ब्रोडद्वारा सन्न्यास घोषणा
सन् २०१६ यता टेस्ट मात्र खेल्दै आएका ब्रोड एशेजका उत्कृष्ट खेलाडी मानिन्छन्। उनले एशेजमा १५१ विकेट लिएका छन्।
इङ्ल्यान्डका बलर स्टुअर्ट ब्रोडले सन्न्यासको घोषणा गरेका छन्। ओभलमा जारी पाँचौं एशेज टेस्टको समाप्तिसँगै आफ्नो खेल जीवनलाई टुङ्ग्याउने उनले बताए।
३७ वर्षीय ब्रोडले १६७ टेस्ट म्याचमा ६०२ विकेट लिएका छन्। उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलरमध्ये दोस्रो स्थानमा छन्। पहिलो स्थानमा इङ्ल्यान्डकै जेम्स एन्डरसन छन्।
“पछिल्लो केही साता यता मैले सन्न्यासबारे सोचिरहेको थिएँ। इङ्ल्यान्ड विरुद्ध अस्ट्रेलिया मेरा लागि सधैं शिखरका रूपमा छ। अस्ट्रेलिया विरुद्धका प्रतिस्पर्धा मैले सधैं मन पराएको छु। एशेज क्रिकेटसँग मेरो प्रेमपूर्ण सम्बन्ध छ। र, मलाई लाग्यो मेरो अन्तिम ब्याट र बल एशेज क्रिकेटमा हुनुपर्छ,” ब्रोडले भने।
एशेज क्रिकेटमा ब्रोडले १५१ विकेट लिएका छन्। उनी एशेजका उत्कृष्ट खेलाडी पनि मानिन्छन्।
ब्रोडले सन् २००६ को अगस्टमा पाकिस्तान विरुद्धको टी-ट्वेन्टी खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनको टेस्ट डेब्यू भने श्रीलंका विरुद्ध थियो।
उनले १२१ एकदिवसीय र ५६ टी-ट्वेन्टी पनि खेलेका छन्। सन् २०१६ यता भने उनले केवल टेस्ट मात्र खेल्दै आएका छन्।