जातीय अहङ्कार विरोधी आइन्स्टाइनको दर्शनबाट विश्वले के सिक्न सक्छ?
आइन्स्टाइनले पश्चिमएशिया (मध्यपूर्व)मा यहुदी राज्यको स्थापनाको समर्थन गरे। उनी यो राज्यका बासिन्दा आफूले देखेका जर्मन जस्तो स्वार्थी र सङ्कीर्ण नहोऊन् भन्ने चाहन्थे। त्यसैले उनले लेखेका थिए, ‘हरेक मानिस आफ्नो जातीय स्वार्थमा सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा चिन्तन गर्ने हुनुपर्छ।’
गत साताको शुरूतिर मैले क्रिस्टोफर नोलनद्वारा निर्देशित फिल्म ओपनहाइमर हेरें। फिल्मका प्रमुख पात्र जे. रोबर्ट ओपनहाइमर यहुदी परिवारका भौतिकशास्त्री थिए र धेरै वर्षसम्म प्रिन्स्टनको ‘इन्स्टिच्यूट फर एड्भान्स्ड स्टडी’ मा काम गरेका थिए। यी कोणबाट हेर्दा उनी र अल्बर्ट आइन्स्टाइनबीच धेरै समानता छन्। आइन्स्टाइन फिल्ममा पनि धेरै पटक देखिन्छन्।
केही प्राज्ञिक असहमति भए पनि ओपनहाइमर आइन्स्टाइनका प्रशंसक थिए। सन् १९६५ मा पेरिसमा युनेस्को हाउसमा सम्बोधन गर्दै ओपनहाइमरले भनेका थिए, “विज्ञानमा गरेको उच्च योगदान बाहेक आइन्स्टाइन आफ्नो मानवतावाद र महान् विचारका कारण पनि चिनिन्छन्।”
उनले थपेका थिए, “वास्तवमा यदि मानव जातिको समस्याबारे उनको (आइन्स्टाइनको) धारणालाई एक शब्दमा भन्नुपर्यो भने एउटा संस्कृत शब्द रोज्नेछु, त्यो हो- अहिंसा।”
सामान्यतः आइन्स्टाइनलाई २०औं शताब्दीका महान् वैज्ञानिकका रूपमा चिनिन्छ। अरू प्रख्यात वैज्ञानिक आफ्नो कामप्रतिको लगावका कारण चर्चित छन्। तर, तीभन्दा फरक आइन्स्टाइन विज्ञान जगत्भन्दा बाहिरका विषयमा देखाएको रुचिका कारण पनि चर्चित छन्।
उनी गज्जबका भायोलिनवादक थिए जो शास्त्रीय सङ्गीतलाई अत्यन्त प्रेम गर्थे। त्यस्तै, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा एकदमै रुचि राख्थे। एक राष्ट्रभित्र र राष्ट्रहरूबीच मानवीय सम्बन्ध कस्तो हुनुपर्छ भन्नेबारे पनि उनको उत्तिकै चासो थियो।
वैज्ञानिक आइन्स्टाइनबारे केही लेख्न मेरो क्षमताले पुग्दैन। यो लेखमा मूलतः एक नैतिकवान् व्यक्तिका रूपमा आइन्स्टाइनबारे वर्णन गरिएको छ। यो लेखनी मूलतः फ्रिज स्टर्नको पुस्तक आइन्स्टाइन्स जर्मन वर्ल्डको मेरो पठनमा आधारित छ। सन् १९९९ मा प्रकाशित जर्मन-अमेरिकन इतिहासकार स्टर्नको यो पुस्तकले २०औं शताब्दीको जर्मनीको फराकिलो अन्वेषण गरेको छ। खासगरी यो समयका यहुदीमा केन्द्रित छ।
यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण निबन्ध आइन्स्टाइनमा केन्द्रित छ। अन्य निबन्धमा पनि उनको प्रसङ्ग आइरहन्छ। लेखक चिठी र भाषण जस्ता प्रारम्भिक स्रोतमा त भर परेका छन् नै, उनका मातापिता आइन्स्टाइनका घनिष्ठ मित्र भएकाले पनि स्टर्नको विश्लेषण थप सुसूचित छ।
