‘शल्यक्रिया गर्ने पैसा नहुँदा रोग पालेर बसेका छौं’
शल्यक्रिया गर्ने पैसा नहुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढीकी निर्वदा गिरी दुई वर्षदेखि रोग पालेर बसेको बताउँछिन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी निर्वदा गिरीको घाँटीको अघिल्तिर सानो गिर्खा निस्कियो। शुरूआतमा कुनै असर नदेखिएकाले गिर्खालाई सामान्य ठानियो।
गिर्खा बढ्न थालेपछि भने निर्वदाको स्वास्थ्यमै असर परेको छ। घाँटीभरि बनेपछि खानेकुरा निल्नै समस्या भइरहेको उनका पति धनप्रसाद गिरीले बताए। “अहिले त खानपिन गर्न पनि नसकिने भएको छ,” धनप्रसादले भने।
निर्वदाको घाँटीको गिर्खा बढ्न थालेपछि दुई वर्षअघि काठमाडौंको वीर अस्पताल लगिएको थियो। चिकित्सकले थाइराइडको समस्या भएको औंल्याएका थिए। थाइराइडको शल्यक्रिया गर्नुपर्ने सुनाएका थिए। “डाक्टरले अप्रेसन गर्न १० लाख चाहिन्छ भन्यो। त्यत्रो पैसा कताबाट ल्याउनु!” धनप्रसादले पीडा सुनाए।
कमजोर आर्थिक अवस्थाको गिरी परिवारसँग १० लाख रुपैयाँ जुटाउने सामर्थ्य थिएन। त्यसपछि वीर अस्पतालको शय्याबाट निर्वदालाई घर फर्काएको उनले बताए। “पैसा नभएर अहिलेसम्म उपचार गर्न सकिएको छैन, रोग पालेर बसेका छौं,” उनले भने।
त्यति वेला पनि काठमाडौं जान २० हजार ऋण निकालेका थिए। त्यो ऋण पनि अझै तिर्न नसकेको उनले दुःखेसो गरे।
त्यति वेला ठूलो समस्या नदेखिएको भए पनि अहिले भने गाह्रो हुँदै गएको उनले बताए। “कतैबाट सहयोग जुट्यो भने उपचार गर्थें,” उनले भने, “सरकारले निःशुल्क उपचारको व्यवस्था गरिदिए हुन्थ्यो।”
सामान्य आर्थिक अवस्थाको गिरी परिवारसँग आयस्रोत छैन। खेतीपाती गरेरै दैनिकी चलाउँदै आएका छन्।