देशलाई महँगो पर्दै छ बर्सेनि विपद्बाट हुने क्षति
बाढीपहिरोमा आफन्त र घरबार गुमाएका परिवारलाई मात्रै होइन, देशलाई नै बर्सेनि हुने विपद्को क्षति र नोक्सानी महँगो पर्दै गएको छ। तर, अझै पनि क्षति र नोक्सान कम गर्न संरचनात्मक सुधार, यसको आकलन र प्राकृतिक प्रकोपको कारणबारे अध्ययन अनुसन्धानकै कमी छ।
२०७८ असार १ गते बेलुकी ७ बजे एकाएक प्रहरीले बाढी आएको सूचना दिएसँगै बाबुराम भण्डारी र उनको परिवार हतारिंदै घरका सरसामान झिक्न थाल्यो। सबै सामान झिक्न नपाउँदै बाढीले आँखैअघि घर ढालिदियो। श्रीमती, बुहारी र नातिको ज्यान त जोगियो, तर साथीको माछा फार्म जोगाउन गएका छोरा माधवलाई भने बाढीले बगायो। एकै छिनमा आएको बाढीबाट भण्डारीले घर, जमीन, व्यवसाय र छोरा सबै थोक गुमाए।
बेलुकाको खाना खाएर परिवारसँगै बसेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२, किउलका भण्डारीले एकै छिनमा प्रलय आउला भन्ने कल्पनासम्म गरेका थिएनन्।
आम्दानीको एक मात्र स्रोत धान कुट्ने मशिन पनि बाढीले लगेपछि दुई वर्षदेखि भण्डारीको परिवारको दैनिकी कष्टकर बनेको छ। उनीहरूले सुरक्षित वासस्थान पाएका छैनन्। पुरानो घरभन्दा २०० मिटर टाढा किउल बजारमा वार्षिक पाँच हजार भाडामा टिनको छाप्रो बनाएर बसेका छन्।
२३ रोपनी जग्गा र घर भएको जग्गाधनी प्रमाणपत्र देखाउँदै भण्डारी भन्छन्, “अब यो लालपुर्जा मात्रै छ। छाेरा, सबै बाली, घर, सम्पत्ति गइहाले।”
दुई वर्षअघिको बाढीले भण्डारीको मात्र हैन, हेलम्बुका ३५० घर पूर्ण क्षति हुँदा तिनमा बस्ने परिवारको पनि जीवन उजाडिदिएको छ। हेलम्बु गाउँपालिकाका अनुसार दुई वर्षअघिको बाढीले यस क्षेत्रमा दुई हजार १०० रोपनी जग्गा र ३६० परिवार विस्थापित भए। २५ जनाको ज्यान गयो भने सात वटा झोलुङ्गे पुल, १० वटा मोटरबाटो पुल, सात किलोमिटर पक्की सडक, ३५० माछा फार्म लगायत भौतिक संरचनामा क्षति पुग्यो।
गाउँपालिकाका सूचना अधिकारी टोपबहादर बरुवालका अनुसार हेलम्बुमा भौतिक संरचनातर्फ रु.एक अर्बभन्दा बढीको क्षति भयो। जसको पुनरुत्थान गर्न स्थानीय तहले मात्र नसक्ने उनी बताउँछन्।
हेलम्बुबाट ४९ किलोमिटर टाढा इन्द्रावती गाउँपालिकामा पनि रु.६० करोडभन्दा बढीको खेतीयोग्य जमीन पुरिएको गाउँपालिकाका पूर्वाधार विकास तथा वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख राजाराम धोराइनी बताउँछन्। सडक क्षति हुँदा त्यसको असर स्थानीय बासिन्दालाई पनि परेको छ। “बाढीले तीन किलोमिटर सडक बगाएको थियो। त्यो सडक पनि बनाउन नसक्दा स्थानीय बासिन्दालाई कृषि, व्यापार-व्यवसाय गर्न अझैसम्म गाह्रो भइरहेको छ,” धोराइनी भन्छन्।