फ्रिज स्टर्नको अनुसन्धानमा संगृहीत अल्बर्ट आइन्स्टाइनका टिप्पणीहरू प्रस्तुत गर्छु। यी टिप्पणीहरू विज्ञानबारे नभई नैतिकता र राजनीतिबारे छन्। मैले गरेको पहिलो उद्धरण सन् १९०१ मा गरिएको टिप्पणी हो, जति वेला आइन्स्टाइन २२ वर्षका थिए। उनले भनेका थिए, ‘सर्वाधिकारप्रतिको मूर्खतापूर्ण विश्वास सत्यको सबैभन्दा ठूलो शत्रु हो।’
आइन्स्टाइनको यो भनाइ पढ्दा शुरूमा जोकसैलाई पनि उनले वैज्ञानिक सर्वाधिकारबारे टिप्पणी गरेका हुन् भन्ने लाग्छ। युवाका लागि अभिभावकको सर्वाधिकारप्रति मूर्खतापूर्ण विश्वास गलत हुन्छ। त्यस्तै सबै उमेर र सबै राष्ट्रका मानिसका लागि राजनीतिक सर्वाधिकारप्रतिको मूर्खतापूर्ण विश्वास पनि सदा उचित हुँदैन।
जर्मन साम्राज्यमा जन्मिएका आइन्स्टाइन किशोरावस्थामा स्वीट्जरल्यान्ड बसाइँ सरेका थिए। उनको पहिलो वैज्ञानिक कर्म जुरिचमा भएको थियो। सन् १९१३ मा ३४ वर्षको हुँदा उनी बर्लिन जान सहमत भएका थिए। बर्लिन जर्मनीको मात्र नभई जर्मन विज्ञानको पनि राजधानी थियो।
आइन्स्टाइनले त्यहाँ आफ्ना नयाँ वैज्ञानिक साथीहरूलाई मन त पराए तर जर्मन नागरिक शासकप्रति नतमस्तक भएको पनि पाए। काइजर (तत्कालीन जर्मन सम्राट्) र पितृभूमिप्रति उनीहरूको आलोचनाविहीन पूर्ण समर्पण उनलाई एकदमै समस्याजनक लाग्यो। जनवरी १९१४ मा उनले लेखे, ‘जर्मनहरूका लागि स्वतन्त्र दृष्टिकोण पराई चीज हो।’
अर्को ठाउँमा आइन्स्टाइनले जर्मनहरूको ‘जन्मजात दासत्व’ बारे पनि टिप्पणी गरेका छन्। (आइन्स्टाइनका यी टिप्पणी वर्तमान भारतीय राज्य र भारतीयहरूमा पनि प्रतिविम्बित हुन्छन्।)
त्यही वर्ष पहिलो विश्वयुद्ध शुरू भयो। आफू वरपरको अन्धराष्ट्रवादले आइन्स्टाइन तर्सिए। सन् १९१५ मा युद्ध उन्मादले ग्रस्त जर्मनहरूको ‘शक्तिलिप्सा र लोभ’ तथा ‘घृणा र युद्धप्रेम’ लाई आइन्स्टाइनले ‘घृणायोग्य दुर्गुण’ का रूपमा अर्थ्याए। जर्मनहरू आफू क्रिश्चियन भएकोमा र क्रिश्चियन आस्थाप्रति प्रतिबद्ध भएकोमा गर्व गर्थे र त्यसै अनुरूपको व्यवहार प्रदर्शन गरेको दाबी गर्थे। आइन्स्टाइनले उनीहरूको पाखण्ड उजागर गर्दै भने, ‘आफ्ना परमेश्वर जिसस क्राइस्टलाई भजन र प्रार्थनाले होइन, कर्मले सम्मान गर।’
त्यही वर्ष सन् १९१५ मै कलाकार र वैज्ञानिकहरूको मञ्च ‘गेथेबन्ड अफ बर्लिन’ ले आइन्स्टाइनलाई युद्धबारे आफ्नो धारणा राख्न अनुरोध गर्यो। उनले भने, “मेरो विचारमा युद्धको मनोवैज्ञानिक जरा पुरुषहरूको आक्रामक स्वभावमा रहेको हुन्छ।”
