प्रमुख निर्वाचन आयुक्तलाई महाअभियोग लगाउन जसपा सांसदको माग
निर्धारित मितिमा चुनाव खर्च विवरण सार्वजनिक नगरेका उम्मेदवारलाई जरिवाना तोकेको भन्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउन माग गरेका छन्।
खर्च विवरण सार्वजनिक नगरेका यादव सहितका उम्मेदवारहरूलाई आयोगको साउन १ मा बसेको बैठकले जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। जरिवाना तोकेर आयोगले आफ्नो चरित्र हत्या गरको भन्दै यादवले यस्तो माग गरेका हुन्।
“कानूनको आफैं व्याख्या गरेर निर्वाचन आयुक्तले जरिवाना तोकेका छन्। त्यो खेदजनक छ,” यादवले प्रतिनिधि सभा बैठकमा भने, “प्रमुख निर्वाचन आयुक्तलाई माफी माग्न अनुरोध गर्दछु। माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई मानहानि मुद्दा ठोक्नुपर्छ कि महाअभियोग लगाउनुपर्छ।”
आयोगले गत वर्षसम्म सम्पन्न निर्वाचनमा खर्च विवरण सार्वजनिक नगरेका प्रतिनिधि सभातर्फ एक हजार ३७ जना र प्रदेश सभातर्फ एक हजार ३९८ जना उम्मेदवारको विवरण सार्वजनिक गरेपछि यादवले यस्तो धारणा सार्वजनिक गरेका हुन्।