अनुगमन संयन्त्र नहुँदा अवैध रूपमा बस्दै पर्यटक
अध्यागमनसँग अनुगमन गर्ने प्रभावकारी संयन्त्र नहुँदा पोखरा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकहरू अवैध रूपमा बस्दै आएका छन्।
गत वर्ष एक चिनियाँ नागरिक लागूऔषध दुर्व्यसनको मुद्दामा पोखरामा पक्राउ परिन्। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी तीन वर्षदेखि अवैध रूपमा पोखरामा बस्दै आएको भेटिइन्। पर्यटक प्रहरी र अध्यागमन कार्यालय, पोखराको सहकार्यमा उनलाई अध्यागमन विभाग, काठमाडौं पठाइयो।
लागूऔषधको मुद्दा नपरेको भए उनको अवस्थाबारे कसैलाई थाहा हुने थिएन। उनी जस्तै गत आर्थिक वर्ष २०७९/८० मा पोखरामा अवैध रूपमा बसेका सात जना पर्यटकलाई देश निकाला गरिएको छ। ती सात जना पर्यटक अध्यागमन विभागको अनुगमनले नभई यस्तै गैरकानूनी क्रियाकलापमा समातिएपछि मात्र अवैध बसाइ रहेको खुलेको हो।
विदेशी नागरिकको बसाइबारे सघन अनुगमन नहुँदा पर्यटक नेपालमा लुकीछिपी बस्ने गरेका छन्। विशेषगरी पोखरा र लगायत आसपासका ग्रामीण क्षेत्रमा गएर उनीहरू अवैध रूपमा बस्ने गरेको पाइएको छ।
विदेशी नागरिकको नेपाल बसाइको ट्र्याकिङ र अनुगमनका लागि स्थापना भएका संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन हुन सकेका छैनन्। विदेशी नागरिकमाथि निगरानी राख्न सरकारले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ जारी गरेको थियो। तर, पर्याप्त अनुगमन नहुँदा विदेशी पर्यटकले भिसाको दुरुपयोग गर्ने र कानून विपरीतका गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।
कर्मचारी थोरै हुँदा प्रभावकारी रूपमा काम हुन नसकेको अध्यागमन कार्यालय, पोखराका प्रमुख नवराज शर्मा दोरङ्गा बताउँछन्। यद्यपि जानकारीमा आएका अवैध विदेशी पर्यटकलाई कारबाहीको दायरामा ल्याउन भने समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ। पोखरा ड्यामसाइडमा रहेको अध्यागमन कार्यालयमा ११ जना कर्मचारी छन्। जसमा दुई सहयोगी र एक चालक छन्। बाँकी आठ कर्मचारीले प्रशासन लगायतको काम हेर्नुपरेकाले कठिनाइ भएको उनको भनाइ छ।
‘ओभरस्टे’ बसेका विदेशी पर्यटकको अनुगमनको जिम्मा अध्यागमन विभागको भए पनि प्रभावकारी काम हुन नसकेको प्रमुख दोरङ्गा स्वीकार गर्छन्। “हालसम्म यसरी अवैध रूपमा बसेका पर्यटकले गैरकानूनी काम गरी प्रहरीको अनुसन्धानमा पुगेपछि मात्र समातिएको अवस्था छ,” उनी भन्छन्।
अवैध रूपमा बसेका विदेशी पर्यटक समातिएको अवस्थामा कम्तीमा ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था छ। अध्यागमन विभाग अन्तर्गत पोखरा सहित देशभर विभिन्न सिमाना, विमानस्थलमा गरेर १३ वटा कार्यालय छन्। तर, साधनस्रोत नहुँदा सबै कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन्।
भिसासँगै पदयात्राका लागि पूर्व स्वीकृति
पर्यटकीय आगमनका हिसाबले गण्डकी प्रदेश, त्यसमा पनि पोखरा महत्त्वपूर्ण शहर मानिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि गत असार ६ गते चीनको छेन्दुबाट पोखराका लागि पहिलो व्यावसायिक उडान भएको थियो। जसमा आएका पर्यटकका लागि विमानस्थलमा खडा गरिएको अध्यागमन कार्यालयले पहिलो पटक पर्यटक भिसा जारी गरेको थियो।
त्यस बाहेक अध्यागमन कार्यालय पोखराले यस क्षेत्रमा पर्यटकका लागि विभिन्न प्रकारका भिसा जारी गरेको छ। अहिले कार्यालयमा दैनिक ४० देखि ५० पर्यटक भिसाको कामले आउने गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा मात्र सात हजार ९३४ जनाको भिसा जारी भएको छ।
जसमा छोटो अवधिका पर्यटक भिसा ६ हजार ५०४, नाताका आधारमा प्रदान गरिने गैरपर्यटक भिसा ८६४, वैवाहिक आधारमा प्रदान गरिने गैरपर्यटक भिसा १५६, गैरआवासीय भिसा २०४ र पदयात्राको अनुमति २०३ जनालाई प्रदान गरिएको छ।
यससँगै अध्यागमन कार्यालयले नेपालका १५ ठाउँका लागि पर्यटकलाई पूर्व स्वीकृति दिंदै आएको छ। जसमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, गोर्खा मनास्लु क्षेत्र, हुम्ला, ताप्लेजुङ, तल्लो डोल्पा, दोलखा, गोर्खा चुम उपत्यका क्षेत्र, संखुवासभा, सोलुखुम्बु, रसुवा, मनाङ, बझाङ, मुगु र दार्चुला छन्।