एक साताभित्र माग पूरा गर्न डा. केसीको अल्टिमेटम
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)लाई आफूखुशी चिकित्सा शिक्षा अन्तर्गत प्रमाणपत्र तहको सीट निर्धारण गरेको निर्णय फिर्ता लिन अल्टिमेटम दिएका छन्।
डा. केसीले पत्रकार सम्मेलन गरी आफूखुशी सीट निर्धारण गर्ने पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक साताभित्र सिफारिश समिति बनाउन माग गरेका छन्। यो माग पूरा नभए साउन २९ गतेदेखि सत्याग्रह बस्ने डा. केसीले चेतावनी दिएका छन्। यसअघि सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन्।
सरकारले २०७९ असोज ८ गते चिकित्सा शिक्षा सुधारका विषयमा सम्झौता गरेको थियो। सम्झौतामा सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा सञ्चालनमा ल्याउने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्ड सम्बन्धी कानून बनाउने उल्लेख छ।
त्यस्तै, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने, सरकारी अस्पतालमा विद्यमान शय्या अनुरूप स्थायी दरबन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानूनी प्रावधान कडाइका साथ लागू गर्ने सम्झौतामा उल्लेख छ। यी माग पूरा नभए साउन २९ गतेबाट सत्याग्रहमा बस्ने डा. केसीले बताएका हुन्।