नागरिक उन्मुक्ति र सद्भावना पार्टीबीच एकता
नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ।
आइतबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको छ। सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
दुवै नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी हुनेछ। त्यस्तै, झण्डा, चुनाव चिह्न, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै प्रयोग गरिने भएको छ। त्यसैगरी केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यको समायोजन दुवै पार्टीबीच आन्तरिक सहमति अनुसार हुने उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै नेता चौधरीले मधेश र थारूको मिलनबाट मात्रै उत्पीडित वर्गको अधिकार प्राप्त हुने भएकाले एकीकरण गरिएको बताए। त्यस्तै, सद्भावना पार्टीका अध्यक्ष महतोले मधेशी जनताको अधिकारका लागि छुट्टाछुट्टैभन्दा पनि एकीकृत भएर लड्न एकीकरण गरिएको बताए।