बर्खास्त भए चिनियाँ विदेश मन्त्री
करीब एक महीनादेखि सार्वजनिक रूपमा देखा नपरेका चीनका विदेश मन्त्री छिन काङ पदमुक्त भएका छन्।
चिनियाँ सरकारले उनको स्थानमा यसअघिका विदेश मन्त्री वाङ यीलाई नै नियुक्त गरेको छ। चीनको व्यवस्थापकीय अङ्ग ‘न्याशनल पिपल्स कंग्रेस’ को ‘स्थायी समिति’ को विशेष बैठकले काङलाई विदेश मन्त्रीको पदबाट मुक्त गरिएको जनाएको छ।
केकति कारणले उनलाई पदमुक्त गराइएको हो भन्ने चाहिं खुलाइएको छैन। काङ सार्वजनिक जीवनमा देखा पर्न छोडे लगत्तै स्वास्थ्यका कारण अनुपस्थित भएको भनिए पनि यो निर्णय गर्ने क्रममा चिनियाँ अधिकारीहरूले उनी कहाँ छन् भन्ने खुलाएका छैनन्।
१७५ सदस्यीय स्थायी समिति चीनको वास्तविक संसद् हो। वर्षमा एक पटक हुने न्याशनल पिपल्स कंग्रेसको अधिवेशन बाहेक अरू वेला यसैले व्यवस्थापिकाको काम गर्छ। हरेक दुई महीनामा हुने स्थायी समितिको बैठक आउँदो अगस्टमा हुनेवाला थियो। नियमित कार्यतालिका विपरीत यो बैठक भएको हो।
संयुक्त राज्य अमेरिकाका लागि चीनका पूर्व राजदूत समेत रहेका काङ चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट ठानिन्छन्। गत डिसेम्बरमा वरिष्ठ नेताहरूलाई पन्छाउँदै उनलाई विदेश मन्त्री बनाइएको थियो।
विदेश मन्त्रीबाट हटाइए पनि काङ चीनको मुख्य प्रशासकीय संरचना ‘स्टेट काउन्सिल’ मा निश्चित पद विना रहनेछन्। भविष्यमा उनी चीनको विदेश मामिलामा जोडिनेछन् या छैनन् भन्ने खुलाइएको छैन।
अक्सफोर्ड विश्वविद्यालयमा चिनियाँ राजनीतिका प्राध्यापक प्याट्रिसिया थोर्नटनका अनुसार काङ स्टेट काउन्सिलमा रहिरहनुले उनीबारे अनुसन्धान भइरहेको तर उनलाई विदेश मन्त्रीबाट हटाउन आवश्यक आधार सिर्जना भइसकेको बताउँछ।
२५ जूनमा श्रीलंकाका विदेश मन्त्रीसँग बेइजिङमा भएको बैठकपछि काङ सार्वजनिक जीवनमा देखा परेका छैनन्। धेरैजसो विश्लेषकहरूले उनको अनुपस्थितिमा स्वास्थ्यको कारण रहेको भनेर शङ्का गरेका छन्। उनको अनुपस्थितिबारे वाङ यीसँगको शक्ति संघर्ष र एक जना टेलिभिजन प्रस्तोतासँगको सम्बन्ध जस्ता अफवाह फैलिएको छ।
सोत: द गार्जियन