२७ वर्षदेखि तिर्खा मेटाइरहेका ‘पानी बा’
खानेपानी सुविधा पुर्याउन अहोरात्र खटेर उपभोक्ताको मन जितेका ‘पानी बा’ देवीबहादुर डिसी लगातार सातौं कार्यकाल संस्थाको नेतृत्व गरिरहेका छन्।
उपभोक्ताको धारामा पानी आएन- पानी बा!
कसैको धारा बिग्रियो- पानी बा!
‘पानी बा’ अर्थात् देवीबहादुर डिसीको हरेक दिन दाङको घोराही बजारमा खानेपानी व्यवस्थापन गर्नमा बित्छ। ७५ वर्षको उकालोमा हिंडिरहेका छन् उनी, तर उत्साह र फूर्तिमा कुनै कमी देखिंदैन। उपभोक्ताको घरघरै पुगेर धारा र खानेपानीको खबर लिइरहन्छन्।
धारामा पानी आएन वा धारा बिग्रिएमा उपभोक्ता सीधै उनलाई फोन गरेर ‘पानी बा, हेरिदिनुस् न’ भन्दै गुहार्छन्। उनी उपभोक्ताकै घरमा पुग्छन्, समस्या हेर्छन् र तुरुन्तै प्राविधिकलाई बोलाएर समाधान गराउँछन्।
२०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा आबद्ध भएपछि डिसी घोराहीवासीलाई पानी खुवाउन समर्पित भएका हुन्। उनी सातौं पटक संस्थाको अध्यक्ष पद सम्हालिरहेका छन्। आफूहरूलाई पानी खुवाउन अनवरत लागेका कारण उपभोक्ताले नै उनलाई नाम दिए- पानी बा।
जनताको काम गरेर उनीहरूबाटै विशेष नाम पाउँदा खुशी लाग्ने उनी बताउँछन्।
“खानेपानीको क्षेत्रमा मेरो लामो समयदेखिको लगाव र योगदानको कदर गरेर उपभोक्ताले यो उपाधि दिएको हुनुपर्छ, यसमा दङ्ग छु,” उनी भन्छन्।
डिसी खानेपानीको क्षेत्रमा लाग्नुअघि पनि मानिसहरू समस्या लिएर उनीकहाँ पुग्थे। २०३५ सालदेखि सात वर्षसम्म वकालत पेशा गरेका उनी त्यस वेलाका रोजाइका वकील थिए। विगतमा शिक्षण पेशा पनि अँगालेका उनले पाँच वर्ष हेडमास्टर भएर काम गरेका थिए।
उपभोक्ताका सधैंका रोजाइ
२०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापना भयो। स्थापनाकालदेखि नै संस्थामा आबद्ध भएका डिसी औपचारिक रूपमा भने २०५४ सालमा संस्थाको सदस्य बने।
दुई कार्यकाल सदस्य भएर काम गरेका उनी २०६० सालमा अध्यक्ष पदका लागि निर्वाचनमा होमिए। पहिलो प्रयासमै उनी निर्वाचित भए। उनका अनुसार त्यस वेला आफ्नै दल नेपाली कांग्रेसका नेता राजु खनाललाई हराउँदै अध्यक्ष भएका थिए।
त्यसयता संस्थामा निरन्तर निर्वाचित हुँदै आएका छन्। कहिले दलले टिकट दियो, कहिले स्वतन्त्र उठे। २०६० र २०६६ सालमा स्वतन्त्रबाट उठेका थिए भने २०६३ र २०६९ मा निर्विरोध भए। पछिल्लो पटक २०७९ असारमा भएको निर्वाचनमा जितेर सातौं कार्यकाल सम्हालिरहेका छन्।
लामो समयसम्म एउटै व्यक्ति नेतृत्वमा आइरहेपछि २०६६ सालमा सबै राजनीतिक दल एकजुट भएर उनलाई रोक्ने कोशिश गरेका थिए। तर, सकेनन्। उनी भन्छन्, “कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सहितका शक्ति मिलेर दलका उम्मेदवार उठाए तर उपभोक्ताहरूले तिनलाई तह लगाएर मलाई रोजे।”
एकपछि अर्को चुनाव जित्दै आउँदा उनले कामबाट सबैको मन जितिरहेका छन्। जसले गर्दा उपभोक्ताले उनलाई छोड्नै मान्दैनन्। “हामीलाई पानी खुवाउने तपाईं नै हो भन्छन्। त्यसैले उपभोक्ताको इच्छा पूरा गर्न पनि नेतृत्वमा आइरहन्छु,” उनी भन्छन्।
विपन्नका लागि सार्वजनिक धारा
घोराही उपमहानगरपालिकाको जनसंख्या दुई लाख पाँच हजार छ। बजार क्षेत्रलाई लक्षित गरी सञ्चालित संस्थाको आयोजनाबाट आठ हजार उपभोक्तालाई खानेपानी वितरण गरिरहेको अध्यक्ष डिसी बताउँछन्। यी उपभोक्ता अन्तर्गत करीब ८० हजार जनसंख्याले खानेपानीको सुविधा पाइरहेको छ।
यस्तै, विपन्न परिवार र समुदायलाई लक्षित गरेर नि:शुल्क सार्वजनिक धारा जडान गरिएको छ। “घोराहीका कुनै पनि नागरिकले खानेपानीबाट वञ्चित हुन नपरोस् भनेर ६५ ठाउँमा सार्वजनिक धारा जडान गरेका छौं,” उनी भन्छन्।
संस्थाको स्थापनायता विभिन्न संघसंस्थाको सहयोगमा २३ वटा डिप बोरिङ खनिएको छ। आफू सदस्य हुँदा पाँच वटा र अध्यक्ष भएपछि आफ्नै पहल र नेतृत्वमा १८ वटा डिप बोरिङ खनिएको उनी बताउँछन्। १८ वटा डिप बोरिङका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै एशियाली विकास ब्यांक लगायतले सहयोग गरेका थिए।
४० वर्षसम्मको योजना
घोराही बजारक्षेत्रमा अहिले पानीको कुनै दु:ख छैन। तर, पछिल्लो समय सबैतिर मुहान सुकेर पानीको हाहाकार भइरहँदा जनघनत्व बढिरहेको घोराहीमा पनि बिस्तारै पानीको अभाव निम्तिन सक्छ। यही समस्या विचार गरेर घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विकल्पमा काम गर्न थालिसकेको छ। यसका लागि दीर्घकालीन योजना अगाडि बढाएको अध्यक्ष डिसी बताउँछन्।
बबईबाट लिफ्टिङ गरेर पानी ल्याउने संस्थाको योजना छ। तीन वर्षमा बनाइसक्ने गरी शुरू गरिएको आयोजनामा ५० करोड रुपैयाँ लगानीमा काम भइरहेको उनी बताउँछन्।
“बबईमा पाँच वटा डिप बोरिङ खनिसकेका छौं, त्यहाँबाट घोराहीसम्म पाइप बिछ्याउने काम भइरहेको छ,” उनी भन्छन्, “यो काम सम्पन्न भएमा यहाँका उपभोक्ताले ४० वर्षसम्म ढुक्क भएर खानेपानी पाउनेछन्।”
बबईबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड १२० देखि १३० लिटरसम्म पानी ल्याउने उनको योजना छ। आयोजना सम्पन्न भएपछि तीन लाख मानिसलाई खानेपानी खुवाउन सकिने डिसी बताउँछन्।