मधेश प्रदेश सरकारका विना विभागीय मन्त्रीद्वयले बुझाए राजीनामा
नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि उनीहरूलाई विना विभागीय बनाइएको थियो।
मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री वसन्त कुसवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा बुझाएका छन्। जनमत पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी उनीहरूले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
कुसवाहा कृषिमन्त्री र यादव कृषि राज्यमन्त्री थिए। तर, नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि उनीहरूलाई विना विभागीय बनाइएको थियो।
जनमत पार्टीका संसदीय दलका नेता महेश यादवका अनुसार पार्टीले उनीहरूको स्थानमा अन्य मन्त्री पठाउने निर्णय गरेको छ। चन्दनकुमार सिंहलाई मन्त्री र रञ्जुकुमारी मण्डल खंगलाई राज्यमन्त्री बनाउने जनमतको तयारी छ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसलाई एक मन्त्री दिने गरी मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।