कर्मचारी नहुँदा रोकियो नागरिकता वितरण
१६ दिनदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण जस्ता सेवा रोकिंदा सर्वसाधारण मारमा परेका छन्।
खोटाङको खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरणको काम रोकिएको छ। गृह मन्त्रालयले शाखा अधिकृत वा कायमुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण र सिफारिश लगायतका सेवा रोकिएको हो।
खोटेहाङ गाउँपालिका-७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन्। हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारण पैदलै दिक्तेल पुगेर सेवा लिन बाध्य छन्।
इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले सिनियर नासु मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको थियो। ६/६ महीनाका लागि दिइने कायममुकायमको म्याद असार २६ गते सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा सेवा प्रभावित भएको हो।
मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने इलाका प्रशासन कार्यालयका नासु लक्ष्मी ढकालले बताए।
“न अर्को कर्मचारी पठाउँछ न भइरहेको कर्मचारीलाई कामु दिन्छ,” ७ नम्बर वडाका वडाध्यक्ष शिवप्रसाद फुयाँलले भने, “सेवा लिन पुगेका नागरिकलाई दिक्तेल पठाइरहेको छ। यहाँ इलाका प्रशासन कार्यालय नै नभए जस्तो भइरहेको छ।”
जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई मध्यनजर गर्दै खोटाङ बजारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो।