डेढ महीनामा मोरङका ८६५ जनामा डेंगी
वर्षा यामसँगै शुरू भएको डेंगीको संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। मोरङमा मात्रै डेढ महीनामा ८६५ जनामा डेंगी देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असार १ गतेयता जिल्लाभर ८६५ जना डेंगीबाट संक्रमित भइसकेका छन्। पथरीशनिश्चरे नगरपालिकामा मात्रै ६५० जना यो रोगबाट बिरामी परेका छन्।
त्यस्तै, लेटाङ, मिक्लाजुङ, केराबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीमा पनि डेंगीको संक्रमण देखिएको छ। मोरङका १७ मध्ये सात स्थानीय तहमा डेंगीको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अहिलेसम्म डेंगीबाट कसैको मृत्यु नभए पनि बिरामीलाई साह्रै समस्या हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले बताए। रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरी काम भइरहेको डा. मेहताको भनाइ छ।
डेंगी फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान शुरू गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको उनले बताए। संक्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनुका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने किट स्थानीय तहको माग अनुसार पठाइएको उनले बताए।
विराटनगरस्थित कोशी अस्पतालमा अहिले डेंगीका तीन बिरामीको उपचार भइरहेको छ। अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेंगीका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रलाल झाले बताए।
यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने रहेको छ। यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकसँग सम्पर्क गर्न डा. झाले आग्रह गरे।
यो रोगबाट बच्न राति झुल लगाएर सुत्ने, भान्साकोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउने जस्ता सुरक्षा अपनाउनुपर्ने उनको सुझाव छ। डेंगी सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत: पानी जम्ने स्थान सफा राख्नुपर्छ।