बाढीले सबैभन्दा बढी भौतिक क्षति मेलम्ची नगरपालिकामा गर्योे। मेलम्चीमा दुई पुल, ६ झोलुङ्गे पुल, ४१ सरकारी भवन, ३२२ घर, तीन हजार ८२ रोपनी जग्गामा पूर्ण क्षति भयो। जसबाट झन्डै रु.५७ अर्ब ३१ करोड नोक्सान भएको नगरपालिकाको तथ्याङ्क छ।
बाढीपहिरो जस्ता विपद्का कारण नेपालले बर्सनि कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत अर्थात् ८० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति बेहोर्छ। यसमा भण्डारीका जस्ता निजी सम्पत्तिसँगै पुलपुलेसा, सडक, जलविद्युत् आयोजना लगायत सार्वजनिक सम्पत्ति पनि पर्छन्। तिनको पुनर्निर्माणमा राज्यले बर्सेनि ७० करोड रुपैयाँसम्म खर्च गर्दै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मराहट्ठा बताउँछन्। तर, हरेक वर्ष विपद् झेल्ने नेपाल जस्ता मुलुकका लागि विपद्पछिको पुनर्निर्माण महँगो र सम्हाल्नै नसकिने हुँदै गएको छ।
दुई वर्षअघि आएको बाढीले हेलम्बु-२, किउल बजार र तिम्बु गाउँलाई जोड्ने पुल बगाएपछि दुई गाउँबीच सम्बन्ध टुटेको छ। किउल बजारमा गाउँपालिका कार्यालय, पशु सेवा विभागदेखि काठमाडौं जोड्ने सडकखण्ड पनि भएकाले तिम्बुबासीलाई किउल आइरहनुपर्ने स्थानीय हेमा शर्मा बताउँछिन्।
गत चार वर्षदेखि किउल बजारमा होटल सञ्चालन गर्दै आएकी शर्मा पुल नभएकै कारण एक वर्षदेखि तिम्बु नपुगेको सुनाउँछिन्। उनी भन्छिन्, “पोहोर लोसारपछि घर गएको छैन। मर्दापर्दा त पुग्नुपर्ने हो। तर, अब परिवार पनि सबै यतै सारियो, बाटो पनि छैन। यस्तै छ।”
पुल नहुँदा तिम्बुवासीलाई मात्र हाेइन हेलम्बु-१ को नुर्पु गाउँवासीलाई पनि उस्तै कठिन भएको स्थानीय सितार लामा बताउँछन्। पुल नहुँदा ज्यानै जोखिममा राखेर चिउरीखर्कको भिरालो बाटो भएर किउल बजार आउने गरेको सुनाउँदै लामा भन्छन्, “१५ मिनेटको बाटो थियो। गाडी पनि यही पुल भएर गुड्थ्यो। अहिले एक घण्टाभन्दा धेरै लाग्ने लामो बाटो भएको छ।”
त्यस्तै, हेलम्बु-२ को पेवाडाँडा र हेलम्बु-६ को काफ्लेफाँटलाई जोड्ने झोलुङ्गे पुल पनि दुई वर्षअघिको बाढीले लग्यो। काफ्लेफाँटका स्थानीय पदम गजुरेलका अनुसार ६ नम्बर वडाबाट २ नम्बर वडा भएर काठमाडौंसम्म पुग्ने जक्सन नै हराएको छ। त्योसँगै काफ्लेफाँटको उत्पादन काठमाडौं पुर्याउन नसकिएको उनी बताउँछन्।
यसरी हेलम्बु क्षेत्रका दुई मोटरेबल पुल र झोलुङ्गे पुलको पुनर्निर्माण नहुँदा स्थानीय बासिन्दा दुई वर्षदेखि अनेक समस्यामा छन्। हेलम्बु गाउँपालिकाका सूचना अधिकारी बरुवालका अनुसार यी पुल निर्माण गर्न अहिले बजेटको अभाव छ। “हिउँदमा त अस्थायी मोटरबाटो खोलेका थियौं, तर बर्खामा त्यो पनि रहेन,” उनी भन्छन्, “बजेट पनि पर्याप्त छैन, त्यसैले यो काम कहिले पूरा हुन्छ भन्न सकिंदैन।”
