ओपनहाइमर: परमाणु बमका पिताको पश्चात्ताप
ओपनहाइमरको जीवनमा यस्तो कालखण्ड पनि आउँछ, उनी अमेरिकामै जापान देख्न थाल्छन्। जापानीहरू परमाणु बमको आगोमा जलिरहँदा ओपनहाइमर पश्चात्तापको आगोमा जलेका हुन्छन्। उनी आफ्नो उपलब्धिमा ग्लानिबोध गर्छन्।
दोस्रो विश्वयुद्धमा संसारभर ६ करोड ५० लाखभन्दा बढी मानिसको ज्यान गएको थियो। यीमध्ये करीब चार लाख अमेरिकी नागरिक थिए। शुरूमा अमेरिका युद्धमा सहभागी थिएन। अमेरिकाको सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यले पर्ल हार्बरमा जापानले बमवर्षक र युद्धक विमानबाट विनाश मच्चाएपछि ऊ युद्धमा होमिएको थियो।
त्यही बदलाको उत्कर्ष थियो, सन् १९४५ अगस्टमा जापानका शहर हिरोशिमा र नागासाकीमा परमाणु बम आक्रमण। मानव इतिहासकै सर्वाधिक कलङ्कित उक्त घटनामा करीब दुई लाख मानिसको मृत्यु भएको थियो।
उसो त युद्धमा सबै कुरा जायज मानिन्छ। तर, हिरोशिमा र नागासाकीको नरसंहारपछि यदाकदा बाहेक संसारले युद्ध टार्दै आएको छ। पछिल्लो उदाहरण हो- डेढ वर्ष यता रूस-युक्रेनबीच युद्ध भई उत्कर्षमा पुग्दा पनि तेस्रो मुलुक प्रत्यक्ष संलग्न नहुनु।
दोस्रो विश्वयुद्धकै समयमा परमाणु बम बनाउने अमेरिकी वैज्ञानिकको जीवनको आरोह-अवरोहमा बनेको चलचित्र हो, ओपनहाइमर। यसमा एउटा भौतिकशास्त्रीको उदय, उत्साह, ऊर्जा, उफान र उपहासको कथा छ।
वर्तमान समयका उत्कृष्ट चलचित्र निर्देशक क्रिस्टोफर नोलनले निर्देशन गरेको ओपनहाइमरमाथि समीक्षा गर्नु उति न्यायपूर्ण हुँदैन। त्यसैले यो लेख ओपनहाइमर हेरेपछि उद्वेलित विचारको समष्टि मात्र हो।
नोलनको ‘सिग्नेचर स्टाइल’
परमाणु बमका पिता मानिने जे. रोबर्ट ओपनहाइमरको जीवन कथातत्त्वले भरिपूर्ण थियो। काइ बर्ड र मार्टिन जे. शेर्विनले उनको जीवनी अमेरिकन प्रमिथस: द ट्रायम्प एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपनहाइमर (सन् २००५) लेखेका थिए। यसैमा आधारित भई नोलनले नन्-लिनियर कथ्य शैलीमा चलचित्र बनाए, आफ्नै ‘सिग्नेचर स्टाइल’ मा।
नोलनले सन् १९५४ को ‘ओपनहाइमरबारे सुरक्षा सुनुवाइ’ को घटनाबाट चलचित्रको उठान गरेका छन्। ओपनहाइमरको जीवनको उत्तरार्द्धलाई चलचित्रको पूर्वार्द्ध बनाइएको छ। सुरक्षा सुनुवाइ ओपनहाइमरको जीवनको यस्तो मेरुदण्ड हो, जसमा उनको पृष्ठभूमि, उदय, उपलब्धि सबै कुराको परख गरिएको छ। ओपनहाइमर यस्ता थिए, यसो यसो गरे नभनी नोलनले उनी खासमा के थिए भनेर चियाउन दर्शकलाई नै आँखीझ्याल दिएका छन्। ओपनहाइमरको भूमिकामा अभिनेता सिलियन मर्फी छन्।
नोलनले चलचित्रको कथा भन्न ‘फिसन’ र ‘फ्यूजन’ भनिने विज्ञानको सिद्धान्तको सहारा लिएका छन्। ओपनहाइमरको सुनुवाइलाई फिसन नाम दिएका छन्। अर्थात् घटनाक्रम छरिंदै जान्छन्।
लेविस स्ट्रस (रोबर्ट डाउनी जुनियर)को सुनुवाइ पनि चलचित्रमा समानान्तर रूपमा देखाइन्छ। यसलाई निर्देशकले फ्यूजन नाम दिएका छन्। अर्थात् घटनाक्रम एकीकृत हुँदै जान्छन्।
यो प्रयोगले स्ट्रस र ओपनहाइमरबीचको मतभिन्नतालाई पनि प्रस्ट पार्छ। यी दुई पात्र कथाका दुई धार हुन् भन्ने कुरा नभनेरै व्यक्त गर्छन् नोलन।
नोलनको शैलीले सुनुवाइ कक्षमा भएका दर्शकलाई छिनभरमै न्यू मेक्सिकोको मरुभूमिमा पुर्याउँछ। भर्खरै आफू विरुद्ध लागेको आरोप खण्डन गर्दै गरेका ५० वर्षीय ओपनहाइमर केही बेरमै बर्क्लीमा पढाउँदै गरेका २५ वर्षीय लेक्चरर बन्छन्। चलचित्रले दर्शकलाई रोटेपिङ खेले जस्तै बनाउँछ- हरेक पटक माथि जाँदा अब के होला भन्ने गह्रुँगो उत्सुकता पैदा गराउँदै हरेक पटक तल खस्दा वजनहीन यथार्थ भेट्दा पनि रमाइलो लागे जस्तै।
चलचित्रको सबैभन्दा मार्मिक दृश्यपटल ‘मानव जातिले कहिल्यै नदेखेको शान्ति स्थापना गर्न’ तयार पारिएको बमले यसका निर्माता ओपनहाइमरलाई कतिसम्म अशान्त बनाएको थियो भन्ने हो। ओपनहाइमरको मनोभावको चित्रणमा निर्देशकले भरपूर खेलेका छन्। हुन त उत्कृष्ट निर्देशक पनि तिनै हुन् जसले पर्दामा व्यक्ति होइन व्यक्तित्व देखाउँछन्। चलचित्रमा जहाँ जहाँ ओपनहाइमर देखिएका छन्, त्यहाँ त्यहाँ स्थूल शरीर होइन मनोभाव नै प्रस्ट देखिएको छ। कहिले स्त्रीलम्पट ओपनहाइमर, कहिले प्रगतिशील ओपनहाइमर।
एकैछिनअघि ‘डेटोनेटर्स चार्ज्ड’ भन्दा उत्सुक र आशावान् देखिएका ओपनहाइमर सेकेन्ड पनि बित्न नपाउँदै विस्फोटपछि शून्य बराबरको बिन्दुमा पुग्छन्। बमको प्रभाव ठूलो हुन सक्ने भन्दै सुझाव दिन पुगेका ओपनहाइमरलाई सैनिकले जब ‘यहाँबाट हामी सम्हाल्छौं’ भन्छन्, तब एकैछिनअघि महान् ठानिएका ओपनहाइमर तत्कालै भुइँमान्छेमा परिणत भइसक्छन्।
डेटोनेटर दबाउँदा पृथ्वी नै ध्वस्त हुन सक्ने ‘करीब शून्य’ सम्भावना (अर्थात् ध्वस्त हुन पनि सक्ने)लाई समेत बेवास्ता गर्न सक्ने आँटी ओपनहाइमर एकाएक ‘मेरो हातमा रगत पोतिएको छ’ भन्दै अमेरिकी राष्ट्रपतिसँग गुनासो पोख्ने स्थितिमा पुग्छन्।
एकै व्यक्तिका दुई विपरीत मनोभाव र व्यक्तित्वको दृश्याङ्कन तथा सामञ्जस्य चलचित्रमा यसरी प्रस्तुत भएको छ, चलचित्र हेरे जस्तो नभई घटना प्रत्यक्ष हेरिरहे जस्तो लाग्छ।
‘प्रमिथसले देवताबाट आगो चोरेर मानिसलाई दिए। यसका लागि उनलाई अनादिकालसम्म यातना दिइयो।’ चलचित्रको पहिलो फ्रेममै देखिने यो वाक्यांश नै करीब तीन घण्टे चलचित्रको ‘वान लाइनर’ हो।
ओपनहाइमरले परमाणु बम बनाएर मानिसलाई आफैंलाई ध्वस्त पार्ने शक्ति दिए। र, यसका लागि उनी आजीवन ग्लानिमा बाँचे। यसको सङ्केत गर्दै ओपनहाइमरलाई अल्बर्ट आइन्स्टाइनले पहिल्यै भनेका थिए, “आफ्ना उपलब्धिहरूको परिणामसँग जुध्न अभ्यस्त हुनू।”
नभन्दै ओपनहाइमरको जीवनमा यस्तो कालखण्ड पनि आउँछ, उनी अमेरिकामै जापान देख्न थाल्छन्। जापानीहरू परमाणु बमको आगोमा जलिरहँदा ओपनहाइमर पश्चात्तापको आगोमा जलेका हुन्छन्। उनी आफ्नो उपलब्धिमा ग्लानिबोध गर्छन्।
बम बर्साएको, युद्ध अन्त्य गराएको खुशीयालीमा ओपनहाइमरलाई सार्वजनिक मञ्चमा सम्बोधनका लागि बोलाइँदा उनी सामुन्नेका मान्छेलाई परमाणु बमले भस्म भइरहेको देख्छन्। उनको खुट्टाले खरानी भएको मानिसको करङमा टेक्छ। यहाँनिर निर्देशकले एकैपटक दुई भाव व्यक्त गर्न खोजेको भान हुन्छ- उति वेला जापानीहरूको हालत के भएको होला? त्यस्तै बम अमेरिकामा खसेको हुन्थ्यो भने के हुन्थ्यो!
