मधेशका नवनियुक्त मन्त्रीले लिए शपथ
मधेश प्रदेश सरकारमा नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्। समिमलाई गृह, सञ्चार तथा कानून र सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त दुवै मन्त्रीले सोमबार प्रदेश प्रमुख मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
यससँगै मधेश सरकारले पूर्णता पाएको छ। १४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा सुरिता साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी तोकिएको छ। यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी साहलाई अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने जिम्मेवारी तोकिएको हो।
नवनियुक्त मन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री यादवले मन्त्रालय थपघट गर्न सकिने बताए।