प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
सुन तस्करीको विषयलाई लिएर विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगन भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने एमालेले अडान राखेपछि बैठक स्थगन गरिएको हो।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते दिउँसो १ बजे बस्ने जनाइएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको थियो। सभामुख देवराज घिमिरले जारी गरेको सूचनामा अर्को बैठक साउन १६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ।
यसअघि साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमाले लगायत विपक्षी दलहरूले विरोध जनाएका थिए। उनीहरू उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए।