‘भगवान् बुद्ध राजकुमार होइनन् भन्ने देखिन्छ’
‘आजसम्म नेपालको कुनै पनि कालखण्डको जन-अवस्थाको समग्र अध्ययन गरिएको छैन। शासकको इतिहास लेख्ने क्रममा अनेकौं छिद्रमा जन-अवस्थाका केही प्रसङ्ग नघुसेका भने होइनन्, ती अपवादलाई छाड्दा नियतवश नै नागरिकको इतिहास नलेखिएको भान हुन्छ।’
सात दशकदेखि संस्कृति र इतिहासको अनुसन्धानमा सक्रिय साधक हुन्, संस्कृतिविद् हरिराम जोशी (८७)। संशोधन मण्डल र कमलप्रकाश मल्लका बौद्धिक बहस चर्किएको समयमा उनी भिन्न वैचारिकी सहित इतिहास लेखनमा जुटेका थिए। नेपाली इतिहास लेखनमा राष्ट्रवादी भावुकताको प्रवृत्ति रहेको औंल्याउँदै उनी यसलाई समस्या मान्छन्।
दुई दर्जनभन्दा बढी पुस्तक र दुई वटा विश्वकोश प्रकाशन गरेका जोशी हाल महाभारत विश्वकोश प्रकाशनको तयारीमा व्यस्त छन्। उनले सन् १९८१ देखि २८ वर्षसम्म रोलम्ब जर्नल प्रकाशन गरेका थिए। जनसमुदायबाट ‘संस्कृति शिरोमणि’ उपाधि पाएका उनी प्राज्ञिक जगत्मा भने गुमनाम जस्तै छन्। उनै जोशीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंको औपचारिक अध्ययनबाटै कुराकानी शुरू गरौं। त्रिभुवन विश्वविद्यालयको नेपाली, इतिहास, संस्कृति र पुरातत्त्व केन्द्रीय विभागको पहिलो ब्याचको विद्यार्थी हुनुहुन्छ। त्यस वेलाको पढाइ कस्तो थियो?
मैले आईए र बीए संस्कृति विषय लिएर त्रिविमै पढेको हुँ। स्नातकोत्तरमा संस्कृति र पुरातत्त्व अध्यापन हुन्थ्यो, तर विषय शिक्षक निकै कम थिए। संस्कृति विषयमा पारङ्गत विद्वान् धुस्वाँ सायमी मात्रै हुनुहुन्थ्यो। यसकारण पुरातत्त्व विषयका अभिन्न अङ्गहरू अन्वेषण, उत्खनन, संरक्षण, वर्गीकरण, लिपि तथा अभिलेख उतार जस्ता पाटोबारे गहिरो गरी पढाइ हुँदैनथ्यो। संस्कृति र पुरातत्त्वका विषय शिक्षक नभएका हुनाले हामीलाई संस्कृतका पण्डित, इतिहास र अंग्रेजी विषयका प्राध्यापकहरूले पढाउनुहुन्थ्यो।
पाठ्यक्रममा कस्ता विषय समावेश गरिन्थ्यो?
मूलतः भारतीय इतिहास र संस्कृतिको पढाइ हुन्थ्यो। त्यसका साथै प्राचीन नेपालको सामाजिक तथा सांस्कृतिक इतिहासलाई बढी जोड दिइन्थ्यो। विशेषतः लिच्छविकाल र मल्लकालमा केन्द्रित रहेर पाठ्य विषय तयार गरिन्थ्यो। त्रिवि भर्खर भर्खर खुलेको हुनाले र अन्य कारणले पनि इतिहास र संस्कृति विषयले ओगटेको विविध आयामलाई सम्बोधन गर्न सकेको थिएन।
इतिहासप्रति तपाईंको रुचि चाहिं कसरी जाग्यो?
आफैंलाई चिन्न र हिजोका कुरा बुझ्न व्यक्तिको अभिरुचि हुन्छ, त्यसै अनुसार इतिहासमा मेरो रुचि बस्यो। समय, परिस्थिति र आवश्यकता अनुसार रुचि निर्धारण हुन्छ। मैले इतिहासका कुनै विषयमा वस्तुनिष्ठ भएर लेखेका लेखमा अन्य विद्वान्हरूले राष्ट्रवादी भएर शासकलाई पक्षपोषण गर्ने गरी टिप्पणी गरेका थिए। देशको आफ्नो नभएको कुरा पनि हो जस्तो गरी लेख्नुपर्छ भन्ने उनीहरूको तर्क थियो, जसमा म सहमत हुन सकिनँ। सच्चा लेखकमा अतिशय भावुकताबाट माथि उठेर सत्य लेख्ने हिम्मत हुनुपर्छ।
सजग र तटस्थ भएर साँचो इतिहास लेख्नुपर्छ भन्ने मेरो मान्यता हो। तथ्य र तर्कका आधारमा इतिहासको आलोचना गर्नुपर्छ भन्ने अभिप्रायले नै म इतिहास लेखनमा तानिएँ। अहिले तथ्य बङ्ग्याई गलत इतिहास लेखेर भविष्यका पाठकको दृष्टिमा गलत लेखक ठहरिनुभन्दा वर्तमानमा सत्य लेखेर अप्रिय बन्नुमा मलाई अधिक श्रेयस्कर लाग्छ। अन्धराष्ट्रवादमा मलाई विश्वास छैन। यही मान्यतामा रहेर मैले लेख्दै आएको छु।
पञ्चायतकालमा पनि तपाईंका धेरै पुस्तक प्रकाशन भएका थिए, यस सन्दर्भमा तपाईंको वैचारिक मतभिन्नताप्रति त्यस वेला प्रश्न उठ्यो कि उठेन?
इतिहासका आकर र उपकरणमाथि गहिराइमा विचार गरेर मात्र राष्ट्रवादका आयाममा वस्तुनिष्ठ छलफल गर्नुपर्छ। यही मान्यतामा रहेर म अनुसन्धान र लेखनमा केन्द्रित भएँ। मैले जहिल्यै मनको कुरा सुनें। मलाई पनि प्रश्नहरू नउठाइएको होइन तर म आफ्नो सिद्धान्तमा अडिग रहें।
इतिहासप्रति तपाईंको बेग्लै वैचारिकी छ। लिच्छविकाल स्वर्णयुग होइन भन्नुभएको छ। यसका आधार के हुन्?
सभ्यता र संस्कृतिको विकास भएको आधारमा कतिपय इतिहासकारले लिच्छविकाललाई स्वर्णयुग भनेका हुन्। तर, त्यस कालमा जनताको अवस्था दयनीय भएकाले स्वर्णयुग मान्न सकिंदैन। लिच्छविकाललाई स्वर्णयुग भन्दै गर्दा तात्कालिक जनस्तरको अवस्था पनि परीक्षण गरिनुपर्छ। त्यस कालका अभिलेखहरूमा नारी, दलित, शूद्र (चाण्डाल) दास-दासीहरूको आँसुको इतिहासलाई अस्वीकार गरेर स्वर्णयुगको गीत गाउनु भनेको तत्तत् वर्गहरूको इतिहासप्रतिको उपहास हो। हो, वर्चस्वशालीको आँखाबाट हेर्दा लिच्छविकाल स्वर्णयुग हुन सक्ला तर भुइँतहका मान्छेहरूका लागि स्वर्णयुग भाष्य निर्मम कठोरता बाहेक केही होइन।
लिच्छवि सभ्यताका कालिगड र आम नागरिकहरूको दीनहीन अवस्थाबारे इतिहासकारहरू मौन छन्। अभिलेखहरूको पेटबोलीमा स्वर्णयुगको हंस नभेटिने होइन तर तिनै अभिलेखभित्र छिद्रहरू केलाउँदा दासदस्यु, चाण्डाल, शूद्र, कोल, निषाद, नाग, किरात, किन्नर, कश र शूद्रहरूको दयनीय अवस्था लुकेको हुन्छ। इतिहासको यस बर्बरतामा आँखा चिम्लिएर स्वर्णयुगको गीत गाउनु भनेको कुनै अमुक शक्तिको दृष्टिबन्धक भएर लेखकीय नैतिकता कुल्चिनु हो।
यसले हार्नेहरूको इतिहास नलेखिने नै देखायो हैन?
जित्नेको प्रशस्ती गाउनु र हार्नेहरूको अपमान गर्नु शासकको विशेषता हो। जित्नेहरूको मात्र एकपक्षीय इतिहासले समग्र आयाममाथि न्याय गर्दैन। स्वर्णयुगको भाष्य बनाउनेहरूले श्रमजीवीहरूको पसिनामाथि अन्याय गरेका छन्। तत्कालीन श्रमजीवीको ज्ञान, सीप र मिहिनेतको समुच्च रूप नै लिच्छविकालको आधार हो। यसकारण तात्कालिक श्रम व्यवस्था र श्रमजीवीहरूको इतिहास नलेखी इतिहास लेखन पूरा हुँदैन। जनइतिहास विनाको इतिहास अपूरो र एकाङ्गी हुन्छ। भुइँतहबाट इतिहास हेरेमा अहिलेसम्म मजबूत बनेर उभिएको स्वर्णयुगको पर्खाल ढल्नेछ। शासकले मेटाएको इतिहास खोज्नु नै सच्चा इतिहास अन्वेषकको धर्म हो।
मल्लकालीन हजारौं सम्पदा, तीसँग जोडिएका जीवन्त सांस्कृतिक प्रवाहको आधारमा मल्लकाललाई स्वर्णयुग मान्नुपर्छ भन्ने तर्क पनि गरिन्छ, यसबारे तपाईंको दृष्टिकोण के छ?
लिच्छविकाल पुरातात्त्विक र ऐतिहासिक साक्ष्यले प्रमाणित भएको युग हो, यसमा दुईमत नै छैन। तर, संस्कृतिको चरम विकास भएकाले तुलनात्मक रूपमा मल्लकाल बढी स्वर्णयुगीन हो भन्ने तर्क बलियो लाग्छ। कला-संस्कृतिलाई नै आधार मान्दा पनि मल्लकालमा धेरै विकास भएको देखिन्छ। भाषा, साहित्य, लिपि, दर्शन, कला-वास्तुकला, व्यापार-वाणिज्य, आजपर्यन्त जीवन्त रहेका मूर्त-अमूर्त संस्कृति आदिका आधारमा तुलनात्मक रूपमा मल्लकाल नै स्वर्णयुग हो। यसो भन्दा ममा कुनै आग्रह-पूर्वाग्रह छैन।
आजसम्म नेपालको कुनै पनि कालखण्डको जन-अवस्थाको समग्र अध्ययन गरिएको छैन। शासकको इतिहास लेख्ने क्रममा अनेकौं छिद्रमा जन-अवस्थाका केही प्रसङ्ग नघुसेका भने होइनन्, ती अपवादलाई छाड्दा नियतवश नै नागरिकको इतिहास नलेखिएको भान हुन्छ। अहिले देशमा लोकतान्त्रिक गणतन्त्र छ भन्दै गर्दा देशका सबै नागरिक सुखी र खुशी छन् भन्नु कति उचित होला भन्ने सवालमा ध्यान दियौं भने स्वर्णयुगबारे समीक्षा र विमर्श हुन सक्छ।
तपाईंले पुरातात्त्विक प्रमाणमाथि पनि प्रतिप्रश्न गर्नुपर्छ भन्दै आउनुभएको छ, यस सन्दर्भमा हाम्रा मिथकीय विभूतिमाथि प्रश्न गर्ने कि नगर्ने?
ऐतिहासिक सामग्री भेटिंदा त्यससँग जोडिएका तथ्यशृङ्खला टुटेको हुन्छ। त्यो टुटेको शृङ्खलालाई विभिन्न कोणबाट हेरेर विश्लेषण गर्ने काम इतिहासकारले हो। त्यसरी विश्लेषण गर्दा प्रचलित व्याख्याभन्दा फरक निष्कर्ष आउन सक्छ। जस्तै- काठमाडौंको रानीपोखरी प्रताप मल्लले निर्माण गरेका हुन् भन्ने कतिपय इतिहासकारको भनाइ छ, जुन गलत हो। प्रताप मल्लको समयभन्दा अगाडि नै त्यहाँ पोखरी थियो, जसको मर्मतसम्भार मात्र उनले गरेका हुन्। भृकुटीबारे नेपालमा कुनै प्रमाण छैन। उनीसँग जोडिएको तिब्बती प्रमाणहरूमाथि पुनः परीक्षण गर्नुपर्छ। इतिहास लेखनका भण्डारबाट वस्तुनिष्ठ इतिहास तयार गर्नु इतिहासकारका लागि निकै चुनौती हो। मिथकीय पात्रहरू इतिहास लेखनको आंशिक आधार भएकाले तीसँग जोडिएका पात्रहरूको ध्वनि सुनेर खास दृष्टिकोण बनाउन सक्नुपर्छ।
तपाईंले सिद्धार्थ गौतम र उनका पुर्खा राजपरिवारका उत्तराधिकारी होइनन् भन्नुभएको छ। यसको प्रामाणिक आधार के हो?
