उत्पादित सामग्रीको बिक्रीवितरण र अन्य सम्पूर्ण काम उनी एक्लै गरिरहेकी छन्।
उद्यमी यात्रा
बिहान बालबच्चालाई विद्यालय पठाएदेखि उनी दिनभर उद्योगमा बसेर काम गर्छिन्। अन्य तीन जना महिलालाई पनि रोजगारी दिएकी छन्। १५ हजार रुपैयाँ लगानीबाट शुरू गरेको उद्योगको कमाइबाट उनको परिवारको जीविका सजिलै चलेको छ। यही व्यवसायबाट घरखर्च धानेर दुई सन्तानलाई पढाइरहेकी छन्।
शुरूमा भेडाको ऊनबाट धागो प्रशोधन गरेकी उनले घरमै बसेर झोला बुन्ने काम गरेकी थिइन्। बुनेका झोला २५० रुपैयाँको दरले बिक्री गर्थिन्। घरमा बसेर काम गर्नुभन्दा उद्योगको रूपमा विकास गर्ने र अन्य महिलालाई स्वरोजगार बनाउने उनको प्रयास सार्थक भएको छ।
नौ वर्षअघि रुकुमपूर्वको सिस्ने गएको वेला यार्सागुम्बा र अन्य जडीबुटीको व्यापारको विषयमा स्थानीयवासीसँग विवाद हुँदा झडपमा परेर उनका श्रीमान्को मृत्यु गयो। श्रीमान् बितेपछि उनको आर्थिक अवस्था झनै नाजुक भएको थियो। तर, व्यवसायको कमाइले आर्थिक सङ्कट दूर गरिदिएको छ।
श्रीमान् बितेपछि धेरै दुःख झेलेको र उद्योग खोलेपछि आर्थिक अवस्था सुध्रिंदै गएकोमा सन्तोष मान्दै उनले भनिन्, “यही उद्योगको कामले भरथेग गरिरहेको छ। अब जे सकिन्छ, यसैबाट गर्ने हो।”
राडीपाखी बुन्ने सीप सिकाउन उनी प्रशिक्षक बनेर सल्यान, जाजरकोट र पूर्वी रुकुमका १५ भन्दा बढी ठाउँमा पुगेकी छन्। सीप सिकाएका ठाउँका महिलाहरू आत्मनिर्भर बन्ने प्रयासमा छन्। घरायसी काममा सीमित महिलालाई दुई–चार पैसा कमाउन सक्षम बनाउन सकेकामा उनलाई आत्मसन्तुष्टि मिलेको छ।
उनको उद्योगले जुन समयमा जुन वस्तुको माग हुन्छ, त्यही उत्पादन गर्छ। तर, राडीपाखी, कपडा र झोलाको उत्पादन थोरै भएकाले बजारको माग धान्न सकिरहेकी छैनन्। “माग आएका ठाउँमा बुनेर पठाइदिन्छौं। सरकारी कार्यालयले पनि यहींबाट उत्पादित सामग्री प्रयोग गरिरहेका छन्। अन्यत्र पठाउन सकेका छैनौं,” उनी भन्छिन्, “यसको व्यापार विस्तार गर्न सके त भविष्य राम्रो छ।”
रुकुममा उत्पादित सामग्री गुणस्तरीय भएकाले विदेश जानेहरूले पनि किनेर लैजान्छन्। राडीपाखी सल्यान, बाँकेदेखि सिंगापुरसम्म पनि पुगेको छ।
निराआकासँग तालिम लिएका अरू चार महिलाले पनि घरमै बसेर ढाकाको कपडा, राडीपाखी बुनिरहेका छन्। उनीहरू कसैकोमा कुनै कच्चा पदार्थको अभाव भएमा एकले अर्कालाई दिएर सहयोग गर्छन्। उत्पादित सामग्री बिक्रीवितरण गर्न पनि आपसमा सहकार्य गर्दै आएका छन्।
राडीपाखी बुन्ने काम सजिलो भने छैन। धेरै समय, मिहिनेत र लगनशीलता आवश्यक पर्छ। झन्झट मान्यो भने यो काम गर्न नसकिने यस पेशामा लागेका महिलाहरूको अनुभव छ। “झन्झट मानेर बस्यो भने त राडीपाखीको काम गर्नै सकिंदैन, धेरै मिहिनेत र धैर्य चाहिन्छ,” निराआका भन्छिन्।