दुई वर्षअघिको विनाशकारी बाढीको कारक प्राकृतिक मात्र नभई मानवीय पनि भएको विभिन्न अध्ययनले देखाएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले ४ अगस्ट २०२१ मा सार्वजनिक गरेको ‘मेलम्ची बाढी प्रकोपः क्यास्केडिङ खतरा र बहुमुखी जोखिम व्यवस्थापनको आवश्यकता’ अध्ययनले सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नदीका विभिन्न स्थानमा भएको क्षतिको कारक मानवीय र जलवायु परिवर्तन दुवैलाई मानेको छ। अध्ययन प्रतिवेदन अनुसार, बाढी आउनुका कारणहरूमा मौसमी अवस्था, उच्च स्थानमा रहेको हिमनदी फुट्नु, भ्रेमाथाङको पुरानै पहिरो, मेलम्ची गाउँमा नयाँ पहिरो आएर नदीको बाँध फुट्नु र नदीले किनार कटान गर्नु थिए।
यस्तै, नेपाल इन्जिनीयरिङ एशोसिएशनले सन् २०२१ मा सार्वजनिक गरेको ‘मल्टी पर्स्पेक्टिभ फिल्ड रिकनसेन्स आफ्टर द मेलम्ची डेब्रिज फ्लो’ अध्ययन प्रतिवेदन अनुसार मेलम्ची क्षेत्रमा भएको क्षति स्थानीय स्तरमा भारी वर्षाले पनि निम्त्याएको प्रकोप थियो। यससँगै अध्ययनले कमजोर भौगर्भिक संरचनाका कारण माथिल्लो भागमा भत्किएका संरचनाले थिग्रो बटुलेर अझ विनाश भएको जनाएको छ। २०७२ सालको गोरखा भूकम्पका कारण यस जिल्लाको पहाड कमजोर भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
यो प्रतिवदेनको निष्कर्षसँग इन्जिनीयरिङ क्याम्पस, पुल्चोकको विपद् अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवं भूगर्भविद् वसन्तराज अधिकारी पनि सहमत छन्। पछिल्ला वर्षहरूमा जेठ र असारमा पर्ने पानीको ‘सिजनल शिफ्टिङ’ (पानी पर्ने मौसममा पानी नपर्नु)को कारण पनि पानी पर्ने समय परिवर्तन भएको अधिकारी बताउँछन्। “पहिले पहिले लामो समयसम्म पानी परिरहन्थ्यो। अहिले पानी त पर्छ, तर थोरै समयमा धेरै पानी पर्छ,” अधिकारी भन्छन्, “यसरी थोरै समयमा धेरै पानी पर्नु पनि जलवायु परिवर्तनको सूचक हो।”
विज्ञहरूका अनुसार हरितगृह ग्यासको उत्सर्जनका कारण केही दशक यता विश्वव्यापी तापमानमा वृद्धि हुँदा जलवायु परिवर्तन भइरहेको छ। तापक्रममा आएको परिवर्तनले वायुको चापसँगै पानी पर्ने तरीकामा पनि परिवर्तन ल्याउँछ। यसले समुद्री सतहको तापक्रम र पृथ्वीको सतहमा परिवर्तन ल्याउँछ। जलवायु तथा विपद्विज्ञ धर्मराज उप्रेती अहिलेको बेमौसमी भारी वर्षा हुनुमा जलवायु परिवर्तन पनि कारक भएको बताउँछन्।
लामो समय पृथ्वीको तापक्रम बढ्दा समुद्रको विभिन्न ठाउँमा न्यून चापीय अवस्थाको सिर्जना हुने र त्यसमध्ये केहीले वर्षा, केहीले समुद्री आँधी ल्याउने उनी बताउँछन्। “पृथ्वीको तापक्रम बढ्दै जानुले पनि न्यून चापीय अवस्थाहरू उत्पत्ति भइरहेको छ। जसले गर्दा कहिले समुद्री आँधी त कहिले बेमौसमी भारी वर्षा भइरहेको छ,” उप्रेती भन्छन्।
