जुनसुकै पार्टी र व्यापारिक घराना भए पनि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ
गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले अनुसन्धान चलिरहेका विभिन्न प्रकरणमा जुनसुकै पार्टी वा घरानाका भए पनि कारबाही हुने बताएका छन्।
शनिबरा गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानमा जो दोषी देखिन्छ, त्यसलाई कारबाही हुने बताए। ललिता निवास जग्गा, नक्कली भूटानी शरणार्थी, सय किलो सुन तस्करी लगायत प्रकरणमा कसैलाई पनि नछोडिने उनको भनाइ थियो।
“भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिंदैन,” गृहमन्त्री श्रेष्ठले भने, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन। अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।”
उनले सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको बताए। “आम जनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्,” उनले भने, “भ्रष्टाचार विरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ।”
भ्रष्टाचार र कमिशनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उनको भनाइ थियो। “अब भ्रष्टाचार र कमिशनखोरी अन्त्य गरिदिनुपर्छ, जसले नियम विपरीत काम गरेका छन् तिनलाई कानूनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “तब मात्रै सुशासन स्थापित हुन्छ। यसबाट मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्छ।”