त्यस वेलाका विभिन्न ऐतिहासिक सामग्रीको अध्ययन गर्दा सिद्धार्थ गौतम (गौतम बुद्ध) राजकुमार होइनन् भन्ने देखिन्छ। रोचक कुरा त उनले वैराग्यभावले घर त्यागेकै होइनन्, उनलाई देश निकाला गरिएको तथ्य ऐतिहासिक स्रोतहरूबाट प्राप्त भएको छ। बुद्धकालीन सैनिक अदालतले सिद्धार्थलाई फाँसी, सम्पत्ति जफत, देश निकालामध्ये के गर्ने भनी सोध्दा उनी आफैं निर्वासनमा गएका हुन्। यसबारे विशेष गरी भारतीय विद्वान् भीमराव अम्बेडकरले लेखेका छन्।
अम्बेडकरलाई नै आधार मानेर मैले रोलम्ब जर्नल (सन् १९९३ जुलाई-सेप्टेम्बर, भोलम १३) मा 'लर्ड बुद्ध वाज् नट् अ प्रिन्स अफ कपिलवस्तु, नर शुद्धोदन वाज् द किङ' शीर्षकको लेख लेखेको थिएँ। नयाँ तथ्य भेटिएको अवस्थामा कहिलेकाहीं इतिहासको पर्खाल पनि भत्किन्छ। यसलाई स्विकार्नैपर्छ।
काष्ठमण्डपबाट काठमाडौंको नाम राखिएको समय-सन्दर्भबारे इतिहासकारहरूले आधार प्रस्ट्याउन सकेका छैनन्। तपाईंले यसबारे अध्ययन गर्दा के पाउनुभयो?
लिच्छविकालमा काठमाडौंलाई दक्षिण कोलीय ग्राम भनिन्थ्यो। काष्ठमण्डपको निर्माणपछि नाम परिवर्तन गरी काष्ठमण्डपकै आधारमा उक्त इलाकालाई काठमाडौं भनिएको देखिन्छ। तिब्बती स्रोतमा पनि काष्ठमण्डप नाम उल्लेख छ। लगभग एक हजार वर्षअघिको स्रोतबाट यसबारे अनुमान गर्न सकिन्छ।
नेपालको इतिहास लेखिंदा अहिलेसम्म काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएर लेखियो भनिन्छ। क्षेत्रीय तथा आञ्चलिक इतिहास नलेखिएकै हो त?
अधिकांश इतिहासकारले काठमाडौं उपत्यकालाई नै सिङ्गो संसार मानेकाले हुन सक्छ, उनीहरू उपत्यका बाहिर निस्किन सकेकै छैनन्। उनीहरूको लेखनको परिधि साँघुरो छ। उपत्यकाको परिधिबाट बाहिर निस्किन सके पो मुलुकको विविधताबारे थाहा हुन्छ। केही लेखकले आञ्चलिक इतिहासमा कलम चलाए पनि त्यो पर्याप्त छैन। काठमाडौंलाई मात्र नेपाल मानेर इतिहास लेखिंदा त्यस बाहिरको सामाजिक, सांस्कृतिक, राजनीतिक र भौगोलिक पक्ष बेवास्तामा पर्यो।
पछिल्लो कालमा चाहिं उपत्यका बाहिर गएर भाषा, क्षेत्र, जाति लगायत विविध विधामा कलम चलाइएको देखिन्छ। आञ्चलिक इतिहासलाई मूलधारको इतिहास लेखन-प्रवाहमा जोडे मात्र नेपालको सत्य र सग्लो इतिहासको अन्वेषण हुन सक्छ।
लेखक कमलप्रकाश मल्लले नेपालको इतिहासबारे भाषिक पुरातत्त्वको कोणबाट कलम चलाएका छन्। त्यस कोणबाट मन्थन गर्दा नेपालको इतिहास लेखनमा नयाँ आयाम थपिन्छ या थपिंदैन, तपाईंलाई के लाग्छ?
