यौनशोषण र सम्पत्ति हडपेको आरोपमा मिटरब्याजी सुर्जमान माली पक्राउ
ऋण तिर्न नसकेपछि एक महिला ऋणीलाई यौनशोषण गर्दै सम्पत्ति समेत हडपेको आरोपमा ललितपुर प्रहरीले सुर्जमान मालीलाई पक्राउ गरेको छ।
३४ वर्षीया महिलालाई २०७६ सालमा लिएको पाँच लाख रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण मिनाहा गर्ने भन्दै लगातार माली र उनका साथीहरूले बलात्कार गरेको समाचार नेपाल रीडर्सले प्रकाशन गरेको थियो। पछि जबर्जस्ती ६५ लाख ऋण लिएको तमसुक बनाएर ती महिलाको ठेचोमा रहेको घरजग्गा नै मालीले कब्जा गरेको आरोप छ। माली पनि ठेचोकै हुन्।
कसैलाई भनेमा बलात्कृत भएको सार्वजनिक गरिदिने तथा छोरीलाई समेत त्यस्तै गर्ने बताएपछि पीडित महिलाले लामो समय घटना लुकाएको बताइएको छ। माली पक्राउ परेको विषयमा प्रहरीले भने केही खुलाएको छैन।
पीडित पक्षले आजै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्नो पीडा सुनाएको थियो। त्यसपछि गृहमन्त्री श्रेष्ठले मालीलाई कानूनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई मौखिक निर्देशन दिएका थिए।
अनुचित लेनदेन (मिटरब्याज)को समस्या समाधान गर्न गठित आयोगले जिल्ला प्रशासन कार्यालयलाई साहु र ऋणीलाई छलफल गराएर लेनदेन मिलाउने अधिकार दिएको छ। यही अधिकार प्रयोग गरेर पीडित महिलाको सम्पत्ति फिर्ता गराउन गृहमन्त्री श्रेष्ठले जिल्ला प्रशासनलाई भनेका हुन्।
प्रहरीले बलात्कारको घटनामा अनुसन्धान गरेर कारबाही चलाउने भएको छ। यद्यपि पीडित पक्षले जाहेरी भने दिइसकेको छैन। शरीर बन्धक, जबर्जस्ती करणी, मानव बेचबिखन लगायत कसूरमा जाहेरी दिने पीडित पक्षको तयारी छ।