कल बाइपास गरेको आरोपमा तीन युवक पक्राउ
प्रहरीले कल बाइपास गरेको आरोपमा कञ्चनपुरबाट तीन जनालाई पक्राउ गरेको छ।
पाँचतले घरको एउटा कोठा भाडामा लिएर कल बाइपास गरेको प्रहरीको आरोप छ। पक्राउ पर्नेमा गुल्जर मोहम्मद, प्रवीण खड्का र दीपकसिंह बोहरा छन्।
मोहम्मद भारतीय नागरिक हुन् भने खड्का र बोहरा कञ्चनपुरकै बासिन्दा हुन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई साउन १० गते नियन्त्रणमा लिएको हो।
यो समूहले पाँचतले घर भाडामा लिएर गत चार महीनादेखि कल बाइपास गर्दै आएको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ। प्रहरीले कल बाइपास गर्न प्रयोग गरिएका उपकरण समेत बरामद गरेको छ।
कल बाइपासमा विदेशबाट आएको फोन नेपालकै नम्बरबाट आएको देखाउँछ। कल बाइपास गर्नेहरूले नेपाल भित्रिने अन्तर्राष्ट्रिय कललाई गेटवेभन्दा बाहिरबाटै भित्रिने र बाहिरिने बनाइदिन्छन्। यसो गर्दा नेपाल सरकारको राजस्व गुम्ने गरेको छ।
आपराधिक गिरोहले पनि कल बाइपासको फोन प्रयोग गर्ने गरेको छ।