एक 'आन्दोलनकारी'लाई सिंहदरबारको परीक्षा
२०३६ सालको विद्यार्थी आन्दोलनबाट उदाएका नेता हुन्, योगेश भट्टराई ।
२१ भदौ २०२३ मा ताप्लेजुङको साँघुमा जन्मिएका भट्टराईले पञ्चायती शासनविरुद्ध घोषणा गरिएको विद्यार्थी आन्दोलनमा सहभागिता जनाए । १४ चैत २०३७ को आमहड्तालमा सक्रिय सहभागी भएपछि भट्टराई सधैं आन्दोलनकारीका रुपमा रहिरहे ।
२०४० मा एलसएलसी उत्तीर्ण भएपछि भट्टराई काठमाडौंको महेन्द्ररत्न क्याम्पसमा भर्ना भई त्यहींबाट नेतृत्वको थालनी गरे । भट्टराई २०४३ मा महेन्द्ररत्न क्याम्पसका सभापति बने । विषाक्त दूधविरुद्ध भएको आन्दोलनमा उत्रँदा १८ वर्षकै उमेरमा केन्द्रीय कारागार डिल्लीबजारमा थुनिएका थिए ।
स्ववियु सभापतिपछि अनेरास्ववियुको काठमाडौं सदस्य, बागमती अञ्चल कमिटी सचिव, अनेरास्ववियु केन्द्रीय सदस्य, कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव, महासचिव हुँदै २०५१ देखि २०५६ सम्म अध्यक्ष रहे । धेरैले भट्टराई अध्यक्ष हुँदा अखिलले ७३ प्रतिशत स्ववियु जितेको सम्झन्छन् ।
विद्यार्थी राजनीतिपछि काठमाडौं जिल्ला सदस्य, बागमती अञ्चल कमिटी सचिवको जिम्मेवारीमा रहे । २०६२/०६३ को दोस्रो जनआन्दोलनका बेला उपत्यकामा संयोजनकारी भूमिका निर्वाह गरे ।
तत्कालीन एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भट्टराई नवौंबाट पार्टी सचिवमा नै निर्वाचित भए । केन्द्रीय कमिटीमा प्रवेश गरेको पाँच वर्षभित्रै पदाधिकारी हुनुमा भट्टराई नयाँ र पुराना पुस्ताबीच रुचाइनु नै प्रमुख आधार हुन् ।
४० वर्षे राजनीतिक यात्राका क्रममा भट्टराई पार्टी संगठनमा बलियो र आन्दोलनको मोर्चामा सधैं अग्रभागमा देखिए । उनलाई भावी नेतृत्वका रुपमा समेत हेरिने गरिन्छ । तर, संसदीय राजनीतिमा भने भट्टराई सफल देखिएका थिएनन् । २०६४ र ०७० मा काठमाडौं–६ बाट पराजित भट्टराईले अहिलेसम्म सुविधाको पद लिएका थिएनन् ।
तर, २०७४ को निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि भने भट्टराईलाई सिंहदरबारको बाटो खुलेको छ ।
कुनै बेला आफ्नै महासचिव रहेका रवीन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व गर्ने अवसर योगेश भट्टराईले पाएका छन् ।
योगेश भट्टराईकाे प्रमुख चुनौती हो– सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने ।
के सम्भावनाशील युवा नेताको परिचय बनाएका भट्टराई सिंहदरबारको परीक्षामा खरो उत्रेलान् ?