एनएमबी ब्यांकबाट १५ लाख लुट्ने भारतीय युवक पक्राउ
चार-पाँच जनाको समूहमा आएका लुटेराहरूले ब्यांकका कर्मचारी र सेवाग्राहीलाई कब्जामा लिएर १५ लाख लुटेका थिए।
महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी ब्यांकमा लूटपाट गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते ब्यांकबाट रु.१५ लाख लुटिएको थियो। उक्त घटनामा साफी संलग्न थिए।
चार-पाँच जनाको समूहमा आएका नकाबधारीले ब्यांकका कर्मचारी तथा सेवाग्राहीलाई कब्जामा लिएर सो रकम लुटेका थिए। डकैती गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए।
साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका-८ स्थित नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो। लूटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। चाँडै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।