मुस्लिमलाई आगन्तुक भन्न मिल्दैन: पूर्व मन्त्री हुसैन
मुस्लिमहरू १०औं, ११औं र १२औं शताब्दीमा दक्षिण र मध्य भारतबाट उत्तरी भारत र मध्यदेश (मधेश)मा बसाइँ सरेका र त्यति वेला वर्तमान नेपालको अस्तित्व नरहेकाले उनीहरूलाई आगन्तुक भन्न नमिल्ने पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले बताए।
‘नेपालमा मुस्लिम सभ्यता’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। मुस्लिम बुद्धिजीवीहरूको उपस्थितिमा इस्लामी संघ नेपालको बागमती सभा कक्षमा आयोजित अन्तरक्रियामा पूर्व मन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले कार्यपत्र समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा उनले नेपालमा मुस्लिम सभ्यताको विकास, मुस्लिम समुदायको इतिहास, संस्कृति र पहिचानका आधारहरूबारे विचार राखेका थिए। मुस्लिम समुदायले संविधानमा आफ्नो छुट्टै राष्ट्रिय पहिचान स्थापित गर्न सफल भए पनि संविधान कार्यान्वयन पक्ष फितलो हुँदा आफ्ना अधिकारको सदुपयोग गर्न नपाइरहेको अवस्थाबारे उनले चिन्ता व्यक्त गरेका थिए।
बाराको सिम्रौनगढमा मुस्लिमहरूले राजा हरिसिंह देवलाई पराजित गरी लामो समयसम्म राज्य चलाएको, विसं १७०० तिर राजा भास्कर मल्लले एक जना मुसलमानलाई काजी (तत्कालीन समयमा प्रधानमन्त्री) नियुक्त गरेको, पृथ्वीनारायण शाहले राष्ट्रनिर्माणको अवसरमा मुस्लिमहरूलाई सैन्य प्रशिक्षण, हतियार निर्माण र युद्धमा प्रयोग गरेको, भारतीय पक्षसँग कुरा गर्न बेतिया पठाई कूटनीतिक क्षेत्रमा मुस्लिमबाट सेवा लिइएको जस्ता ऐतिहासिक वृत्तान्तहरूको पनि उनले उल्लेख गरे।
उनले भीमसेन स्तम्भ, रामजानकी मन्दिर, घण्टाघर जस्ता कैयौं धरोहर मुगल शैलीमा निर्माण भएको र प्रताप मल्लले हनुमानढोकामा १८ वटा भाषामा शिलालेख राख्दा फारसी भाषामा पनि शिला कुँदेको इस्लामी सभ्यतातर्फ इङ्गित गर्दै मल्लकालमा फारसी लिपिमा लेखिएको सिक्का प्रचलनमा रहेको पनि बताए।
पहाडी जिल्लामा मुसलमानका पुराना बस्ती दरबार वरिपरि रहेकोबाट पनि मुस्लिम सभ्यता राजकीय सुरक्षासँग जोडिएर विकसित भएको उनले तर्क गरे।
उनले अधिकांश मुसलमान मधेशको भूमिमा प्राचीनकालदेखि नै बस्दै आएको र उनीहरू पछि मात्र इस्लाममा प्रवेश गरेको र कतिपय मुस्लिमहरू १०औं, ११औं र १२औं शताब्दीमा दक्षिण र मध्य भारतबाट उत्तरी भारत र मध्यदेश (मधेश)मा बसाइँ सरेको बताए। त्यति वेला वर्तमान नेपालको अस्तित्व नरहेकाले उनीहरूलाई आगन्तुक भन्न नमिल्ने र उनीहरू यहाँका भूमिपुत्र वा आदिवासी नै भएको उनले जिकिर गरे।
हुसैनले नेपालको राजनीति भारतीय राजनीतिबाट प्रभावित हुँदै आएको र भारतमा हिन्दूवादी राजनीति बलियो हुँदै गर्दा भारतीय उपमहाद्वीपमा नै धर्मनिरपेक्षता जोखिममा पर्दै गएको चिन्ता व्यक्त गरे।
उनले मुस्लिम समुदायका बुद्धिजीवी, राजनीतिकर्मी, अधिकारकर्मी र युवा पुस्तामा मुस्लिम समुदायको वास्तविक इतिहास, इस्लामी सभ्यता, पहिचानका आधार र अधिकारबारे छलफलको आवश्यकता रहेको पनि औंल्याए।
कार्यक्रममा पाश्चात्य दर्शन, पूर्वीय दर्शन र इस्लामी दर्शनबारे पनि सामान्य छलफल भएको थियो।
कार्यक्रममा प्राध्यापक डा. इमरान अन्सारी, इस्लामी संघका पूर्व अध्यक्ष गुलाम रसूल फलाही र मुस्लिम पत्रकार, विद्यार्थी लगायतको उपस्थिति थियो।