ओलीको प्रश्न- विमानस्थलका मान्छे र मशिन सुतेका वेला सुन भित्रिएको हो र?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारी विना विमानस्थलबाट सुन भित्रिन सम्भव नहुने जिकिर गरेका छन्।
बाँकेको नेपालगन्जमा शनिबार लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा संलग्न आफ्ना मान्छेलाई बचाउन खोजेको आरोप लगाए। सरकारको जानकारीमै सुन तस्करी भएको जिकिर गर्दै ओलीले भने, “एउटा सुई समेत छिर्न नसक्ने विमानस्थलमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ? मान्छे, मशिन सुतेका वेला त्यो सुन भित्रिएको हो र?”
करीब १०० किलो सुन तस्करीमा सत्ताधारी दलका मान्छेलाई जोगाउने र अरूलाई फसाउने खेल भइरहेको उनको आरोप थियो। यतिका दिनसम्म छानबिनमा ढिलाइ हुनुमा पनि उनले शङ्का गरेका छन्।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब देश हाँक्ने पार्टी एमाले नै भएकाले जनप्रतिनिधिले शालीनता अपनाउन निर्देशन दिए। “एमालेबाट निर्वाचित जनप्रतिनिधिमा अहंता र घमण्ड नभई शालीनता हुनुपर्छ,” ओलीले भने।
उनले अहंता र घमण्डलाई त्यागेर जनप्रतिनिधिले शालीनताका साथ जनताको सेवामा लाग्न आग्रह गरे। अबको निर्वाचनमा हरेक तहमा ५१ प्रतिशत जनताको मत हासिल गर्ने गरी एमाले अगाडि बढेको उनको भनाइ थियो।
भेलामा एमालेका तर्फबाट लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष सहभागी छन्।