फिल्ममेकिङका हिसाबले यो चलचित्रको सबैभन्दा सशक्त दृश्य हो। निर्देशकले स्पेशल इफेक्ट्स र अभिनयबाट यस्तो मनोभाव दृश्यमा उतारेका छन् जसलाई शब्दमा भन्न पनि कठिन हुन्छ।
निर्देशकीय पक्ष यो चलचित्रको आत्मा नै हो। जस्तो, ट्रिनिटी (परीक्षणमा प्रयोग भएको परमाणु बमलाई ओपनहाइमरले ट्रिनिटी नाम दिएका थिए)को परीक्षणको दृश्य। यस दृश्यमा बम विस्फोट भएपछि एकैछिन सन्नाटा छाउँछ। निकै चम्किलो प्रकाश देखिन्छ। यही बिन्दुमा ओपनहाइमर शून्यवादमा पुग्छन्। एकाएक ‘म मृत्यु बन्दै छु, संसारको विनाशक’ भन्ने कल्पिन थाल्छन्।
एकछिनको सन्नाटापछि एक्कासि आउँछ विस्फोटको ध्वनि। विध्वंसको ध्वनि। मानव इतिहासको मार्ग परिवर्तन गर्ने ध्वनि।
विज्ञानले पनि भन्छ- ध्वनिभन्दा प्रकाशको गति छिटो हुन्छ। नोलनले चलचित्रमा गरेको प्रयोग पनि विज्ञानसम्मत छ। तर, यो प्रयोगलाई विज्ञानको नजरभन्दा पनि नोलनको निर्देशकीय क्षमताको पक्षबाट हेर्नु उपयुक्त हुन्छ। नोलनले विस्फोट र ध्वनिबीचको रिक्त स्थानलाई जुन मानवीय भाव र पश्चात्तापको तत्त्वले भरे, त्यो पक्षबाट हेर्नु उपयुक्त हुन्छ।
नोलनले उक्त दृश्यलाई काव्यिक शैलीमा खिचेका छन्। मौनताको आवाज बटुलेका छन्।
चलचित्रको कथामा मीठोसँग गाँसिएको अर्को कुरा भ्रातृत्वको धागो पनि हो। ‘तिमी खुशी, म खुशी’, ओपनहाइमर र उनका भाइ फ्र्याङ्कले एकअर्कालाई भन्ने वाक्य हो यो। श्रीमतीसँगको सम्बन्धको आयाम, परिवारप्रतिको दायित्त्वबोध पनि चलचित्रमा सुन्दर ढङ्गले देखाइएको छ।
अस्तित्व रक्षाको सङ्घर्ष
आफ्नो अस्तित्वले मानव इतिहासको बाटो नै फरक ढङ्गले कोरिदिएका ओपनहाइमर आजीवन अस्तित्वको खोजीमा रहन्छन्। चाहे यूरोप गएर प्याट्रिक ब्ल्याकेटसँग पढ्न चाहँदा होस् वा केवल एउटा विद्यार्थीलाई क्वान्टम मेकानिक्स पढाउँदा।
अमेरिकामा क्वान्टम मेकानिक्सलाई कसैले गम्भीर रूपमा लिंदैन भन्ने थाहा हुँदाहुँदै उनी भन्छन्, ‘हो, त्यही कारण म अमेरिका जानुपर्छ।’
अमेरिकामा आफ्नो अस्तित्व जोगाइराख्न उनी कहिल्यै कम्युनिस्ट भएनन् तर सधैं कम्युनिज्ममा विश्वास गरे। उनी कार्ल मार्क्सको ‘पूँजी’ को तीन वटै संस्करण त्यो पनि जर्मन भाषामै पढेको बताउँछन्। स्पेनको गृहयुद्धका क्रममा फासीवाद विरोधी खेमालाई उनी समर्थन गर्छन्। शिक्षकहरू युनियनमा आबद्ध हुन्छन् भने प्राध्यापकको पनि अधिकार छ भन्दै उनी आफ्नो स्थान खोज्छन्।
