पहिरोले सात ठाउँमा राजमार्ग अवरुद्ध, २१ ठाउँमा एकतर्फी सञ्चालन
केही दिनयता लगातारको वर्षाका कारण देशका विभिन्न भागमा पहिरो जाँदा सात ठाउँमा राजमार्ग अवरुद्ध भएको छ भने २१ ठाउँमा एकतर्फी सञ्चालन गरिएको छ।
संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने प्रमुख बाटो नारायणगढ-मुग्लिन सडक केही दिनदेखि अवरुद्ध भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका-६, कालीखोलामा लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
यो ठाउँमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। कालीखोलामा केही दिनयता पहिरो खस्ने क्रम चलिरहेको छ।
त्यस्तै, पाँचथरको हेवा खोलामा पहिरो जाँदा तमोर कडिरोड अवरुद्ध छ। म्याग्दीको बैसरीमा पहिरो जाँदा तानसेन-रिडी-कोरला सडक अवरुद्ध छ। म्याग्दीकै खैकु खोलामा पनि पहिरोले सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।
यसैगरी, लमजुङको रामबजारमा पहिरो जाँदा डुम्रे-बेसीशहर-चामे सडक अवरुद्ध छ। मनाङको दानाक्युमा पहिरो जाँदा डुम्रे-बेसीशहर-चामे सडकमा आवतजावत ठप्प छ।
पाल्पाको तिनाउ जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ। पहिरोका कारण बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा सडकमा आवतजावत रोकिएको छ।
त्यस्तै, विभिन्न राजमार्गका २१ ठाउँमा पहिरो गएको छ। त्यहाँ भने पहिरो पन्छाएर सवारी साधनलाई एकतर्फी सञ्चालन गरिएको छ। पानी पर्दा फेरि सडक अवरुद्ध हुने अवस्था रहेको विभागले जनाएको छ।
मनसुन शुरू भएयता विभिन्न राजमार्गका १३८ ठाउँमा पहिरो गएको छ। त्यसमध्ये ११० ठाउँको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको विभागले जनाएको छ।