तोरी खेती गर्ने किसानलाई प्रोत्साहन भत्ता
खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई प्रोत्साहन प्रदान गरेको छ।
तोरी खेती गर्ने २२२ किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष समीर राईले बताए। उनका अनुसार एक पाथी तोरी बराबर २५० रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरिएको हो।
गाउँपालिका अध्यक्ष संयोजक रहेको अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिशका आधारमा कृषक, कृषि फर्म र कृषक समूहलाई अनुदान उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख साइमन गुरुङले बताए। उनीहरूलाई वडा कार्यालय मार्फत आठ लाख ९९ हजार ५०० रुपैयाँ वितरण गरिएको गुरुङले बताए।
व्यावसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउन प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपलिकाले जनाएको छ। किसानलाई व्यावसायिक रूपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष राईले बताए।
सात वटा वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुन्छ। कतिपय किसानले तेलकै लागि केही मात्रामा तोरी लगाउने गरेका छन्। हालको जनसंख्यालाई आधार मान्दा केपिलासगढीमा वार्षिक साढे ६ करोडदेखि सात करोड रुपैयाँको हाराहारीमा खाने तेल भित्रिने गरेको छ।
खाने तेल खरीद बापत पालिकाबाट बाहिरिने रकम रोक्ने र तेल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर कृषकलाई तोरी खेती प्रोत्साहन अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए। “प्राङ्गारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौं। विशेषगरी युवा किसानलाई स्वरोजगार बनाउने हाम्रो अभियान हो,” अध्यक्ष राईले भने, “कृषिलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्दै गरीबी घटाउने गाउँपालिकाको योजना हो।”