सौराहामा ‘अफ सिजन’ मै आए पर्यटक
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक रहेको अनुमान छ।
जोखिमपूर्ण सडक सञ्जाल र बर्खा यामका बावजूद सौराहामा पर्यटकको आवागमन उल्लेख्य छ। ‘अफ सिजन’ मानिने समयमै उल्लेख्य स्वदेशी र विदेशी पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन्।
साउन र भदौ महीना पर्यटनका हिसाबले बेमौसम मानिन्छ। यो समयमा होटलमा काम गर्ने मजदूर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदा समेत दिने गरिन्छ। तर, गत वर्षको तुलनामा यस पटक पर्यटक भने बढेका छन्।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक रहेको अनुमान छ। तीमध्ये आधा विदेशी छन्। विदेशीमा पनि चिनियाँको संख्या बढी छ।
सौराहामा १२५ होटल छन्। ती होटलको क्षमता ६ हजार २०० जना अटाउने छ। क्षमताका हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ।
यस वेला चितवन राष्ट्रिय निकुञ्जभित्र ‘जङ्गल वाक’ बाहेकका गतिविधि रोक्ने गरिन्छ। जङ्गल सफारी सामुदायिक वनमा सञ्चालन हुने गर्दछ। अहिले दैनिक १०० जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए।
कोभिडपछि पहिलो पटक चिनियाँ पर्यटकहरू आएकाले हात्ती सफारीमा उनीहरूको ध्यान बढी छ।