पुष्पलाल र बीपीबाट के सिक्ने?
सत्ताका लागि बाह्य शक्तिसँग मोलमोलाइ गर्ने हातहरूले बीपी र पुष्पलाललाई फूल चढाएर के गर्नु, उनीहरूका विचारहरूलाई निमोठेपछि।
बीपी र राष्ट्रियता
साउन ६ गते विश्वेश्वरप्रसाद (बीपी) कोइराला र साउन ७ गते पुष्पलालको स्मृति जयन्ती मनाउने गरिन्छ। यी दुवै नेताले स्थापना र नेतृत्व गरेका दल आज देशका पहिलो, दोस्रो र तेस्रो छन्। सधैं झैं यस पल्ट पनि नेपाली कांग्रेसले बीपी कोइरालाको र कम्युनिस्ट पार्टीका घटकहरूले पुष्पलालको स्मृतिमा देशका विभिन्न भागमा कार्यक्रम गरेका छन्।
नेपालको राष्ट्रियता र लोकतन्त्रका लागि यी दुवै नेताको योगदान महत्त्वपूर्ण छ। बहुदलीय व्यवस्था विना र मौलिक हकको अभावमा आजको युगमा कोही पनि मान्छे साँचो अर्थमा नागरिक बन्न सक्दैन भन्ने मान्यतामा यी दुवै जीवनभर रहे र त्यसको प्राप्तिका लागि संघर्ष गरिरहे।
राष्ट्रियताको मामलामा बीपीका विचार क्रमशः परिमार्जित स्पष्ट र परिपक्व हुँदै आएको पाउँछौं भने पुष्पलाल शुरूदेखि नै यस विषयमा स्पष्ट रहेको पाउँछौं। पुष्पलाललाई देशभित्रको मामिलामा मात्र होइन, पार्टीहरूको आन्तरिक विवादमा समेत भारतीय नेताहरूको हस्तक्षेप र सरसल्लाह मन पर्दैनथ्यो। उनी नेपालको कुनै पनि मामिलामा विदेशीले हात हाल्न खोज्ने प्रवृत्तिलाई स्विकार्दैनथे र त्यसको विरोधमा उभिन्थे।
बीपी कोइरालाले बाँचुन्जेल नेपाली कांग्रेसलाई मात्र केन्द्रमा राखेर सोचे र पछिल्लो कालमा राजासँग मेलमिलापको नीतिलाई जोड दिए। राजासँगको लडाइँमा भारतले गम्भीर धोका दिएर अप्ठ्यारोमा पारेपछि र भारतीय स्वार्थका लागि राजासँग भारतले मोलमोलाइ गर्न थालेपछि कोइराला भारतबाट नेपाल फर्के र मेलमिलापको नीतिमा जोड दिन थाले।
उनको स्वदेश आगमन नेपाली राजनीति र नेपालको लोकतान्त्रिक आन्दोलनका लागि सकारात्मक एवं महत्त्वपूर्ण घटना थियो। दलहरू प्रतिबन्धित रहेको वेला उनले संवैधानिक राजतन्त्र र मेलमिलापको नारा दिनु त्यस बखतको परिस्थिति ध्यानमा राख्दा कार्यनीतिक रूपमा ठीकै पनि देखिन्छ।
पछिल्लो कालखण्डमा राष्ट्रियताबारे निकै जोड दिएर लेखेका र बोलेका छन्। भारतमा बसेर भारतको राजनीतिलाई नजिकबाट नियालिरहेका र भारतले सिक्किम आफूमा विलय गरेको घटनालाई प्रत्यक्ष देखेका कोइराला त्यसपछि भने नराम्ररी झस्केका हुन सक्छन्।
उनले राष्ट्रियता खतरामा छ त्यसैले राजा र प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ भन्ने जोड बाँचुन्जेल दिइरहे। तर, राजा वीरेन्द्रले आफ्नो अलोकतान्त्रिक र निरङ्कुश शक्ति घटाएर लोकतन्त्रलाई ठाउँ दिन चाहेनन्। २०४६ सालमा आन्दोलनले बाध्य बनाएपछि मात्र उनी दलहरू माथिको प्रतिबन्ध हटाउन राजी भए। त्यस वेला बीपी कोइराला दिवङ्गत भएकै एक दशक पुग्न लागिसकेको थियो।
कोइराला दिएको राष्ट्रियता सम्बन्धी नारा र उनका त्यस वेला अभिव्यक्त विचारको महत्त्व आज पनि छ। कोइरालाको साहित्य मात्र होइन उनका राजनीतिक विचारले पनि महत्त्व राख्छन्। नेपालको राजनीतिक इतिहासको एउटा कालखण्ड बुझ्न, नेपालले आफ्नो राष्ट्रियता एवं लोकतन्त्रलाई बचाउन र सुदृढ पार्न के गर्नुपर्छ भनेर चिन्तन गर्नेहरूले बीपी कोइरालालाई अध्ययन गर्न र बुझ्न आवश्यक छ।
आज नेपाली कांग्रेस नेतृत्वले देशको स्वार्थ, स्वाभिमान र अडान त्याग्दै गएको छ। देशभक्तिपूर्ण अडान र स्वाभिमानलाई सत्तास्वार्थका लागि छोड्दै जाने आत्मघाती प्रवृत्ति अन्य राजनीतिक दलमा पनि सल्किन थालेको छ। सत्ताका लागि देश बाहिरका विदेशी शक्तिहरूको सद्भाव र सहयोग वा भूमिका खोज्नु मुलुकलाई पराधीनताको भँड्खालोतर्फ घचेट्नु हो भन्ने नेपाली राजनीतिका खेलाडीले राम्ररी बुझ्नु जरुरी छ। बीपी कोइरालाको जीवन, लोकतन्त्रका लागि उनले गरेको संघर्ष, भारतबाट सशस्त्र संघर्ष चलाउँदाका उनका अनुभव र उनका राजनीतिक विचारबाट गम्भीर शिक्षा लिनैपर्छ।
त्यसका लागि गर्नुपर्ने पहिलो काम भनेको बीपी कोइरालाका कृतिहरू पढ्ने र उनलाई बुझ्ने नै हो। उनलाई बुझेर उनका विचारको सामयिकीकरण गर्ने अर्थात् आजको परिस्थिति र सन्दर्भमा उनका मूल्यमान्यताबारे व्यापक छलफल चलाउने अनि उनका विचारलाई व्यवहारमा कार्यान्वयन गर्दै जानुले नै बीपीप्रतिको सम्मान र श्रद्धाञ्जली हुनेछ।
संवैधानिक राजतन्त्रको त च्याप्टर नै बन्द भइसक्यो। स्वयं राजतन्त्रको पछिल्लो भूमिकाले नै राजतन्त्रको औचित्य समाप्त गरेको र आमजनताले नै गणतन्त्र ल्याएको हुँदा राजतन्त्र इतिहासको विषय बनिसक्यो। तर, राष्ट्रियताको सुदृढीकरण र लोकतन्त्रको सबलीकरणका लागि बीपी कोइरालाका विचारको अध्ययन र कार्यान्वयन आवश्यक छ। बीपी कोइरालाको स्वाभिमान र संघर्ष वर्तमान नेपाली कांग्रेस नेतृत्वले भुल्दै छ।
पुष्पलाल: देशभक्त गणतन्त्रवादी
पुष्पलाल अविचलित स्वाभिमानी र राष्ट्रवादी थिए। नेपालको इतिहास, वस्तुस्थिति र जनमानस उनले राम्रोसँग बुझेका थिए। सबैभन्दा महत्त्वपूर्ण पक्ष उनी प्रष्ट र प्रतिबद्ध गणतन्त्रवादी थिए। राजनीतिक जीवनको शुरूदेखि अन्त्यसम्म उनले गणतन्त्रप्रतिको आफ्नो प्रतिबद्धतालाई कमजोर हुन दिएनन्। लोकतन्त्रप्रति पनि उनको समर्पण गहिरो थियो।
राजाले पटक पटक सरकारमा सहभागी हुन आग्रह गर्दा पनि त्यसलाई निरन्तर लत्याइरहे। भोकै बस्न राजी भए, भिजाएको चना मात्रै खाएर पनि छाक टारे, तर लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता र संघर्षप्रतिको समर्पणमा कुनै कमी आउन दिएनन्। न त विचलित नै भए। बनारस बसेर पनि उनले लोकतन्त्रका लागि लड्नेहरूलाई प्रेरणा दिइरहे। गणतन्त्रको दियालो बालिरहे।
पुष्पलाल गणतान्त्रिक चेतनाका आदिपुरुष हुन्। नेपालको राजनीतिमा गणतान्त्रिक चेतनाको पहिलो राजनीतिक सिद्धान्तकार उनै हुन्। उनको यो चेतनाको अभिव्यक्ति ‘नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र’ (१५ सेप्टेम्बर १९४९) मा नै पाउन सकिन्छ। राजतन्त्र किन आवश्यक छैन भन्ने विषयमा उनले एउटा लामो लेख ‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त्य)’ नै लेखेका छन्।
२०३३ सालमा मुक्ति मोर्चाको तेस्रो अङ्कमा छापिएको यो लेखले नेपालमा राजतन्त्रको उत्पत्ति कसरी हुँदै आयो र कसरी त्यसको विकास भयो भन्ने चर्चा गरेको छ। उनले ऐतिहासिक रूपले राजतन्त्रको समीक्षा गर्दै नेपालमा वंशानुगत राजतन्त्रको विकास लिच्छविकालमा बढी मूर्त रूपमा भएको ठहर गरेका छन्। उनले मल्लकाल र शाहकालको पनि संक्षिप्त चर्चा गर्दै भनेका छन्:
यस निरङ्कुश राजतन्त्रलाई निरपेक्ष रूपले नहेरी सापेक्ष रूपले हर्दा यसको अन्त्य अनिवार्य छ। नेपालमा निरङ्कुश राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन। जति पटक नेपालमा निरङ्कुश राजतन्त्र गठन गर्न सफल भए उति नै पटक त्यसको पतन पनि भएको छ। यसको कारण के हो?
कारण स्पष्ट छ- निरङ्कुश राजतन्त्रमा राजा र उनको आसपासको सानो मण्डलीको हातमा राज्यशक्ति पर्दछ र त्यस शक्तिको उपयोग शान्ति सुव्यवस्थाको नाममा धन कमाउनमा हुन्छ। अनि क्रमिक रूपले यो निरङ्कुशतन्त्र आमजनताबाट त परै जाओस् आफ्नै वर्गबाट पनि अलग्गिन्छ। त्यसपछि सामन्त वर्गले पनि यस्तो निरङ्कुशतन्त्रप्रति अङ्कुश लगाउने उपायहरू सोच्न थाल्दछ र यसका निम्ति राजनीतिक संघर्ष गर्न थाल्दछ। आज यो कुरा प्रत्यक्ष रूपबाट नेपालमा पनि घट्दै छ।
उक्त आलेखको अन्तमा पुष्पलालले लेखेका छन्:
अवश्य अब नेपालमा हुने क्रान्ति एक राजतन्त्रलाई हटाई अर्को राजतन्त्र कायम गर्ने वा वैधानिक राजतन्त्र कायम गर्ने क्रान्ति नभई ‘धनी वा जग्गावालाहरूकै लागि खतरनाक हुने’ क्रान्ति हुनेछ र हुन पनि यही पर्दछ। यस्तो क्रान्तिको मूल उद्देश्य नै सामन्ती र विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँकी जनताको गणतन्त्रीय व्यवस्था कायम गरी समाजवादमा लम्कने हुनुपर्दछ।
(पुष्पलाल: छानिएका रचना, भाग १ बाट।)
पुष्पलालको यो लेख गणतान्त्रिक दृष्टिकोणबाट राजतन्त्रको विगत, वर्तमान र भविष्यको चर्चा गरिएको महत्त्वपूर्ण वैचारिक लेख हो। नेपाली समाज, नेपालको इतिहास, नेपालमा मातृसंस्था र नेपालमा राजतन्त्रको उदय, भूमिका र भविष्यबारे गहन अध्ययन, विश्लेषण, संश्लेषण, ज्ञान र भविष्यवाणी पुष्पलालका रचनाहरूमा पाइन्छन्।
राजतन्त्रको आलोचक रहेका र गणतन्त्रको सैद्धान्तिक रूपरेखा कोरेका पुष्पलाल राष्ट्रियताको विषयमा अत्यन्त प्रतिबद्ध थिए। सात सालको राजनीतिक परिवर्तनमा भारतले खेलेको भूमिका र हस्तक्षेपको उनी शुरूदेखि नै विरोधी थिए। भारतले नेपालप्रति लिएको हस्तक्षेपकारी र हैकमवादी नीतिको विरुद्धमा उनले निरन्तर आफ्नो कलम चलाए र राजनीतिक अभियान जारी राखे। नेपालको कम्युनिस्ट आन्दोलनमा प्रखर देशभक्ति र राष्ट्रियताप्रति सजगताको बीउ रोप्ने वैचारिक नेता पुष्पलाल नै थिए।
२०३९ सालमा नेपालपत्रको अङ्क ८ मा छापिएको पुष्पलालको ‘भारत र नेपाल’ लेख पढ्ने हो भने भारतीय हेपाहा व्यवहारप्रतिको विरोध र नेपालको राष्ट्रियता एवं स्वतन्त्रताप्रतिको पुष्पलालको समर्पण बुझ्न सकिन्छ। पुष्पलालले भारत सरकार, भारतीय बुद्धिजीवी, भारतीय सञ्चारमाध्यम र भारतका अधिकांश राजनीतिक दलका नेतामा नेपालप्रतिको दृष्टिकोण हेपाहा रहेको तथ्य औंल्याउँदै त्यसको आलोचना गरेका छन्।
पुष्पलालको यो लेख कलकत्ताबाट प्रकाशित हुने अंग्रेजी भाषाको फ्रन्टियर पत्रिकाको ६ फेब्रुअरी १९७० को अङ्कमा पहिले छापिएको थियो। यो लेखमा पुष्पलालले भारत सरकारले मात्र हैन भारतका वामपन्थी र प्रगतिशील पार्टीहरूले पनि नेपालको भावना बुझ्न नसकेको औंल्याउँदै लेखेका छन्, “ ... दुर्भाग्यवश भारतका जनवादी तथा प्रगतिशील दलहरूले आफ्ना छिमेकी देशहरू त्यसमा पनि खासगरी नेपालको समस्या बुझ्ने चासो लिएको पाइँदैन। ... ठूलो दाजुको अहङ्कारले भारत र नेपालबीचको मित्रतालाई नोक्सान पुर्याएको छ। आज भारतीय नेताहरूले नेपालप्रति भिन्नै विचार राख्नुपर्ने आवश्यकता परिसकेको छ।”
नेपालप्रतिको भारतीय हेपाहा दृष्टिकोण, अहङ्कारी व्यवहार र आफ्नै एकपक्षीय स्वार्थ मात्र हेर्ने प्रवृत्तिलाई यस लेखमा पुष्पलालले बड़ो तकपूर्ण ढङ्गले खण्डन र आलोचना गरेका छन्।
बीपी कोइराला बाँचुन्जेल संवैधानिक राजतन्त्रको पक्षमा रहे भने पुष्पलाल जीवनको अन्त्यसम्मै प्रखर गणतन्त्रवादी रहे। पुष्पलालले भविष्यवाणी गरेका थिए, “क्रान्तिको मूल उद्देश्य नै सामन्ती र विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँकी जनताको गणतन्त्रीय व्यवस्था कायम गरी समाजवादमा लम्कने हुनुपर्दछ।”
उनले भविष्यवाणी गरेको गणतन्त्र त जनताले रगत बगाएर संघर्ष गरी ल्याए। तर, ‘विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँक्ने’ र समाजवादतर्फ अघि बढ्ने काम चाहिं अझै गर्न बाँकी छ।
पुष्पलालले बनारसमा बस्दा बीपी कोइरालालाई पटक पटक भेटेर संयुक्त मोर्चा बनाउन र त्यसको नेतृत्व लिन आग्रह गरेका थिए। दुवैबीच सौहार्दपूर्ण र मित्रवत् सम्बन्ध रहे पनि पुष्पलालको आग्रहलाई बीपी कोइरालाले व्यावहारिक रूप दिन चाहेनन्। तर, बहुदलीय व्यवस्था, संसद् र लोकतान्त्रिक प्रणालीप्रति पुष्पलालको प्रतिबद्धता बीपी कोइरालाको भन्दा कम थिएन।
पुष्पलाल, बीपी र राष्ट्रियता
नेपालको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र लोकतन्त्र पुष्पलाल र बीपी कोइराला दुवैको विचारको केन्द्रबिन्दुमा छ। दुवैले नेपालको राष्ट्रियताप्रति गहन चासो र चिन्ता व्यक्त गर्दै त्यसको सुरक्षा एवम् सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरूको एकतामा जोड दिएका छन्। यो जोड दुवै विचारवान्, दूरदर्शी र देशभक्त नेताले नेपालको इतिहास, यसको भूगोल र भूराजनीति बुझेकै हुनाले दिएका हुन्।