पक्कै पनि हिंसाप्रति पुरुषहरूको झुकाव राष्ट्रहरूबीचको युद्धमा मात्र व्यक्त हुँदैन। वर्तमान भारत नै त्यसको उदाहरण हो, जहाँ धर्म र/वा राजनीतिको नाममा भइरहेको हिंसाको अघिल्लो पंक्तिमा युवा नै छन्।
आइन्स्टाइनले पत्राचार गर्ने मित्रमध्ये एक थिए, स्वीस-फ्रान्सेली रोमाँ रोला, जो महात्मा गान्धी र रवीन्द्रनाथ टैगोरका पनि साथी थिए। अगस्ट १९१७ मा आइन्स्टाइनले रोलालाई लेखे- ‘१९औं शताब्दीमा भएको सैन्य विजयले जर्मनीमा धार्मिक आस्थावान् मानिसलाई शक्तिशाली बनाइदिएको छ, खासगरी अति राष्ट्रवादी र यहुदीविरोधी इतिहासकार हाइनरिख भोन त्राइत्स्क जस्ता मानिस शक्तिमा छन्। यो धर्मले सबैजसो सम्भ्रान्तलाई प्रभाव पारेको छ। गेथे-सिलरहरूको युगको आदर्शलाई पूर्णतः पाखा लगाइएको छ।’
दिक्कलाग्दो त त्यति वेलाको जर्मनी र समकालीन भारतबीच प्रस्ट समानता भेटिन्छ। सत्तापिपासु हिन्दूत्व यति हावी भएको छ, गान्धी-टैगोर युगको उदार आदर्श धेरै हदसम्म पाखा लगाइसकिएको छ।
प्रिज स्टर्नको ठम्याइमा आइन्स्टाइनले सबै प्रकारका साँघुरो राष्ट्रवादको विरोध गरे। त्यही समयमा यूरोपमा भइरहेको यहुदीमाथिको निरन्तर अत्याचारका कारण उनीहरूले आफ्नो मातृभूमिको खोजी गर्नुलाई आइन्स्टाइनले न्यायसङ्गत ठाने। ‘पृथ्वीमा एउटा सानो टुक्रा हुनुपर्छ, जहाँ हाम्रो जातिका मानिसले पराई हुनु नपरोस्’ भन्ने आशा र विश्वासका साथ उनले प्यालेस्टाइनमा भएको यहुदीको बसाइँसराइलाई समर्थन गरे।
यस अर्थमा आइन्स्टाइन यहुदीवादी हुन्, जसले पश्चिमएशिया (मध्यपूर्व)मा यहुदी राज्यको स्थापनाको समर्थन गरे। फेरि पनि उनी यो राज्यका बासिन्दा आफूले देखेका जर्मन जस्तो स्वार्थी र सङ्कीर्ण नहोऊन् भन्ने चाहन्थे। त्यसैले अक्टोबर १९१९ मा आइन्स्टाइनले लेखेका थिए, ‘हरेक मानिस आफ्नो जातीय स्वार्थमा सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा चिन्तन गर्ने हुनुपर्छ।’
(यो अवधारणा रवीन्द्रनाथ टैगोरको चिन्तनभन्दा फरक मान्न सकिंदैन। टैगोर समावेशी र गैरसङ्कीर्ण राष्ट्रवादको मिश्रण विश्वको खुलापनसँग हुनुपर्छ भन्ने मान्यता राख्थे।)
आइन्स्टाइनले जर्मनहरूको नश्लवादी राष्ट्रवादको विरोध गरे र यहुदीले आफूले निर्माण गर्न चाहेको मातृभूमिमा त्यस्तै अभ्यास गर्दा विरोध जनाए। सन् १९२९ मा प्यालेस्टाइनमा अरब र यहुदी आप्रवासीबीच हिंसात्मक दङ्गा भएपछि प्रमुख यहुदी नेता चेम विजम्यान (पछि इजरायलका प्रथम राष्ट्रपति)लाई आइन्स्टाइनले लेखे, ‘अरबहरूसँग इमानदारीपूर्वक सहकार्य र सम्झौता गर्ने बाटो फेला पार्दैनौं भने हामीले दुई हजार वर्षको पीडाबाट केही पनि सिकेका छैनौं र हामी नियतिको प्रहारका योग्य छौं।’