उप्रेतीका अनुसार गत असारमा पाँचथरमा आएको बाढी जलवायु परिवर्तनकै नतीजा थियो। बाढीपहिरोले ताप्लेजुङका ११ र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाउँदा करीब १२ करोड १० लाख ८८ हजार बराबरको क्षति भएको छ। यस्तै, अन्य पुल, घर, सडकको क्षतिको विवरण आउँन बाँकी नै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
अर्कातर्फ, बढी क्षति हुनुमा मौसम पूर्वानुमान सूचना प्रणालीले प्रभावकारी तरीकाले काम गर्न नसक्नुलाई पनि कारण मानिएको छ। जलवायु विज्ञ उप्रेतीका अनुसार यस वर्ष दक्षिण भारतको केरलामा मनसुन आठ दिन ढिला आयो। त्यहाँबाट नेपालतर्फ मनसुनी वायु धकेलिंदै थियो। उही वेला बंगालको खाडीमा न्यून चापीय अवस्थाको सिर्जना भयो। जसले गर्दा मनसुनी वायु र न्यून चापीय अवस्थाले सिर्जित वायु पूर्वी नेपालतिर धकेलियो।
यसले मनसुन छिटो नेपालमा प्रवेश गराउन सहयोग गर्यो। जसको परिणामस्वरूप त्यहाँ तीन दिन लगातार ठूलो वर्षा भयो। यही कारणले नै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढी आएको उप्रेतीको भनाइ छ। उनका अनुसार जेठ २९ गते नै भारतको मौसम विभागले आफ्नो नक्शामा मनसुन वर्षा भारतको बिहारको केही भाग आसाम, मेघालय र नेपालको कोशी प्रदेशको केही भागमा प्रवेश गरेको देखाएको थियो।
तर, नेपालको जल तथा मौसम विज्ञान विभागले मनसुन भित्रिन अझै केही दिन लाग्ने भनेर जेठ २९ मा विज्ञप्ति निकालेको थियो। केही दिनपछि मनसुन भित्रिने भनिएको भोलिपल्ट नै पूर्वी नेपालमा भारी वर्षा भयो।
मौसम पूर्वानुमानमा किन ढिलाइ भयो?
“हामीले २९ र ३० गतेबाट नै मनसुन आउन सक्ने शङ्का नगरेको हैन। तर, कतिपय अवस्थामा हामी पनि पर्ख र हेरको अवस्था हुन्छौं। सबै वर्षा मनसुन नै हुन्छ भन्ने हुँदैन। प्रि-मनसुन पनि हुन्छ,” जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेल भन्छिन्, “फेरि हामीले आफ्नो सिस्टममा हेरेर भन्ने हो, अरूको अवलोकन गरेर भन्ने हैन।”
वर्षा कुन ठाउँमा कस्तो हुँदै छ, कस्तो हुन सक्छ र कुन ठाउँबाट वर्षा गराउने बादल प्रवेश गर्दै छ, त्यसको सूचना र अनुगमन हुन जरुरी देखिन्छ। त्यसैले वर्षा र बाढीको पूर्वानुमानका लागि नेपाललाई दक्षिणएशिया हेर्ने मोडल चाहिने विपद् विज्ञ उप्रेती सुझाउँछन्।
यससँगै जलवायु परिवर्तन र यसबाट हुन सक्ने क्षतिबारे पनि नेपालले अझै अध्ययन अनुसन्धान बढाउनुपर्ने उनको जोड छ। किनभने पछिल्लो समय जलवायु परिवर्तनले औसतमा समुद्री सतह र त्यसको तापक्रम बढ्दै गएको छ।