बीपी कोइरालाले चाहेको भए राजासँग सम्झौता गरेर फेरि प्रधानमन्त्री हुन सक्थे, तर उनले सम्झौता गरेर पञ्चायत स्विकार्न चाहेनन्। भारतमा बस्नका लागि भारत सरकारका शर्त स्विकार्न चाहेनन्, बरु देशभित्रै आएर संघर्ष गर्ने र बाह्य दबाबमा नपर्ने-नबस्ने नीति लिए।
पञ्चायत स्विकारेको भए पुष्पलाल पनि राजाको प्रधानमन्त्री सजिलै बन्न सक्थे, तर उनले भोकै बस्न स्वीकार गरे, राजासामु आत्मसमर्पण गरेनन्। नेपालप्रति भारत सरकारले लिएको प्रभुत्ववादी नीति र भारतका राजनीतिक दलहरूको गलत दृष्टिकोणको आलोचना गरेर भारतमै निर्वासनमा बसे, तर भारतीयबाट कुनै प्रकारको सहयोग लिन चाहेनन्। अन्त्यमा राम्ररी उपचार नपाएर भारतमै दिवंगत भए।
यी दुवै नेताबाट नेपालका सबै राजनीतिक दलका नेता-कार्यकर्ताले सिक्ने भनेको स्वाभिमान, देशभक्ति र आफ्नो सिद्धान्त-नीतिप्रतिको प्रतिबद्धता हो। भूगोलको तीतो यथार्थ र त्यसले निम्त्याउने भूराजनीतिक जटिलतालाई हल गर्न चाहिने तत्त्व भनेकै स्वाभिमान, आँट र अठोट हो।
देशको भूगोलको सिमाना र राष्ट्रियताको संरक्षण सत्तामा टिक्न र कुर्सी जोगाउन बाह्य शक्तिसँग झुक्ने नीतिबाट हुन सक्दैन। सत्ताका लागि बाह्य शक्तिसँग मोलमोलाइ गर्ने हातहरूले बीपी र पुष्पलाललाई फूल चढाएर के गर्नु, उनीहरूका विचारहरूलाई निमोठेपछि।
देश, देशको स्वाभिमान र सार्वभौमसत्ता सर्वोपरि रहनुपर्छ। सत्तामा आउने-जाउने प्रक्रिया लोकतन्त्रमा चलिरहन्छ। तर, देशको स्वार्थ र निर्णय क्षमतालाई नकारात्मक प्रभाव पार्ने गरी विदेशी रिझाउने, सत्ता टिकाउन देशका प्राकृतिक स्रोतसाधन भटाभट सुम्पँदै जाने र देशका आन्तरिक निर्णयमा हस्तक्षेप निम्त्याउने प्रवृत्ति देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन।
नेपालको लोकतन्त्र नेपालीले चलाउने हो। कमीकमजोरी छन् भने नेपाली आफैंले सुधार्ने हो। को प्रधानमन्त्री हुन्छ नेपालीले निर्णय गर्ने हो। नेपालका सत्तारूढ दलका शीर्ष नेताहरूमा देखापर्न थालेको आत्मसमर्पणवादी नीति र प्रवृत्ति विरुद्ध जनता सजग हुनुपर्ने अवस्था आएको छ।
यो अवस्थामा पुष्पलाल र बीपी कोइरालालाई फूल चढाएर, उनीहरूका शालिकमा माला लगाइदिएर वा उनीहरूका प्रशंसामा भाषण गरेर दिएको श्रद्धाञ्जली अधुरो र अर्थहीन हुन पुग्छ, यदि हामी दुवै नेताका शब्द तथा मर्मलाई पछ्याउन सक्दैनौं भने। त्यसैले दुवै नेतालाई सही अर्थमा सम्झने र श्रद्धाञ्जली अर्पण गर्ने हो भने देशको स्वाभिमान, राष्ट्रियता र निर्णय प्रक्रियामा देखापर्न थालेका विकृति विरुद्ध लडौं। लोकतन्त्रलाई शुद्ध र सुदृढ बनाऔं र नेपालको स्वाभिमान एवं स्वार्थलाई बोकौं। जुनसुकै देशको होस् बाह्य दबाबलाई अस्वीकार गरौं। तब मात्र दुवै नेतालाई सम्झनुको सार्थकता झल्किन्छ।