गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै धर्ना
गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवार धर्नामा बसेका छन्।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले शनिबारदेखि रौतहटको चपुरमा धर्ना शुरू गरेको हो। गौर हत्याकाण्डमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै धर्ना शुरू गरिएको हो।
२०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो। दुवै पार्टीका नेता तथा कार्यकर्ताको एउटै स्थानमा कार्यक्रम गर्ने हठका कारण झडप भएको थियो। झडपमा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो।
त्यस घटनाको राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संघसंस्थाले स्थलगत अनुसन्धान पनि गरेका थिए। त्यति वेला फोरमको नेतृत्वका गरेका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहित १३० माथि अनुसन्धान गरी मुद्दा चलाउन आयोगले गत पुसमा सिफारिश गरेको थियो।
त्यस्तै, पीडित त्रिभुवन शाह लगायतले जेठ २१ मा सर्वोच्च अदालतमा रिट पनि दायर गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाएका रिटमा मुद्दा प्रक्रिया अघि बढाउन माग गरिएको थियो।
कतैबाट पनि न्यायिक प्रक्रिया अघि नबढेपछि पीडितहरूले धर्ना शुरू गरेका हुन्। माग पूरा नभएसम्म धर्ना जारी राख्ने संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायले बताए। “न्याय नपाउँदासम्म धर्ना दिन्छौं,” संयोजक उपाध्यायले भने।