दरबन्दी अनुसार कर्मचारी नभएपछि सेवा प्रवाहमा समस्या
करारमा राखिएका ६ जना कर्मचारी हटेसँगै सेवा प्रवाहमा थप समस्या भएको कार्यालय प्रमुख टेकबहादुर घर्ती मगरले बताए।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ। कार्यालय प्रमुख टेकबहादुर घर्ती मगरका अनुसार कार्यालयमा १८ जनाको दरबन्दी रहेकामा सात जना मात्रै कर्मचारी छन्।
“दरबन्दी अनुसार कर्मचारी छैनौं, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ,” उनले भने। करारमा रहेका ६ कर्मचारी हटेसँगै थप समस्या भएको उनले बताए।
चालू आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ। कर्मचारी कम हुँदा कार्यालय बाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए।
कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान-बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्ती मगरले बताए।
पूर्व-पश्चिम राजमार्गको मध्यभागमा रहेको यस कार्यालयमा सवारी चालक अनुमतिपत्रका लागि धेरै सेवाग्राही आउने गरेका छन्। -रासस