नेपालको सबैभन्दा ठूलो निर्यात सूचना प्रविधि, एक वर्षमा ६७ अर्ब आम्दानी
नेपालले विदेशमा सूचना प्रविधि सेवा बेचेर एक वर्षमा करीब ६७ अर्ब ६२ करोड रुपैयाँ कमाएको नयाँ अध्ययनले देखाएको छ।
नेपालले विदेशमा सबैभन्दा धेरै मूल्यको के बेच्छ?
विदेशबाट आयात गरी भारतमा बेचिने पाम र भटमासको तेल नेपालको मुख्य निर्यात हुने वस्तुको सूचीमा पर्छन्। गलैंचा, धागो वा तयारी पोशाक जस्ता वस्तुको नाम पनि अघिल्लो पङ्क्तिमा नै आउँछ।
तर, नेपालले यी वस्तुको निर्यातबाट भन्दा धेरै रकम विदेशमा सूचना प्रविधि सेवा बेचेर कमाइरहेको नयाँ अध्ययनले देखाएको छ। सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले गरेको अध्ययनले नेपालले सन् २०२२ मा ५१ करोड ५० लाख अमेरिकी डलर (करीब ६७ अर्ब ६२ करोड रुपैयाँ) बराबरको निर्यात गरेको देखिएको छ।
नेपालले कुनै पनि एउटै वस्तु निर्यात गरेर यति धेरै रकम आम्दानी गरेको छैन। आर्थिक वर्ष २०७८/७९ मा नेपालले दुई खर्बको वस्तु निर्यात गरेको थियो। यो रकमसँग तुलना गर्दा नेपालले एकै वर्षमा सूचना प्रविधि सेवा निर्यात गरेर कमाएको रकम करीब एकतिहाइ हुन आउँछ।
यद्यपि, सूचना प्रविधि निर्यात मार्फत भएको कमाइ आधिकारिक सरकारी तथ्याङ्कमा भने भेटिंदैन। सूचना प्रविधि सेवा निर्यात गर्ने कम्पनी, कामदारसँगको कुराकानी, तथ्याङ्क सङ्कलन तथा आन्तरिक राजस्व कार्यालय, नेपाल राष्ट्र ब्यांक आदिको तथ्याङ्कमा आधारित भएर यो रकमको अनुमान गरिएको केन्द्रले जनाएको छ।
भौतिक रूपमा वस्तु निर्यात गर्नुनपर्ने तथा इन्टरनेट मार्फत कारोबार हुने भएकाले सूचना प्रविधि सेवाको निर्यात आधिकारिक तथ्याङ्कमा न्यून मात्रै अभिलेख हुन्छ। सरकारले सूचना प्रविधि क्षेत्रको निर्यातलाई औपचारिक प्रणालीमा ल्याउन गत आर्थिक वर्षको बजेटमा सूचना प्रविधि सेवा निर्यात मार्फत हुने आम्दानीमा १ प्रतिशत मात्रै कर लिने घोषणा गरेको थियो। तर, यसले पनि सूचना प्रविधिको सेवा निर्यातलाई औपचारिक प्रणालीमा ल्याएको देखिएको छैन।
विश्वविख्यात हार्वर्ड विश्वविद्यालयको हार्वर्ड ग्रोथ ल्याबको तथ्याङ्कले पनि नेपालको सूचना प्रविधि निर्यात सेवाको रकम उच्च रहेको देखाएको छ। ग्रोथ ल्याबका अनुसार सन् २०२१ मा नेपालले ६० करोड १५ लाख अमेरिकी डलर (अहिलेको मूल्यमा करीब ७९ अर्ब रुपैयाँ)को सूचना प्रविधि सेवा निर्यात गरेको थियो। यो उक्त वर्षको कुल निर्यातको करीब एकचौथाइ रकम हो। हार्वर्डले सेवा क्षेत्रको आयात र निर्यातको तथ्याङ्क अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्कमा आधारित रहेको जनाएको छ।
केन्द्रका अनुसार नेपालमा सूचना प्रविधि सेवा निर्यात गर्ने १०६ वटा कम्पनी छन्। त्यसैगरी, ६६ हजार ५०९ जना स्वतन्त्र रूपमा काम गर्ने फ्रीलान्सरले पनि सफ्टवेयर विकास तथा प्रविधि सेवा निर्यात गर्ने गरेको अध्ययनले देखाएको छ। केन्द्रले सन् २०२१ को तुलनामा सन् २०२२ मा सूचना प्रविधि सेवाको निर्यात ६४ प्रतिशतले बढेको उल्लेख गरेको छ।
पछिल्ला वर्षमा सूचना प्रविधि क्षेत्रमा पोख्त युवाको संख्यामा बढोत्तरी भइरहेको छ। जसकारण नेपालमै बसेर सफ्टवेयर, प्रविधि निर्माण गरी विश्वभरि बिक्री गर्ने तथा अन्तर्राष्ट्रिय कम्पनीलाई सेवा दिनेको संख्या बढेको छ। अध्ययनले सूचना प्रविधि निर्यातको काम गर्ने ८३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवा रहेको उल्लेख गरेको छ।
केन्द्रले सन् २०२२ मा नेपालबाट निर्यात भएको सूचना प्रविधि सेवा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १.४ प्रतिशत रहेको र यसले देशको कुल वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान गरेको उल्लेख गरेको छ।
‘अनलिजिङ आईटीः एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपालमा सूचना प्रविधिको क्षेत्रमा देखिएका अवरोधलाई पनि औंल्याउँदै सुधारका उपाय प्रस्तुत गरेको छ। जस अनुसार पूर्वाधार विकास, लगानी विस्तार, पोख्त जनशक्तिको विकास, नीतिगत सुधार, ब्रान्डिङ र प्रवर्द्धन, उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार लगायतका सुझाव दिइएको छ।