सुन तस्करीलाई लिएर संसद्मा गृहमन्त्रीको राजीनामा माग
करीब एक क्विन्टल सुन तस्करी प्रकरणमा सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सचेतक बर्तौलालाई बोल्न समय दिएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास गरेर कसरी सुन बाहिरियो भन्दै बर्तौलाले प्रश्न गरे। उनले यसमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए।
सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न पनि माग गरे। यसमा संसदीय छानबिन समिति गठन नगरिए प्रतिनिधि सभाको बैठक अगाडि बढ्न नदिने उनको भनाइ थियो।
त्यस्तै, नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी सामान्य विषय नभएको बताए। उनले यसमा विभागीय मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए। उनले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले छानबिन टुङ्गो नलागेसम्म राजीनामा दिनुपर्ने माग गरे।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले करीब १०० किलो सुन तस्करी सामान्य विषय नभएको बताए। उनले सेटिङमा सुन तस्करी भएको जिकिर गरे। यसमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने उनको माग थियो।