कालीखोलामा फेरि पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक ठप्प
कालीखोलामा फेरि पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान ७ बजे फेरि पहिरो खसेको हो। पहिरोले आवगमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।
सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। गएराति पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतिर जान नपाउँदै फेरि पहिरो खसेको हो।
गएराति कालीखोलामै पहिरो खसेको थियो। जसले गर्दा रातभर आवतजावत बन्द भएको थियो।
पहिरो पन्छाएर यातायात सुचारु भएसँगै फेरि पहिरो गएको हो। पहिरो पन्छाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।