सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही हुन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही हुने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणको जरैसम्म पुगेर छानबनि गरिने बताएका हुन्। दाहालले भने, “सुन प्रकरणको जरैसम्म पुगेर छानबिन हुन्छ। दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउँछौं।” उनले सुन प्रकरण लगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको बताए।
यही साउन ३ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो। अहिले यसमा अनुसन्धान चलिरहेको छ। यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।
सुन प्रकरणलाई निष्कर्षमा पुर्याउन सबैको साथ र सहयोग आवश्यक रहेको प्रधानमन्त्री दाहालले उल्लेख गरे। निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको प्रधानमन्त्री दाहालले बताएको माओवादीका सचिव दिनानाथ शर्माले जानकारी दिए।
बैठकमा माओवादीका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरे। उनले प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानूनी कारबाही गर्नुपर्ने बताए।
यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्न माओवादी पदाधिकारी बैठक बसेको हो। केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष दाहालले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।
सचिव शर्माका अनुसार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ। आम सर्वसाधारण, पार्टी कार्यकर्ता र देशवासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकका सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको उनले बताए। यसअघि समूहगत रूपमा गरिंदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उनको भनाइ छ।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो। -रासस