तीन महीनामै अग्ला १४ हिमालको आरोहण
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो के-टू हिमालको सफल आरोहण गरेसँगै कीर्तिमान कायम गरेका छन्।
क्रिस्टिन र तेन्जिङले पाकिस्तानमा रहेको के-टू हिमाल ब्रोडपिक (८,६११ मिटर)को आज बिहान १०:४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ।
के-टू हिमालको सफल आरोहणसँगै क्रिस्टिन र तेन्जिङले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन्। उनीहरूले तीन महीना १४ हिमालको सफल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले बताए। यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महीना ६ दिनमा १४ हिमाल आरोहण गरेका थिए।
क्रिस्टिन र तेन्जिङले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चार महीनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए। क्रिस्टिन यसअघि आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिइन्।
क्रिस्टिन र तेन्जिङले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो-ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र के-टू हिमालको सफल आरोहण गरिसकेका छन्।