२९औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई
शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील ४५ वर्षीया खातुनलाई साउन १६ गते एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिने छ।
यस वर्षको ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई प्रदान गरिने भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कार्यसमितिको २०८० साउन ९ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशका आधारमा खातुनलाई पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको इन्सेकका अध्यक्ष कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुन शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहेको उल्लेख छ।
२०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ।
नेपालको राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायतका क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई ‘प्रकाश स्मृति दिवस’ को अवसर पारेर पुरस्कृत गर्ने गरिएको छ। पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार स्व. विनयकुमार कसजू, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा लगायत २८ जना सम्मानित भइसकेका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा २०८० साउन १६ गते ललितपुरको स्टाफ कलेजमा एक कार्यक्रमका बीच खातुनलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि इन्सेकले जनाएको छ। पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्र सहित ५० हजार नगद प्रदान गरिन्छ।