निराआकाको हस्तकला उद्योगलाई सरकारी र गैरसरकारी संघसंस्थाले पनि सहयोग गरेका छन्। शुरूमा वन समूहले धागो किन्न सहयोग गरे। सरकारको कृषि ज्ञान केन्द्रले तान र अन्य सामग्री खरीदका लागि ६ लाख ३२ हजार रुपैयाँ दियो। तालीम लिंदा हातले झोला बुनेकी उनले अहिले ढुक्कसँग तानमा काम गर्न पाएकी छन्। यस्तै, मुसिकोट नगरपालिकाले आवश्यक तालीमको व्यवस्था गरिदियो। सबै क्षेत्रबाट सहयोग पाएपछि उनले लोप हुने अवस्थामा पुगेको तानमा कपडा बुन्ने परम्परागत ज्ञानमा आधारित सीपलाई निरन्तरता दिइरहेकी छन्।
आफू सानो छँदा घरमा आमाले भाङ्ग्राको कपडा बुन्ने गरेको सम्झँदै निराआका आफूले राडीपाखी नै बुन्न सकेकोमा गर्व मान्छिन्। जन्मघरभन्दा कर्मघर भएको ठाउँमा महिलालाई हेला गरिने भएकाले पनि केही गरेर देखाउन आफूले काम गरिरहेको उनी बताउँछिन्।
“हाम्रो गाउँठाउँमा महिलाले केही गर्न सक्दैनन्, खाना पकाउँछन् बस्छन् भनेर हेप्छन्। त्यही भएर पनि मलाई केही गर्नुपर्छ भन्ने लागेको हो,” उनी भन्छिन्।
जिल्ला सदरमुकाममा बसेर उनले गरेको प्रगति देखेर उनलाई हेप्नेहरूको व्यवहार परिवर्तन भएको छ। उनको ठाउँमा महिलाहरू अहिले पनि घरव्यवहारमै सीमित छन्। केही फरक काम गर्न खोज्नेहरूलाई खिसीटिउरी गर्दै हतोत्साही गरिन्छ। “पहिला त्यति पत्याउँदैनथे, अहिले गरेर देखाई भन्छन्। यो परिवर्तन देख्दा आफैंप्रति गर्व लाग्छ,” दङ्ग पर्दै सुनाइन्।
धेरै महिलालाई आत्मनिर्भर बनाउने धोको
निराआका आगामी दिनमा साधनस्रोत र कामदार थपेर आफ्नो व्यवसाय विस्तार गर्न चाहन्छिन्। त्यस बाहेक अरू महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उनको धोको छ। त्यसका लागि प्रशिक्षकका रूपमा गाउँ गाउँमा पुगेर बेरोजगार महिलालाई राडीपाखी, ढाका कपडा र अन्य कपडा बुन्ने सीप सिकाउने चाहना छ। यसले उनीहरूको आत्मविश्वास, आर्थिक अवस्था र सामाजिक हैसियतमा परिवर्तन आउने उनको बुझाइ छ। उनी भन्छिन्, “अहिलेसम्म त मैले खासै केही गरेकै छैन। सबैको साथसहयोग भए धेरै महिलाका लागि सहयोग गर्न सकिन्छ।”
सबै महिलालाई सीप सिकेर आफ्नै पौरखमा बाँचौं भन्ने चाहना भए पनि विभिन्न समस्या र परिबन्दले त्यसो हुन नसकेको उनको बुझाइ छ। ती महिलालाई उत्साहित गरेर उद्यममा जोड्न सरकारले नै पहल गरिदिनुपर्ने उनको जोड छ।
“सबैभन्दा पहिले त व्यक्ति आफैं जागरुक भएर गर्ने हो। तर, सरकार सबैको अभिभावक भएकाले हेरिदिए हुन्थ्यो भन्ने आश हुन्छ, त्यसैले सरकारले आडभरोसा दिनुपर्छ,” उनी भन्छिन्।