२०२६ को विश्वकप खेल्ने मेस्सीको सङ्केत
मेस्सीले गत महीना चीनमा भएको अस्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलअघि पनि आगामी विश्वकपका लागि परिस्थिति अनुसार निर्णय लिने बताएका थिए।
अर्जेन्टिनी फूटबल टीमका कप्तान लियोनल मेस्सीले सन् २०२६ को विश्वकप खेल्ने सङ्केत गरेका छन्। करीब आठ घण्टाअघि मेस्सीले इन्स्टाग्राममा राखेको एक तस्वीरले उनको २०२६ को विश्वकप यात्रालाई इङ्गित गरेको खेल अखबार मार्काले जनाएको छ।
तस्वीरमा मेस्सीले सन् १९९४ को विश्वकपमा अर्जेन्टिनी दिग्गज खेलाडी डिएगो म्याराडोनाले लगाएकै डिजाइनको जर्सी लगाएका छन्। उक्त विश्वकप अमेरिकामा भएको थियो। अर्जेन्टिनाका लागि म्याराडोनाको अन्तिम गोल पनि सोही विश्वकपमा ग्रीस विरुद्ध थियो। र, सन् २०२६ को विश्वकप पनि अमेरिका सहित क्यानडा र मेक्सिकोमा आयोजना हुँदै छ।
‘मेस्सीले १० नम्बर लेखिएको अर्जेन्टिनाको १९९४ को जर्सी पहिरिएर इन्स्टाग्राम स्टोरीमा राख्नुले म्याराडोनाले जस्तै उनले आफ्नो अन्तर्राष्ट्रिय करिअर अमेरिकी माटोमा अन्त्य गर्न चाहेको देखिन्छ,’ मार्काले लेखेको छ।
सन् २०२६ को विश्वकपमा मेस्सी ३९ वर्षका हुनेछन्। उनले पटक पटक कतार विश्वकप आफ्नो अन्तिम भएको बताए पनि गत महीना चीनमा भएको अस्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलअघि भने परिस्थिति अनुसार चल्ने बताएका थिए।
“यो (कतार विश्वकप) मेरो अन्तिम विश्वकप थियो। हेरौं परिस्थिति कस्तो बन्छ तर सिद्धान्ततः म अर्को विश्वकपमा हुँदिनँ,” मेस्सीले भनेका थिए।