कम्युनिज्ममा आबद्ध नभए पनि उनले कम्युनिज्मप्रतिको आस्था लुकाउन सकेनन्। कालान्तरमा ओपनहाइमरलाई यही अस्तित्वको संघर्षले नराम्ररी गाँज्यो।
परमाणु बम बनाउने म्यानह्याटन प्रोजेक्टमा आबद्ध भइसकेपछि ओपनहाइमर आफ्नो अस्तित्व रक्षाका लागि वेशभूषा नै बदल्छन्। सैनिक पोशाकमा देखिन्छन्। तर, जब उनलाई उनी सैनिक होइन वैज्ञानिक हुन् भन्ने बताइन्छ, सैनिक पोशाक त्यागेर पुरानै हुलियामा फर्कन्छन्, कोट, ह्याट र स्मोकिङ पाइपको साथमा।
चलचित्रमा यस्ता धेरै दृश्य छन् जहाँ ओपनहाइमरले आफ्नो अस्तित्वका लागि संघर्ष गरेका छन्।
प्राविधिक पक्ष
‘हाम्रो चलचित्रले तपाईंलाई उनले (ओपनहाइमर) गरेका अनुभवमा पुर्याउने प्रयास गर्छ,’ नोलनले भनेका थिए। ओपनहाइमरको अनुभवमा पुर्याउन चलचित्रका प्राविधिक पक्षको ठूलो गुण छ।
चलचित्रको सिनेमाटोग्राफी निकै उम्दा छ। नोलनसँग यसअघि पनि इन्टरस्टेलर, डनकर्क, टेनेट जस्ता चलचित्रमा काम गरिसकेका सिनेमाटोग्राफर होएटे भान होएटेमाले चलचित्रको एक-एक दृश्यमा प्राण भरेका छन्। जस्तो, फ्ल्यासब्याकका दृश्यहरू। चलचित्रमा पटक पटक देखापर्ने फ्ल्यासब्याकमा हरेक पटक नौलो शिल्प देख्न सकिन्छ। ओपनहाइमरको मानसिक अवस्थितिलाई सफलतापूर्वक क्यामेरामा कैद गरिएको छ।
सम्पादन उस्तै सुन्दर छ। कतै पनि दृश्य काटिएको वा जोडिएको जस्तो लाग्दैन। दृश्यको वेग मन्द बगिरहेको हुन्छ। चलचित्रमा प्रयोग भएका दृश्यान्तर पनि कतै बिझाउँदैन।
चलचित्रमा नोलनले सीजीआई (कम्प्युटर जेनेरेटेड इमेजरी)को साटो वास्तविक भिजुअल इफेक्ट्स प्रयोग गरेका छन्। यसले पनि घटनालाई यथार्थपरक र गहन बनाएको छ।
एकपछि अर्को घटनाक्रमलाई संवादले निर्देशित गर्छ। तर, नोलन कतै पनि संवादमाथि निर्भर छैनन्। चाहे अभिनय होस्, चाहे पार्श्वध्वनि होस्, चाहे सिनेमाटोग्राफी होस् वा चाहे भिजुअल इफेक्ट्स होस्, संवादलाई यीमध्ये एउटा न एउटा तत्त्वले सजाएका छन्।
चलचित्रमा त्यति आवश्यकै नभएको चाहिं यौनका दृश्य हुन्। ओपनहाइमरको जीवनकथा भनिरहँदा रोमान्सको पाटोलाई पनि समावेश गर्नु तर्कसङ्गत भए पनि ती नहुँदा पनि चलचित्रको बहाव रोकिंदैनथ्यो।
ओपनहाइमरको जीवनी, विज्ञान सम्बन्धित सन्दर्भ तथा विश्वयुद्धका सन्दर्भहरू पहिल्यै अध्ययन नगर्ने हो भने यो फिल्म बुझ्न हम्मे पर्छ।