रुबिन म्यूजियमलाई सम्पदा पुन:स्थापन अभियानको पत्र: मूर्ति फिर्ता गर्ने कार्य छनोटको विषय हुन सक्दैन
संग्रहालयले सहायतास्वरूप इटुम्बहाललाई प्रदर्शनीस्थल प्रदान गरेको कुरालाई ध्यानमा राख्दै अभियानले उक्त कार्य विचलित प्रतिष्ठा जगाउने उपाय हुन नसक्ने पनि ठहर गरेको छ।
काठमाडौं उपत्यकाबाट चोरी भएका पुरातात्त्विक महत्त्वका दुई वटा सामग्री रुबिन म्यूजियम अफ आर्टबाट फिर्ता भएकामा नेपाल सम्पदा पुन:स्थापन अभियानले स्वागत गरेको छ। अभियानकी अध्यक्ष ऋद्धिबाबा प्रधानले हिजो रुबिन म्यूजियमका कार्यकारी निर्देशक जोरिट ब्रिटस्गीलाई एक पत्र लेख्दै फिर्ता गरिएका सम्पदालाई स्वागत गरिएको र संग्रहालय थप उत्तरदायी हुने अपेक्षा गरिएको बताएकी छिन्।
फिर्ता भएका सामग्रीमा याम्पी महाविहारको १७औं शताब्दीको तोरण र इटुम्बहालको उडिरहेको गन्धर्वको काष्ठकला छन्। गन्धर्वको मूर्ति सन् १९९९ मा काठमाडौंबाट हराएको थियो। यो मूर्ति १४औं शताब्दीमा बनेको हो।
यी सामग्री चोरीका हुन् भन्ने स्वयंसिद्ध तथ्यमाथि पर्याप्त परख नगरी संग्रहालयले आफ्नो स्वामित्वमा राखेको पत्रमा उल्लेख छ। ‘हामी विश्वास गर्छौं कि फर्काइएका दुई सामग्री संग्रहालयको आत्मसमीक्षा र हिमाली जनता तथा संस्कृतिप्रतिको उत्तरदायित्त्वको निरन्तरताको शुरूआत मात्रै हो,’ पत्रमा भनिएको छ।
संग्रहालयले तोरण र गन्धर्व कसरी आफ्नो स्वामित्वमा पुग्यो भन्नेबारे अनुसन्धान गर्ने बताएको सन्दर्भमा पनि अभियानले अनुसन्धानको निचोडमा पूर्ण पारदर्शिताको अपेक्षा गरेको छ। ‘संग्रहालयले प्रदर्शनमा राखेका र भण्डारण गरेका सहित आफ्नो सम्पूर्ण वस्तुसूचीको उत्पत्तिमाथि गहिरो खोज गर्न पनि हामी जोड दिन्छौं,’ पत्रमा उल्लेख छ।
संग्रहालयले सहायतास्वरूप इटुम्बहाललाई प्रदर्शनीस्थल प्रदान गरेको कुरालाई ध्यानमा राख्दै अभियानले काठमाडौं उपत्यका र समग्र नेपालबाट चोरी भएका सम्पदाको सन्दर्भमा उक्त कार्य विदेशी सङ्कलनकर्ता र संग्रहालयलाई उत्तरदायी हुनबाट रोक्ने र विचलित प्रतिष्ठा जगाउने उपाय हुन नसक्ने पनि ठहर गरेको छ।
यस्तै, मूर्ति वा अन्य सामग्री फिर्ता गर्ने कार्य छनोटको विषय हुन नसक्ने पनि अभियानले स्पष्ट पारेको छ। अभियानले रुबिन म्यूजियम अफ आर्टलाई आफ्ना वर्तमान र भावी संग्रहका सूचना सार्वजनिक गर्न पनि माग गरेको छ।