बागमतीका मन्त्री भन्छन्- मन्त्री भए जस्तो नै लाग्या छैन
नियुक्त भएको दुई महीना बितिसक्दा पनि कुनै जिम्मेवारी नपाएपछि बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मन्त्री भए जस्तै नलागेको बताएका छन्।
गत जेठ ७ मा मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दा चित्रकार पनि मन्त्री बनेका थिए। अन्य ११ जनालाई जिम्मेवारी दिइएको भए पनि उनलाई पछि जिम्मेवारी दिने तय गरिएको थियो। तर, दुई महीना बितिसक्दा पनि उनले जिम्मेवारी पाएका छैनन्।
पटक पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराए पनि जिम्मेवारी नपाएको उनले गुनासो गरे। मन्त्री भएको दुई महीनासम्म कुनै जिम्मेवारी नपाउँदा नमीठो लागेको उनको भनाइ छ। “मन्त्री भए जस्तो नै लाग्या छैन,” चित्रकारले हिमालखबरसँग भने, “मुख्यमन्त्रीलाई जिम्मेवारी पाऊँ भनी पटक पटक आग्रह गरिसकें, कतै सुनुवाइ भएन।”
उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै एउटा कोठा दिइएको छ। एक जना स्वकीय सचिव, एक जना अधिकृत स्तरका कर्मचारी (निजी सचिव) र एक जना पीएसओ उपलब्ध गराइएको छ। मन्त्री भएपछि सजिलो-गाह्रो के भइरहेको छ भन्ने प्रश्नमा मन्त्री चित्रकारले भने, “कामको जिम्मेवारी नै दिइएको छैन, सजिलो र गाह्रोका कुरै भएन। स्वकीय सचिव र सुरक्षाकर्मी लिएर मात्रै के बस्नु!”
यो बीचमा प्रदेश सरकारले बजेट ल्याएको छ। सबै मन्त्रीले आआफ्नो मन्त्रालयको बजेट बनाए भने आफ्नो क्षेत्रमा योजना पार्न पनि सफल भए तर उनी भने कतै देखिएनन्। “मन्त्री बनियो, तर खै के भयो,” चित्रकारले भने, “हालसम्म न बजेट निर्माणमा सहभागी हुन पाएँ न त कुनै निर्णायक भूमिका निर्वाह गर्न पाएँ।”
मुख्यमन्त्री जमकट्टेलले सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबन्डा नमिल्दा लामो समय मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्। भागबन्डा मिलेपछि नियुक्त मन्त्रीलाई पनि जिम्मेवारी दिन सकेका छैनन्।
कांग्रेसले भौतिक मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिन सुझाव दिएको थियो। भौतिक मन्त्रालय विभाजन गरेर शहरी विकास मन्त्रालय निर्माण गरी जिम्मेवारी दिनुपर्ने कांग्रेसको मत थियो। बजेटको हिसाबले पनि भौतिक पूर्वाधार मन्त्रालय फुटाउनु उचित हुने कांग्रेस संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाको भनाइ छ।
“हामीले भौतिक मन्त्रालय विभाजन गरी शहरी विकास मन्त्रालय निर्माण गर्न प्रस्ताव गरेका थियौं,” लामाले भने, “अहिले कुल बजेटको ३४ प्रतिशत बजेट भौतिक मन्त्रालयमा छ। बजेटको हिसाबले पनि सो मन्त्रालय विभाजन गर्दा राम्रो हुने देखिन्छ।”
तर, नेकपा (माओवादी केन्द्र)ले यसमा असहमति जनाएको छ। कांग्रेसले प्राप्त गरेको पाँच मन्त्रालयबाटै विना विभागीय मन्त्रीको व्यवस्थापन गर्नुपर्ने मुख्यमन्त्री जमकट्टेलसहित माओवादीको भनाइ छ। पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट उद्योग मन्त्रालय बनाउनुपर्ने माओवादीको मत छ।
यसमा कांग्रेस र माओवादीबीच सहमति नहुँदा मन्त्री चित्रकार दुई महीनादेखि जिम्मेवारीविहीन छन्। आउने र जाने मात्रै काम भइरहेको उनले गुनासो गरे।