मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ।
बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भई आएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको हो।
राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव राखेका थिए।
त्यसलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत विधेयक ध्वनिमतका आधारमा पारित गरिएको घोषणा गरेका थिए। “हुन्न भन्ने आवाज सुनिएन, तसर्थ ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु,” तिमिल्सिनाले भने।
यसअघि राष्ट्रिय सभाको पहिलो बैठकमा प्रतिनिधि सभाबाट पारित भई सन्देश सहित प्राप्त ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ बैठकमा टेबल भएको थियो। विधेयक टेबल गर्नुअघि मन्तव्य दिंदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गुरुङले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रूपमा विधेयक ल्याउनुपरेको बताएका थिए।
अनुचित लेनदेनलाई कानूनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए।