लम्पी स्किनपीडितलाई राहत माग गर्दै किसानको प्रदर्शन
लम्पी स्किन रोगबाट गाईवस्तु क्षति भएका किसानलाई राहतको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरिएको छ।
अखिल नेपाल किसान महासंघ र किसान सञ्जालको अगुवाइमा किसानले बागमती प्रदेश राजधानी हेटौंडामा शुक्रबार प्रदर्शन गरेका हुन्। उनीहरूले हेटौंडाको बुद्ध चोकमा केही बेर चक्काजाम समेत गरेका छन्।
लम्पी स्किन रोगबाट देशभरका किसानले अर्बौंको क्षति बेहोर्नुपरेको महासंघले जनाएको छ। तर, तीनै तहका सरकारले वास्ता नगरेका कारण सडकमा आउनुपरेको महासंघका अध्यक्ष ध्रुव दंगालले बताए।
अहिले बीमा कम्पनीहरूले पनि पशुको बीमा भुक्तानी र नवीकरण नगरेको किसानले गुनासो गरेका छन्। जसले गर्दा देशभरका किसान मर्कामा परिरहेको अध्यक्ष दंगालले बताए।
महासंघले किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउन शुक्रबार सातै प्रदेशमा विरोध तथा धर्ना दिएको छ। सरकारले बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम अगाडि सारिने महासंघले जनाएको छ।