हिन्द महासागर सतहको औसत तापक्रम चिसोमा २७ र गर्मीमा २९ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ। हरेक १० वर्षमा समुद्रको तापक्रम ०.११ डिग्री सेल्सियसका दरले बढिरहेको भारतको पृथ्वी विज्ञान मन्त्रालयले सन् २०२० मा गरेको एसेसमेन्ट अफ क्लाइमेट चेन्ज ओभर द इन्डियन रिजन अध्ययनमा उल्लेख छ। यसरी समुद्री सतहको तापक्रम बढदै जाँदा न्यून चापीय अवस्था सिर्जना हुने र यसले भारी वर्षा गराउने सम्भावना बढाएकोे जलवायुविज्ञहरू बताउँछन्।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न भएको प्रकोपमा कर्णालीमा आएको बाढीलाई पनि उदाहरणका रूपमा लिन सकिने जलवायुविज्ञ उप्रेती बताउँछन्। २०७१ साउन २९ र ३० गते आएको मुसलधारे पानीले एक हजार वर्षमा एक पटक हुने बाढीको रूप लिएको प्राक्टिकल एक्सन नेपालको ‘नेपालमा जलवायु परिवर्तनले पार्ने क्षति तथा नोक्सानीको आकलन’ प्रतिवेदनमा उल्लेख छ। यो विपद्ले २२२ जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी परिवार बेघर भएका थिए। साथै, विद्यालय, अस्पताल, कार्यालय ध्वस्त भए र करोडौंको क्षति भयो।
यस वर्ष पनि मनसुन शुरू भएपछि २३ दिनमा मनसुनजन्य विपद्का घटनाबाट ३४ जनाको मृत्यु र १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल भने यसरी भइरहेको क्षतिको कारणबारे अध्ययन नपुग्दा नेपाल जस्ता विकासोन्मुख देश मर्कामा परिरहेको बताउँछन्।
सन् २०२२ को कोप-२७ मा जलवायु परिवर्तनका कारण हुने विनाशमा विकसित देशहरूले आर्थिक सहायता कोष स्थापना गरेर विकासोन्मुख देशलाई सहयोग गर्ने प्रस्ताव स्वीकृत भएको थियो। तर, यसका लागि पनि प्रकोप कसरी जलवायु परिवर्तनसँग सम्बन्धित छ भन्ने अध्ययन गर्ने भन्ने चुनौती नेपालसामु छ।
त्यस्तै, राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ ले पनि जलवायुबाट हुने क्षति र नोक्सानी बढ्दै गएकोमा सचेत गराएको छ। यसले क्षति न्यूनीकरणमा जोड दिंदै महत्त्वपूर्ण कार्यहरू बीमा, सामाजिक सुरक्षा, विपद्पश्चात् पुन:स्थापना र पुनर्निर्माणलाई प्रत्यक्ष रूपमा क्षति तथा नोक्सानीसँग जोड्न सकिने बताएको छ।
प्राक्टिकल एक्सन नेपालले पनि नेपालमा जलवायु परिवर्तनले पार्ने क्षति तथा नोक्सानीको आकलन गर्न पहिलो पटक अध्ययन गरेको छ। यसले क्षति तथा नोक्सानीको कसरी अध्ययन गर्ने भन्नेबारे विभिन्न ढाँचा सुझाएको छ। यसबारे पहिलो काम नै स्थानीय सरकारले थाल्नुपर्ने र आफ्नो क्षेत्रमा भएका संरचनाको अवलोकन र अवस्था आफैंले बुझ्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलको बुझाइ छ।
कसरी कम गर्ने क्षति?
