नेपाली क्रान्तिको कार्यदिशा लगायत यस्ता छन् एकीकृत समाजवादीका निर्णय
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले नेपाली क्रान्तिको कार्यदिशाबारे स्पष्ट पार्ने लगायत विभिन्न निर्णय गरेको छ।
काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालयमा ६ दिनसम्म चलेको केन्द्रीय सचिवालय बैठकले पाँच वटा निर्णय गरेको छ भने १० वटा प्रस्ताव पारित गरेको छ। बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने निर्णय भएको महासचिव घनश्याम भुसालले जनाएका छन्। यससँगै एमसीसी कार्यान्वयनका विषयमा संसदीय अनुगमन समिति गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
त्यस्तै, समाजवादी मोर्चा, नेपालबारे पनि निर्णय गरेको छ। सैद्धान्तिक र राजनीतिक मतभिन्नता भए पनि साझा मुद्दामा सहकार्य गर्न मोर्चा बनाइएको एकीकृत समाजवादीले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीको सचिवालय बैठकले नेपाली क्रान्तिको कार्यदिशाबारे पनि स्पष्ट पारेको छ। एकीकृत समाजवादीले भनेको छ, ‘नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा भावी नेपाली क्रान्तिको कार्यदिशा समाजवादी हो भन्ने कुरामा पार्टी स्पष्ट छ। लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समान्तवाद विरुद्ध जनताको बहुदलीय जनवादका विशेषताका रूपमा अगाडि सारिएका माग, नारा र मान्यताहरू संविधानमा संस्थागत भइसकेका छन्। आज पनि कम्युनिस्ट पार्टी लोकतान्त्रिक प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न चाहन्छ भन्ने मान्यताका रूपमा जनताको बहुदलीय जनवाद सान्दर्भिक छ भन्ने कुरामा पार्टी स्पष्ट छ।’
यससँगै सचिवालय बैठकले साउन १६ र १७ मा स्थायी कमिटी, साउन १८ र १९ मा पोलिटब्यूरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा गर्ने पनि तय गरेको छ।