जापानका तीन शहरमा गुन्जिंदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्यले जापानका तीन शहरमा कन्सर्ट गर्ने भएको छ। राजधानी टोक्यो, फुकुओका र ओसाका शहरमा कन्सर्ट गर्न १४ सदस्यीय टोली अगस्ट पहिलो साता त्यसतर्फ जाँदै छ।
ब्यान्डले टोक्योस्थित ‘तोयोसु पिट’ मा ८ अगस्ट, फुकुओका सिभिल हलमा १२ अगस्ट र ओसाकास्थित नाम्बा ह्याचमा १७ अगस्टमा साङ्गीतिक प्रस्तुति दिनेछ।
नेपथ्यले जापानमा सन् १९९८ मा पहिलो पटक कन्सर्ट गरेको थियो। पछिल्लो पटक भने सन् २०१८ मा त्यहाँको टोक्यो डोममा गुन्जिएको थियो।
जापानसँग धेरै सम्झना जोडिएको सम्झँदै ब्यान्डका मुख्य गायक अमृत गुरुङले आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका नेपाली दर्शकले सधैं न्यानो स्वागत गरेको बताए।
लामो समयदेखि नेपाली युवाका लागि रोजगारीको आकर्षक गन्तव्य रहेको जापानमा पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने गरेका छन्। यी युवाले नेपाली लोकभाकामा आधारित नेपथ्यका गीत मन पराउँदै आएका छन्।
सन् २०२३ भरि नेपथ्यका प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाका रूपमा प्रस्तुत गरिंदै छ। यो जापान यात्रा पनि त्यही शृङ्खला अन्तर्गत हुँदै छ।
आफूहरूले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी शहरमा शृङ्खलाबद्ध कन्सर्ट गर्न लागेको यो पहिलो पटक भएको नेपालयले बताएको छ। “प्राविधिक व्यवस्थापन गर्न नेपालबाटै प्राविधिकको टोली लिएर जाँदा बढी प्रभावकारी हुने भएकाले यसपाला मञ्चमा प्रस्तुत हुने ६ जना कलाकारसँगै थप आठ सदस्य जाँदै छन्,” नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।
जापान कन्सर्टको टिकट बूकिङ खुला भइसकेको र यस सम्बन्धी जानकारी नेपथ्यको वेबसाइटमा पाउन सकिने नेपालयले जनाएको छ।