पाँच वटा जहाज खरीद गर्दै छौं: मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पाँच वटा जहाज खरीद गर्न लागेको बताएका छन्।
नेपाल वायु सेवा निगमले नयाँ र पुराना गरी पाँच वटा जहाज खरीद गर्न लागेको मन्त्री किरातीले बताए। “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरीद प्रक्रियामा रहेको छ, छिटै ती जहाज आउँछन्,” उनले भने।
झापाको बिर्तामोडमा आइतबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुने बताए।
“हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदो रहेछ,” उनले भने, “नेपाली जहाजकै ‘कनेक्सन फ्लाइट’ बाट नेपाली उत्पादन विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिन्छ।”
आफूले मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वाल टाल्ने काम गरेको उनको दाबी थियो। जसले गर्दा चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको मन्त्री किरातीले बताए।