धेरै आलोचना होला भन्ने लागेको थियो, कम भयो: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकमा सोचेभन्दा कम आलोचना भएको बताएका छन्।
बुधबार साँझ केन्द्रीय कार्यसमितिको बैठक समापन गर्दै देउवाले आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए। “धेरै आलोचना होला भन्ने लागेका थियो, तर कम आलोचना भयो। यसका लागि धन्यवाद!” देउवाले भने।
सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे। बैठकमा धेरै विषयमा जीवन्त छलफल भएको उनको भनाइ थियो।
कांग्रेस कोहीभन्दा कम छैन भन्ने प्रस्ट भएको उनको जिकिर थियो। देउवाले भने, “आज दुनियाँलाई थाहा भयो कि नेपाली कांग्रेसमा कोहीभन्दा कोही कम छैन भनेर।”
बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्ने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो। सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए।