कोशीमा मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान
कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।
सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। उनले साउन १६ गते साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्न आह्वान गरेका हुन्। यस उपधारामा प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न सकिने व्यवस्था छ।
साउन ११ मा सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया संविधान प्रतिकूल रहेको ठहर गर्दै नियुक्ति बदर गरेको थियो। यससँगै जहाँबाट प्रक्रिया मिचिएको हो, त्यहीबाट पुनः सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखको नाममा आदेश दिएको थियो।
गत असार २१ गते थापाले सभामुख बाबुराम गौतमको हस्ताक्षरमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। त्यसलाई प्रदेश प्रमुख खापुङले मान्यता दिंदै मुख्यमन्त्री नियुक्त गरेका थिए।
सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख खापुङले फेरि दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न शुक्रबार आह्वान गरेका हुन्। यसका लागि उनले पाँच दिनको समय दिएका छन्। सर्वोच्चले मुख्यमन्त्री नियुक्त गर्न साउन १७ गतेसम्मको समय दिएको थियो।
९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्। सभामुख बाहेक सत्ता र विपक्षी गठबन्धनसँग ४६-४६ सांसद छन्। बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।