कुनै पनि विषयमाथि एउटै कोणबाट हेर्दा त्यसको समग्रतामाथि सम्बोधन नहुन सक्छ। जस्तै, काठमाडौंलाई लिच्छविकालमा दक्षिणी कोलीय ग्राम भनिन्थ्यो। दक्षिण कोलीय ग्राम भनिएको आधारमा नयराज पन्त, धनवज वज्राचार्यहरूले माथितिर उत्तर कोलीय ग्राम पनि छ भन्ने परिकल्पना गरे, जुन गलत हो। लिच्छविकालीन अभिलेखहरूमा उत्तर कोलीय ग्राम भन्ने शब्द नै छैन। दक्षिण शब्दको अर्थ निपुण र प्रवीण हुन्छ भने कोलीय शब्दको ‘कोल’ ले तेल पेल्ने व्यवसाय बुझाउँछ, जुन नेवार समुदायको मानन्धरहरूसँग सम्बन्धित छ। हनुमानढोका दरबार परिसरभन्दा तलका क्षेत्रमा तेल पेल्ने समुदायको बस्ती भएकाले त्यस क्षेत्रलाई दक्षिण कोलीय ग्राम भनिएको हो। अहिलेसम्म पनि त्यस इलाकामा तेल पेल्ने समुदायको अस्तित्व देखिन्छ। नेवारी भाषामा तेललाई चिकंमुुग भनिन्छ। त्यस क्षेत्रमा अहिले पनि चिकंमुग भन्ने टोल रहेकाले दक्षिण कोलीय ग्रामको ऐतिहासिक पक्ष बलियो देखिन्छ।
पछिल्लो राजनीतिक विमर्शमा को आदिवासी, को आप्रवासी भन्ने सामाजिक र राजनीतिक मुद्दाले स्थान पायो। यसबारे पुरातात्त्विक प्रमाणले के बोल्छन्?
आदिवासी र आप्रवासीको मुद्दाबारे ठम्याउन सक्ने अवस्था कसैको छैन। अहिले चोखो अर्थात् रैथाने भन्ने केही पनि छैन। यो प्रश्न कृषिबालीका सन्दर्भमा उठाउन सक्छौं। जस्तै- रातो मार्सी धान जस्ता रैथाने धान विस्थापित भएर नेपालमा नयाँ प्रजाति भित्रिएका छन्। ह्यामिल्टन र हज्सन लगायत पश्चिमी विद्वान्हरूले यहाँका नेवार समुदायलाई मंगोलियन मूलका मानेका छन्, जबकि नेवारमा कति परिवर्तन भइसकेको छ भन्नेबारे यहाँको सामाजिक, सांस्कृतिक र जातीय संरचनाको अध्ययनबाट प्रमाणित हुन्छ। यहाँ किरातहरूले शासन गरेको अभिलेख्य र वंशावली साहित्यले देखाउँछन्। यसबाट कम्तीमा पनि तीन हजार वर्षअघि यहाँ किरातको शासन थियो भन्न सकिन्छ। पछि किरातहरू लिच्छविबाट पराजित भएर भागे। भाग्न नसकेर वा अन्य कारणले यहीं बसेका किरातहरूलाई व्यञ्जनकारका रूपमा चिनिन्छ। पुरातात्त्विक वा अन्य आधारमा नेवारहरू यहाँका आदिवासी हुन् भन्न सकिन्छ।
इतिहास लेखनमा मुख्य गरी पुरातात्त्विक र अभिलेख्य प्रमाणलाई आधार बनाइन्छ, मिथक वा किंवदन्तीको भूमिका चाहिं कस्तो हुन्छ?
किंवदन्तीले पनि इतिहासलाई इंगित गर्ने भएकाले इतिहास लेखनमा यो पनि एउटा साधन हो। ऐतिहासिक दस्तावेज, अभिलेख्य र पुरातात्त्विक प्रमाण नपाउँदासम्म इतिहास लेखनमा किंवदन्ती वा अनुश्रुतिको पनि आंशिक भूमिका हुन्छ। अर्कातिर, पुरातात्त्विक र अभिलेख्य प्रमाणका पनि आफ्नै खालका सीमा र समस्या हुन्छन्। यसकारण इतिहासकारले निकै चनाखोपूर्वक ऐतिहासिक आकर र उपकरणका साथै किंवदन्तीको तुलनात्मक अध्ययन गरी सत्यको निकट पुग्ने प्रयत्न गर्नुपर्छ।
भीमसेन थापालाई नायक र गुमेको मुलुक फिर्ता ल्याउने जंगबहादुरलाई खलनायकका रूपमा चित्रण गरिंदै आएको छ। यसको कारण के होला?
बीपी कोइराला प्रधानमन्त्री हुँदा २०१६ सालतिर चीनले सगरमाथामा आफ्नो एकल दाबी गर्यो। सिमानाको इलाका भएकाले सगरमाथा दुवै देशको भएको विचार बीपीले राखे। बीपीको कुरा सुनेपछि राजा महेन्द्र उनीसँग रिसाउँदै सगरमाथा नेपालको मात्र हो भन्ने दाबी गरे। राष्ट्रिय भावनामा बहकिने राजाले पछि आफ्नै बोली काटे। पछि चीनसँग सन्धि गर्दा सगरमाथाको भूभागमध्ये तीन चौथाइ चीनमा र एक चौथाइ मात्र नेपालमा पर्नेमा उनी सहमत भए। वास्तवमा बीपीको भनाइ नै ठीक थियो। यसकारण इतिहास लेख्दा राष्ट्रिय भावनालाई त ध्यान दिनुपर्छ, साथै ऐतिहासिक वस्तुस्थिति पनि बुझेर निर्क्योलमा पुग्नुपर्छ।
अब तपाईंको व्यक्तिगत प्रसङ्गतिर जाऔं। तपाईंलाई जनसमुदायले संस्कृति शिरोमणिको उपाधि दिएको छ। राज्यले चाहिं तपाईंको योगदानलाई कति सम्मान गरेको मान्नुहुन्छ?
साँच्चै भन्दा नेपालमा सच्चा स्रष्टा र साधकको पहिचान र सही मूल्याङ्कन नै हुँदैन। लक्ष्मीप्रसाद देवकोटालाई जनसमुदायले नै महाकविको उपाधि दिएको हो। राष्ट्रले उनलाई जीवनकालमा केही पनि दिएन। अपवादमा, उनको निधनको ६ दशकपछि गत वर्ष मात्र उनको मैतीदेवीस्थित घर पुनर्निर्माण गरी उनको नाममा संग्रहालय स्थापना गरियो। यसकारण जनताले गरेको सम्मान नै साँचो सम्मान मान्नुपर्छ। सरकारले गर्ने मूल्याङ्कनमा न्याय नहुन सक्छ।
मैले एकल परिश्रम र लगानीबाट नेपालको प्राचीन अभिलेख पुस्तक लेखें। प्राचीन मुद्रा सम्बन्धी पुस्तक लेखें। यस विषयमा सबैभन्दा पहिले सत्यमोहन जोशीजीले लेखे पनि त्यो सतही खालको छ। मुद्राको विषयमा गहिराइमा लेख्ने म नै हुँ। नेपालमा कोलोफोनबारे सबैभन्दा पहिले मैले नै पुस्तक लेखेको हुँ। तीन वटा विश्वकोश एक्लैले तयार गरी प्रकाशन गरें, जुन काम अरू इतिहासकार त के सरकारी प्राज्ञिक संस्थाहरूबाट पनि हुन सकेको छैन। प्रमाण सहितको नेपाली चाडपर्वको पुस्तक पनि मैले नै लेखें। भन्नुको मतलब, सही मूल्याङ्कन कसले गरेको छ र भन्ने मेरो प्रश्न हो। तर, सरकारले गर्दैमा सम्मान हुने र जनसमुदायले गरेको सम्मानको चाहिं अर्थ नहुने भन्ने होइन।
तपाईंले सन् १९८१ देखि प्रकाशन गर्नुभएको अनुसन्धानमूलक पत्रिका रोलम्ब २००९ मा बन्द भयो। बन्द हुनुको कारण के थियो?
