सुन तस्करी प्रकरणका भरिया होइन, मुख्य मान्छे समाऊ: एमाले
नेकपा (एमाले) ले करीब १०० किलो सुन तस्करी प्रकरणका प्रमुख दोषीलाई समाउन माग गरेको छ।
संघीय संसद् भवनमा बुधबार बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन गरेर असली दोषी पत्ता लगाउनुपर्ने निर्णय गरेको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।
बैठकको निर्णय सुनाउँदै उनले भने, “भरियालाई मात्रै होइन, मुख्य मान्छेलाई पक्राउ गरेर दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई जनता समक्ष सार्वजनिक गर्नुपर्दछ।”
गृहमन्त्रीको राजीनामा माग्ने निर्णय भएको हो भन्ने प्रश्नमा भने पन्तले खुलेर जवाफ दिएनन्। उनले भने, “सरकारको जवाफ कस्तो आउँछ, थप कुरा त्यसपछि थाहा हुन्छ।”
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका थिए। यति ठूलो मात्रामा सुन सानोतिनो संलग्नतामा तस्करी हुन नसक्ने उनको जिकिर थियो।