पहिरो पन्छाएर खोलियो नारायणगढ-मुग्लिन सडक
पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान पहिरो गएको थियो। पहिरोले सडक अवरुद्ध भएको थियो।
अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
यसअघि गएराति पनि पहिरोले सडक अवरुद्ध भएको थियो। रातिभर पहिरो पन्छाएपछि बिहान सञ्चालनमा आएको थियो। तर, सञ्चालनमा आएको केही घन्टामा फेरि पहिरो गएको थियो।
कालीखोला लगायतका स्थानमा पटक पटक पहिरो जाने गरेको छ। जसले गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन र यात्रुले सास्ती खेप्नुपरिरहेको छ।