मैले एकल खर्च र मिहिनेतबाट तीसौं वर्षसम्म यो पत्रिका चलाएँ। यसलाई बन्द गरेपछि विश्वकोश तयार गर्नतिर केन्द्रित भएँ। पत्रिका प्रकाशनतिरै लागेको भए मैले तीन वटा विश्वकोश र अरू पुस्तक निकाल्न सक्ने थिइनँ। अहिले पनि म महाभारत विश्वकोश नामक पुस्तक तयार गर्दै छु। केही महीनापछि बजारमा आउनेछ।
पत्रिकामा लगानी गर्नु, विज्ञापन खोज्नु, लेख लेख्नु, विद्वान्हरूसँग लेख माग्नुका साथै पुस्तक प्रकाशन र बिक्रीको समेत काम एक्लै गर्नुपर्दा मैले पत्रिकालाई निरन्तरता दिन नसकेको हुँ। लेख सङ्कलन गर्न भने मलाई खासै गाह्रो भएन। लेखकहरू लेख बुझाउन आफैं आउँथे। केशरबहादुर केसी रानीपोखरीदेखि लट्ठी टेक्दै मेरो घरसम्म आएर लेख छाड्नुहुन्थ्यो। सूर्यविक्रम ज्ञवालीले नियमित रूपमा हुलाक मार्फत लेख पठाउनुहन्थ्यो। ऋषिकेश शाह र चन्द्रप्रसाद गोर्खालीले प्रत्येक अङ्कका लागि लेख दिनुहुन्थ्यो। उक्त पत्रिकाको मूल्याङ्कन गर्दै डिल्लीरमण रेग्मीले त्यस वेलाका पत्रिकाहरूमध्ये रोलम्ब सबैभन्दा उत्कृष्ट रहेको उल्लेख गर्नुभएको थियो।
तपाईंले स्थापना गर्नुभएको जोशी रिसर्च इन्स्टिच्यूट कुन अवस्थामा छ?
सक्रिय नै छ। गत वर्ष मैले यसै संस्थाको नामबाट २५ हजार रुपैयाँ राशिको पुरस्कार एक जनालाई दिएँ। यस वर्ष मेरी श्रीमतीको नाममा स्थापना गरिएको कदम पुरस्कार र जोशी पुरस्कार अर्का दुई जनालाई दिएँ।
इतिहास लेखनको तपाईंको साधनामा श्रीमतीको भूमिका कस्तो रह्यो?
मेरो लेखनकार्यमा श्रीमतीको महत्त्वपूर्ण भूमिका थियो। हामीबीचको सौहार्द सम्बन्धकै कारण लेखनमा म अहोरात्र डुब्न सकें। घरव्यवहारको व्यवस्थापन, सन्तानको शिक्षादीक्षा आदिमा उनकै भूमिका रह्यो। घरमा आउने पाहुनाहरूलाई केही न केही खुवाएर पठाउने उनको बानी थियो। मेरो जीवनमा उनी नभएको भए लेखनकार्यमा म शायदै लाग्ने थिएँ।
तपाईंले सङ्कलन गर्नुभएका पुस्तकहरूको संरक्षणबारे के सोच्नुभएको छ?
यो गम्भीर विषय हो। मकहाँ रहेका पुस्तक कुनै व्यक्ति वा संस्थालाई दिंदा उसले संरक्षण गर्ला भन्ने कुनै सुनिश्चितता छैन। म भएसम्म आफैं संरक्षण गर्छु। मकहाँ अध्ययनका लागि आउनेहरूलाई सकेको सहयोग गरी नै रहेको छु।
सानैदेखि म विभिन्न पत्रिका पढ्थें, जसका कारण लेखनमा रुचि बस्यो। राजनीतिमा पनि झुकाव रह्यो। कुनै अमुक पार्टीमा मेरो सामान्य झुकाव रहे पनि पछिल्लो कालका राजनीतिप्रति मेरो वितृष्णा छ।