इजरायलको वर्तमान अवस्थाले आइन्स्टाइनले त्यति वेला कति बुद्धिमत्तापूर्वक टिप्पणी गरेका थिए भन्ने पुष्टि गर्छ। उदार यहुदीलाई पाखा लगाउँदै कट्टरपन्थी दक्षिणपन्थी सरकारमा आएसँगै इजरायल अरबहरूसँग इमानदारीपूर्वक सहकार्य गर्ने बाटोबाट झन् पर पुगेको छ।
एउटा व्यक्ति सिङ्गो विश्वसँग कसरी जोडिनुपर्छ भन्नेबारे आइन्स्टाइनले जीवनभर चिन्तन गरे। अरू वैज्ञानिक जस्तो उनी वैज्ञानिक कर्ममा मात्र खुम्चिएनन्। बरु उनले मानवीय सम्बन्धको सम्मान गरे र प्रशस्त घनिष्ठ साथीहरू बनाए। अरूसँग सम्बन्ध निर्माण गरेपछि मात्र कोही कसैको वैयक्तिक जीवनले अर्थ पाउँछ भन्ने उनलाई थाहा थियो। रूसी-अमेरिकी लेखक आइन रान्डले भने जस्तै पश्चिमा पूँजीवादी समाजले ‘स्वार्थीपनाको खूबी’ को गरिमागान गरिरहेको त्यो समयमा आइन्स्टाइनले नि:स्वार्थ हुने प्रयत्न गरिरहे।
सन् १९५४ मा आफ्ना मित्र भौतिकशास्त्री रुडोल्फ ल्याडेनबर्गको अन्त्येष्टि समारोहमा प्रिन्स्टनमा दिइएको मन्तव्यमा आइन्स्टाइनको जातीय अहङ्कारविरोधी र आत्ममुग्धताविरोधी दर्शन सुन्दर ढङ्गले व्यक्त भएको छ। त्यो वक्तव्यका केही उद्धरण यस्ता छन्- छोटो छ यो अस्तित्व, एक अनौठो घरमा गरिएको क्षणिक भ्रमण जस्तो। पार गर्नुपर्ने सडकमा छ केवल धिपधिपाउँदो चेतनाको मधुरो उज्यालो, जुन चेतनाको केन्द्रमा छ सीमित र अलग्याउने ‘म’।
“हाम्रो नग्न अस्तित्व र जीवनप्रतिको गहिरो अनुभूति दुवैलाई ध्यानमा राख्दा यो ‘म’ को सीमा हाम्रो प्रकृति अनुकूल हुने सोच्न सकिंदैन। यो ‘म’ ले हामीलाई ‘तिमी’ र ‘हामी’ तर्फ डोर्याउँछ। यो नै त्यो पाइला हो जसले मात्रै हामी जे हौं, त्यो बनाउन सक्छ। फेरि पनि मदेखि तिमीसम्म पुर्याउने पुल कमजोर र अनिश्चित छ, मानौं जीवनकै दुस्साहस हो।”
“जब व्यक्तिहरूको समूह सुसङ्गत हामी बन्छ, तब मानव जाति मात्र पुग्न सक्ने उच्च बिन्दुमा पुगिन्छ।”
यो लेखनीलाई अल्बर्ट आइन्स्टाइनको नभई ‘आइन्स्टाइन्स जर्मन वर्ल्ड’ का लेखकका शब्दले टुङ्ग्याऔं। हिटलर र नाजीहरूका कारण आफैं निर्वासित हुन बाध्य फ्रिज स्टर्न आफ्नो समयको पीडादायी, प्रताडित, हिंसा र घृणाले भरिएको इतिहास सम्झिंदै टिप्पणी गर्छन्, ‘सभ्य नागरिकको निस्क्रियताका कारण निम्तिन सक्ने हानिबाट कुनै पनि देश र समाज मुक्त छैन। हामी सबैका लागि २०औं शताब्दीको जर्मन पाठ यही हो।’
(टेलिग्राफ इन्डियामा प्रकाशित गुहाको यो लेख लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)