कोशी सरकार गठनबारे काठमाडौंमा छलफल
कोशी प्रदेश सरकार गठनका विषयमा सत्तारूढ दलका शीर्ष नेताहरूबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका हुन्। कोशीमा कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा गठन भएको सरकारलाई बदर गरिदिएको छ। सभामुख बाबुराम गौतमको हस्ताक्षरका आधारमा सरकार गठन गर्नु संविधान प्रतिकूल भएको भन्दै सर्वोच्चले बदर गरेको थियो। यससँगै सर्वोच्चले साउन १७ गतेसम्म नयाँ सरकार गठनका लागि म्याद दिएको छ।
सर्वोच्चको आदेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न समय दिएका छन्। उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्। यसमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सकिने व्यवस्था छ।
९३ सदस्यीय कोशी प्रदेश सभामा सरकार गठनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। अहिले सत्तारूढ गठबन्धनमा रहेका कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक गरी ४६ सांसद छन्।
त्यस्तै, विपक्षी गठबन्धनमा रहेका नेकपा (एमाले)का ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ गरी ४६ सांसद छन्। दुवै पक्षलाई सरकार गठनका लागि एक सांसदको आवश्यकता पर्छ।
यस्तो अवस्थामा राप्रपासँग छलफल गर्ने कि सभामुख गौतमलाई राजीनामा दिन लगाउने भन्ने विषयमा समेत बालुवाटार बैठकमा छलफल भएको जनाइएको छ। सभामुखबाट राजीनामा दिंदा गठबन्धनका ४७ सांसद हुन्छन्।
अहिले एमालेबाट सिर्जना दनुवार उपसभामुख छन्। सभामुखले राजीनामा दिंदा उपसभामुखले प्रदेश सभाको कामकाज गर्ने भएकाले सरकार गठनमा सहज हुन सक्ने कांग्रेस र माओवादी नेताहरूको मत छ।
यससँगै राप्रपालाई पनि सरकारका सहभागी गराउने विषयमा पनि छलफल भएको जनाइएको छ। राप्रपालाई विश्वासमा लिन नसके के गर्ने भन्ने लगायत विषयमा छलफल भएको जनाइएको छ।