राष्ट्रिय योजना आयोगको ‘नेपाल दिगो विकास लक्ष्य, स्थिति र मार्गचित्रः २०१६-२०३०’ का अनुसार नेपालमा हरेक वर्ष हिंसाले भन्दा पहिरो, बाढी, वायु प्रदूषणले बढी ज्यान जाने गरेकोे छ। त्यसैले उत्थानशील नेपाल अर्थात् दिगो भौतिक संरचनाको परिकल्पना गर्दै बलियो, राम्रो, योजनाबद्ध, सुरक्षित पूर्वाधारमा भवन र बस्तीहरू निर्माण गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव तथा वरिष्ठ इन्जिनीयर राजेन्द्रराज शर्मा नेपालले प्राकृतिक प्रकोपबाट क्षति र नोक्सानी न्यूनीकरण गर्न पहिलो कदम संरचना सुधार नै भएको बताउँछन्। विकासको नाममा जथाभावी सडक, पुल र भवनको डिजाइनसँगै गुणस्तर नपुग्दा र कमजोर इन्जिनीयरिङका कारण पनि संरचना कमजोर भएको शर्माको भनाइ छ।
अहिले स्थानीय तहमा सडक र पुल नै प्राथमिकतामा छन्। तर, संरचना बनाउनुअघि वातावरणीय अध्ययन कर्मकाण्डी मात्र बनाइदिन शर्मालाई पनि दबाब आउने गरेको छ। वरिष्ठ इन्जिनीयर शर्मा भन्छन्, “मेयरहरू नै अध्ययनभन्दा चाँडै काम सक्नुपर्यो भन्दै आउँछन्। अध्ययन गर्दा महँगो हुने भनेर खर्च बचाउनतिर लाग्छन्।”
प्राक्टिकल एक्सन नेपालका प्रोजेक्ट म्यानेजर तथा इन्जिनीयर विक्रम राणाका अनुसार नेपालमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि भौतिक संरचनाहरू अपर्याप्त छन्। त्यस्तै, भएका संरचना पनि मजबूत नभएकाले विपद् नेपालका लागि महँगो सावित भएको राणा बताउँछन्।
विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ र विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति कार्ययोजना, २०१८-२०३० ले विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा राहत तथा उद्धार केन्द्रित अवधारणाबाट विपद् जोखिम न्यूनीकरण केन्द्रित बृहत्तर अवधारणालाई अङ्गीकार गरेको छ, तर व्यवहारमा राहत र उद्धारमै केन्द्रत छ।
अहिले विद्यालय, भवन, सरकारी भवन, निजी घर, अन्य संरचना कति छन्, कति मूल्यका छन् र त्यसको अवस्था के छ भन्ने प्राधिकरणसँग तथ्याङ्क छैन। त्यो नहुँदा प्रकोप आउँदा क्षति भएका संरचनाको मूल्याङ्न गर्न सकिंदैन। यसरी क्षतिको मूल्याङ्कन गर्न वातावरण बनाउँदै नोक्सानको पनि हिसाब गरिनुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक पोखरेल बताउँछन्। उनी भन्छन्, “घर, सडक, पुल जस्ता भौतिक संरचनाको हिसाब निस्किए पनि विपद्मा परेको परिवारको सास्ती बेहिसाब हुन्छ।”
यस्तै, विपद्मा हेलम्बुको किउलकी सावित्री सापकोटाको परिवारले घर गुमाएपछि ठूलो सास्ती बेहोर्नुपरेको छ। परिवारका सदस्य अहिले छिन्नभिन्न छन्। बाढीले घर लगेपछि ७१ वर्षीया सापकोटाको परिवार टहरामा बसिरहेको छ। टहरामा पूरै परिवार नअटाउने भएपछि छोरा र दुई नातिनातिनी काठमाडौं गएका छन्।
उनी भने जङ्गलबीचमा टहरा लगाएर बुहारी र एक नातिनीसँगै हेलम्बुमै बसिरहेकी छन्। हेलम्बुस्थित भूमेश्वर माविमा अध्ययनरत नातिनातिनीलाई स्कूल र घर आउजाउ गर्ने पुल नै बाढीले बगाएपछि सास्ती भएको छ। “टहराका दुई कोठामा ६ जनाको परिवार अटाउनै मुश्किल छ,” वृद्धा सापकोटा भन्छिन्, “जसरी हुन्छ त्यसरी दुःखसुख बाँचिएको छ।”
बाढीले बगाएको घरजग्गा क्षतिको त हिसाबकिताब निस्किएको छ। तर, बुढ्यौलीमा एक्लो छोराको सामीप्य गुमाएकी सापकोटाको नाक्सानीको आकलन कसरी गर्ने? प्रश्न अनुत्तरित नै छ।
(प्राक्टिकल एक्सनको सहकार्यमा तयार पारिएको रिपोर्ट।)